इस्लाम्बाद- देशद्रोहीको आरोप लागेका पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको आजको सुनुवाइ अदालतले स्थगित गरेको छ। मुशर्रफ अदालत आउँदै गर्दा बाटोमा बम भेटिएपछि अदालतले सुनुवाइ स्थगित गरेको हो। देशद्रोहीको अभियोग लागेको उनको पेसी आजदेखि सुरु हुँदैथियो। यसअघि सैनिक अदालतमा मात्र यो मुद्दा चलाउनुपर्ने उनको मागलाई अदालतले अस्विकार गरेको थियो।सन् २००७ मा संविधान सभाको विघटन गर्दै संकटकाल लगाएको भन्दै उनीविरुद्ध देशद्रोहीको आरोप लागेको थियो। धेरै मुद्दामा जमानत पाइसकेका मुशर्रफले भने आफूविरुद्ध राजनीतिक षड्यन्त्र गरेको आरोप लगाएका छन्। 'मविरुद्धको आरोप सबै राजनीतिक षड्यन्त्रमात्र हो,' ७० वर्षीय मुशर्रफले भने।
उनीविरुद्ध हत्या र न्यायालय प्रतिबन्ध गरेको अभियोगसमेत लागेको छ। पाकिस्तानमा पहिलोपटक पूर्व सैन्यशासकविरुद्ध देशद्रोहीको मुद्दा चलाउन थालिएको हो।
मुशर्रफले सेनाको मद्दतले १९९९ मा सत्ता कब्जा गरेका थिए। उनी २००८ मा राष्ट्रपतिसमेत भए। पछि लोकतान्त्रिक सरकार बनेपछि उनी राष्ट्रपतिको पदबाट राजीनामा दिन बाध्य भए। केही समयपछि नै उनी देश छाडेर दुबई र लन्डनमा सरण लिए।
प्रकाशित: ९ पुस २०७० ०२:४१ मंगलबार