७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

राहुल गान्धीलाई ‘किस’ गर्ने महिलाको हत्या

गुहावटी– राहुल गान्धीको आसाम भ्रमणका क्रममा जोरहटमा उनको गालामा किस गर्ने महिलालाई उनको पतिले जिउँदै जलाएका छन्। स्वयंलाई समेत आगो लगाएका पति भने गम्भीर घाइते छन्। उनलाई अस्पताल भर्ना गरिएको छ।
बुधबार जोरहटका आदिवासीमाझ पुगेका राहुल गान्धीलाई एक महिलाले किस गरेकी थिइन्। यही कारण ती महिलाको घरमा कचिंगल सुरु भएको थियो। ती महिला र उनका श्रीमानबीच विवाद बढ्दै जाँदा श्रीमानले सुरुमा कुटेको र पछि आगो लगाइदिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। घटनापछि दुवैलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमै ती महिलाको मृत्यु भएको थियो। उनका श्रीमान गम्भीर छन्।
आसाम प्रहरीका अनुसार ती महिला र उनका पतिबीच मनमुटाव पहिल्यैदेखि थियो। ती महिला शुक्रबार राति अबेर घर पुगेपछि श्रीमानसँग उनको झगडा सुरु भएको थियो। जोरहट आदिवासी बाहुल्य क्षेत्र हो, जहाँ रुढीवादी मानसिकता व्याप्त छ। यसैले यो हत्यालाई राहुल गान्धीलाई किस गरेको प्रसंगसँग जोडेर हेरिएको छ।
आसाममा महिला कार्यकर्ताले घेरिएका गान्धी महिलाले चुम्बन गरेपछि तत्कालै उठेका थिए। गान्धी पार्टी संगठन, चुनाव, महिला सशक्तीकरण जस्ता विषयमा चर्चा गर्न त्यहाँ पुगेका थिए। उनी सम्हालिन नपाउँदै अरु महिला कार्यकर्ताले पनि उनलाई चुम्बन गरेका थिए। उनीसँग मुस्कुराइरहनुको विकल्प थिएन, उनले सभालाई हतार हतार टुंग्याएका थिए।
प्रहरीले गान्धीलाई किस गर्ने महिला नभएर उनको र्‍यालीमा सहभागी महिलाको हत्या भएका दाबी गरेको छ। ‘यसबारे छानबिन भइरहेको छ,' प्रहरी निरीक्षक अमनजित कौरले भने, ‘हत्या आरोपमा मुद्दा दर्ता भएको छ।' उनका अनुसार पीडित बोन्टी छुटियाको जलेर मृत्यु भएको छ। उनका पति पनि ३५ प्रतिशत जलेका छन्।

प्रकाशित: १७ फाल्गुन २०७० ०६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App