लन्डन– नेपाल पत्रकार महासंघ, बेलायत शाखाको आइतबार सम्पन्न दोस्रो अधिवेशनले चिरन शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
लन्डनस्थित भेन्यू फाइभ सभाहलमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा नरेश खपाङ्गीमगर, उपाध्यक्ष धर्मराज अधिकारी, महासचिव श्याम लुईंटेल, सचिव लीलामान शेरपुञ्जा र कोषाध्यक्षमा देवी गौतमलाई चयन गरेको हो। सदस्यमा राजकुमार थापा क्षितिज, नृपेश उप्रेती, ध्रुव अर्याल, शिव तिवारी, छत्र वनेम, किरण टी. लिम्बू र शिव भण्डारी चुनिए।
अधिवेशनको घोषणासभालाई बेलायतका लागि नेपाली कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष शेष घले, बीबीसी नेपाली सेवाका पत्रकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि भगिरथ योगी, एनआरएन युकेका अध्यक्ष योगेनबहादुर क्षेत्री, जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, प्रवासी नेपाली मञ्चका रामशरण सिंखडा, प्रगतिशील नेपाली समाज बेलायतका अध्यक्ष सुरेश गौतम, संघीय समाजवादी पार्टी बेलायतका उपाध्यक्ष चित्रबहादुर गुरुङ, जनजाति महासंघ बेलायतका अध्यक्ष श्रीप्रसाद लिम्बु इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स एसोसिएसनका अध्यक्ष अर्जुनप्रसाद मैनाली, सेफ एसोसिएसन यूकेका अध्यक्ष कृष्ण तिमल्सेनालगायत बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिले शुभकामना दिए।
यसअघि अधिवेशनको बन्दसत्रले महासचिव नरेश खपाङ्गीमगरको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष लीलामान शेरपुञ्जाको आर्थिक प्रतिवेदन र विधान संशोधन सर्वसम्मतले पारित गरेको थियो।
प्रकाशित: २६ फाल्गुन २०७० ०४:३१ सोमबार





