दुर्घटनाको विरोधमा हजारौं मजदुरसहित सर्वसाधारणले राजधानी ढाकाका सडकमा आइतबार विरोध प्रदर्शन गरे। प्रदर्शनकारीले गार्मेन्ट कारखाना मालिक र सञ्चालकसहित भवन निर्माणमा संलग्न इन्जिनियरमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन्। प्रदर्शनकारीले दुर्घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति दिन समेत माग गरेका छन्।
उद्धारकर्मीले आइतबारसम्म भवनको भग्नावशेषमा पुरिएका २२०० को जीवितै उद्धार गरेका छन्। उक्त घटनाको विरोधमा ढाकामा आइतबार १० हजारभन्दा बढीले विरोध प्रदर्शनसमेत गरेका छन्। आइतबारसमेत उद्धारकार्य जारी छ। उद्धारकर्मीले दिनहुँ केही घाइतेको जीवितै उद्धार गरिरहेको जनाएका छन्। शनिबार राति नै पनि चार जनालाई भवनको भग्नावशेषबाट जीवितै उद्धार गरिएको सरकारी अधिकारीले जनाएका छन्। तर शनिबार बताएजस्तो च्यापिएर रहेकामध्ये करिब ५० जना जीवित भने नरहेको समेत उद्धारकर्मीले जनाएका छन्।
भवन भत्किँदा मृत्यु हुनेको संख्या शनिबार नै ३२४ पुगेको थियो। उद्धारकर्मीले मृतक संख्या बढेर आइतबार ३७७ पुगेको जनाएका हुन्। सानाठूला गरि पाँच तयारी पोशाक कारखाना रहेको आठतले उक्त भवन बुधबार बिहान भत्किएको थियो। त्यसमा घाइते भएकाको संख्या एक हजार नाघेको छ। भवनमा पुरिएकाको उद्धारका लागि सयौं सुरक्षाकर्मी खटिएका छन्। साथै बंगलादेशका अग्निनियन्त्रक र ती कारखानामा काम गर्ने मजदुर समेत उद्धारकार्यमा खटिइरहेका छन्।
उद्धारकर्मीहरु पुरिएकाको सुरक्षित रुपमा जीवितै उद्धार गर्न सकिने आशामा काम गरिरहेका छन्। तर आइतबार बिहानसम्म दुर्घटना भएको ९० घन्टाभन्दा बढी समय भएकाले अब पुरिएका व्यक्ति जीवितै फेला पर्ने आशा क्षिण भएको छ। दुर्घटनास्थलबाट पुरिएकालाई जीवितै उद्धार गर्न सकिने अवस्था नरहेकोले आइतबार दिउँसोदेखि भवनको भग्नावशेष हटाउन क्रेनको प्रयोग गर्न थालिएको सरकारी अधिकारीले जनाएका छन्। भवन भत्किएपछि अझै केही मानिस हराइरहेकाले उनीहरुको जीवितै उद्धार गर्न क्रेनको प्रयोग गरिएको थिएन।
प्रकाशित: १५ वैशाख २०७० २२:५७ आइतबार





