७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

चौपाया चोर्न आएको आशंकामा जिउँदै जलाइए चारजना

कोलकाता– बंगलादेश सीमावर्ती क्षेत्रमा स्थानीयले चार जनालाई हातखुट्टा बाँधेरै जिउँदै जलाएका छन्। पश्चिम बंगालको जलपाइगुडीका प्रहरी अधिकारी कुणाल अग्रवाललाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार यसरी जलाइएका चारै जनाको शव प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ।
‘यो घटनामा अहिलेसम्म कोही पक्राउ परेका छैनन्। हामीले अनुसन्धान गरिरहेका छौं,' अग्रवालले भने। 
प्रहरीका अनुसार यो घटना आइतबार सबेरैको हो। यसअघि जलपाइगुडीसँग जोडिएको क्षेत्रको सबैभन्दा ठूलो सहर सिलिगुडीको प्रहरी आयुक्त जगमोहनले यो घटना पशु तस्करीसँग सम्बन्धित हुन सक्ने आशंका व्यक्त गरेका थिए। ‘पशु तस्करीसँग सम्बन्धित दुई समूहको भिडन्तले यो घटना भएको हुन सक्छ,' उनले भने, ‘तर पूरै अनुसन्धान नसकिई वास्तविकता थाहा हुन्न।'
यी चार जना गाउँमा पशु चोर्न आएको स्थानीयको आशंका छ। सीमावर्ती क्षेत्रमा पशु तस्करी प्रमुख समस्या हो। ठूलो संख्या चौपाया चोरेर सीमापारित पुर्‍याउने गरेको घटना बेलाबेला सार्वजनिक हुने गरेको छ। पशु चोरीका घटना बढ्दो रहेको बलरामपुर गाउँमा आइतबारको घटना भएको हो। चोरी रोक्न गाउँलेले स्थानीय प्रशासनको पटकपटक ध्यानाकर्षण गराउँदै आएका थिए।
स्थानीय एक प्रहरीका अनुसार गाउँलेले ती चार जनालाई शंकास्पद अवस्थामा गाउँ घुमिरहेको देखेका थिए। उनीहरु पशु तस्करीमा संलग्न गिरोह भएको र पशु चोर्न आएको आशंका गर्दै गाउँलेले नियन्त्रणमा लिएका थिए। त्यसपछि गाउँलेले उनीहरुलाई कुटपिट गर्नुका साथै हातखुट्टा बाँधेर आगो लगाइदिएका थिए। घटनाको जानकारी पाएपछि प्रहरीको एउटा टोली बिहानमात्र घटनास्थल पुगेको थियो।
चारै जनाको शव पूर्णरुपमा जलेकाले सनाखतसमेत हुन नसकेको प्रहरीले जनाएको छ। यो घटनापछि समातिने डरले गाउँका अधिकांश मानिस भागेका छन्।

प्रकाशित: १९ माघ २०७० ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App