सेमिनार सुरु गर्दै डेनमार्कका लागि नेपाली राजदूत मुक्तिनाथ भट्टले देशको सामाजिक, आर्थिक तथा वर्तमान राजनीतिक अवस्थामाथि प्रकाश पारे। उनले नेपालको विकासमा पर्यटनको मुख्य भूमिका रहेकोले डेनिस पर्यटन व्यवसायीले नेपाली समकक्षीसँग मिलेर काम गर्दा दुवै देशले फाइदा लिन सक्ने बताए।
सेमिनारमा बोर्ड सिइओ सुभाष निरौलाले पर्यटक किन नेपाल जाने? लगायत नेपालका पर्यटन क्षेत्र, पर्यटकले पाउने सुविधाका साथै हिमाल, तराई, पहाड, जंगल, ट्रेकिंग रुट, होमस्टे, धार्मिकस्थल, योग ध्यान तथा होटल र तिनका सुविधालगायतबारे स्लाइडमार्फत जानकारी गराएका थिए।
‘नेचर', ‘कल्चर' र ‘एडभेन्चर' नेपालको विशेÈता रहेको उल्लेख गर्दै उनले यस वर्ष विश्वको सर्वोच्च शिखर सगरमाथा हीरक जयन्ती मनाइरहेकोले २०१४ को नेपाल भ्रमण सबैको लागि विशेष हुने जानकारी गराए।
पर्यटन सचिव सुशील घिमिरेले नेपाल सेल्स मिसन २०१४ सफल पार्न नेपाली तथा डेनिस पर्यटन व्यवसायीलाई अनुरोध गरे। सेमिनारमा बेलायती पत्रिका डेलिमेल र वर्ल्ड एक्सपिडिसन्सले संयुक्त रुपमा सार्वजनिक गरेको विश्वको उत्कृष्ट ६ ट्रेकिङ रुट सूचीको पहिलो नम्बरमा सगरमाथा बेस क्याम्प र कालापत्थर परेको जानकारी दिइयो।
कार्यक्तममा डेनमार्कमा अध्ययनरत रञ्जन ओझाले डेनमार्क र नेपालबीचको सांगीतिक सम्बन्धबारे प्रकाश पार्दै हरेक वर्È अगस्टमा कोपनहेगनमा र सेप्टेम्बरमा काठमाडौंमा हुने कोपनहेगन टु काठमाडौं म्युजिक फेस्टिभलबारे जानकारी गराउँदै यो पर्यटकीय हिसाबले महत्वपूर्ण हुने बताए।
सेमिनारमा धेरै डेनिस पर्यटन व्यवसायी आएर सोधखोज तथा भेटको लागि समय मिलाएको र आफूहरुले दिने विभिन्न टुर प्याकेजबारे जानकारी लिएको नेपाली पर्यटन व्यवसायीले बताए।
नेपाल सेल्स मिसनको थप सेमिनार नर्वेको ओस्लो र स्विडेनको स्टकहोममा हुने बोर्डले जनाएको छ।
प्रकाशित: १ चैत्र २०७० २०:२२ शनिबार





