शनिबार बिहानदेखि बेपत्ता विमान खोज्न ४० जहाज र २२ विमान परिचालन गरिए पनि आइतबार बेलुकीसम्म फेला परेको छैन। मलेसियाको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले दक्षिण चीन समुद्रमा बेपत्ता विमानको खोजी कार्य आइतबार पनि जारी रहेको जनाएका छन्। सशस्त्र बल प्रमुख जनरल जुल्किफेली मोहम्मद जिनले विमान बेपत्ता भएको सामुद्रिक क्षेत्रमा खोजी भइरहेको आइतबार जानकारी दिए। उनले मलेसियासहित चीन, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया र अमेरिकाका युद्धपोत विमान खोजीमा खटिइरहेको जनाए।
मलेसियाको सैनिक राडारमा भने विमान बेपत्ता हुनुअघि मलेसियातर्फ मोडिने प्रयास गरेको देखिएको सेनाले जनाएको छ। मलेसियाका वायुसेना प्रमुख जनरल रोडजाली दाउदले राडारमा विमान आफ्नो मार्ग छाडेर मलेसियातर्फ फर्केको हुनसक्ने बताए। मलेसिया वायुसेवाका प्रमुख कार्यकारी अधिकृत अहमद जौहरी याहयाले विमान फर्केको भए उसले संकेत दिन आवश्यक भएको तर त्यस्तो कुनै संकेत नपाइएको जनाए।
मलेसियाको राष्ट्रिय ध्वजावाहक विमानसेवाको बोइङ ७७७–२०० विमान शनिबार बिहान क्वालालम्पुरबाट बेइजिङ उडानका क्रममा बेपत्ता भएको थियो। विमानमा चालक दलका १२ सदस्यसहित कुल २ सय ३९ जना थिए। क्वालालम्पुर विमानस्थलबाट उडेको एक घन्टापछि नै विमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो।
बेपत्ता विमान खोज्नका लागि अमेरिकाले पठाएको विशेष जहाज भियतनामको दक्षिणी तटतर्फ गएको छ।
अधिकारीहरुले विमान दुर्घटना वा बेपत्ता हुनुको कारण पत्ता लगाउन सकेका छैनन्। विमानका दुई यात्रुले चोरीको राहदानी लिएर यात्रा गरेको खुलेपछि इन्टरपोलले अनुसन्धान थालेको छ।
मलेसियाली अधिकारीले देशको पश्चिमी तटीय क्षेत्रमा विमानको अवशेष खोजिरहेका छन्। यसअघि दक्षिण चीन समुद्रमा खोजी केन्द्रित गरेका थिए। खोजीमा अस्ट्रेलियाका दुई विमानले पनि सघाउने भएका छन्।
सन् २००९ मा एयर फ्रान्सको एउटा विमान आन्ध्र महासागरमाथि उडिरहेका बेला बेपत्ता भएको थियो। उक्त विमान दुर्घटनाको कारण थाहा पाउन तीन वर्ष लागेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
प्रकाशित: २५ फाल्गुन २०७० २१:३१ आइतबार





