२१ आश्विन २०८१ सोमबार
image/svg+xml
प्रवास

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु

सात हजार संक्रमित

कोरोना भाइरस  संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ जना पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ ।      

यस्तै, संयुक्त राज्य अमेरिकामा  ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा नौ, साउदी अरबमा दुई तथा आयरयान्ड, जापान, टर्की, नेदरल्यान्ड्स, बहराइन, स्विडेन र नेपालमा एक–एक जनाको मृत्यु भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ ।      

कोरोना भाइरसका कारणले यो साता १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेमा बेलायत १२, युएई तीन, साउदी अरब दुई र नेपाल एक रहेको एनआरएन स्वास्थ्य समितिले जनाएको छ । यस्तै, एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशसयामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ ।

अस्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ । अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको कोभिड–१९, उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपाली कोभिड–१९ बाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार दुई  सय २१, बहराइनमा तीन सय ११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा दुई सय ८१, साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्यान्डमा २२, स्पेन र क्यानडामा १३–१३, अस्ट्रेलियामा १२, जापान र माल्दिभ्समा १०–१०, बेल्जियममा ६, स्विट्जरल्यान्डमा पाँच, जर्मनी र फिनल्यान्डमा चार, साइप्रस र न्युजिल्यान्डमा तीन तीन, माल्टा, हङकङ र पोल्यान्डमा दुई–दुई तथा म्यान्मार र फ्रान्समा एकएक गैरआवासीय नेपालीमा कोरोना संक्रमण भएको छ ।      

राहत वितरण      

एनआरएनले कोभिड–१९ बाट प्रभावित देशमा राहत वितरण भइरहेको जनाएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४९ देशका तीन सय क्षेत्र (सहर) मा एक हजार ६ सयभन्दा बढी स्वयंसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सक परिचालन गरिएको छ । संघका अनुसार शनिबार साँझसम्म ३८ हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्ष र ४० हजारभन्दा बढीले परामर्शसेवा लिएका छन् ।  

प्रकाशित: ४ जेष्ठ २०७७ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App