आठौं बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि होटल समिट धौलागिरि बागलुङले जितेको छ ।
सोमबार यहाँ भएको फाइनलमा गलकोट नगरपालिकालाई ३—१ सेटमा पराजित गर्दै होटल समिटले उपाधि चुमेको हो । बाङ्गेचौर खेलमैदान भएको फाइनलमा समिटले पहिलो सेट २५—२० र दोस्रो सेट २५—११ आफ्नो पक्षमा पार्यो । तेस्रो सेट १७—२५ ले गलकोटलाई सुम्पिएको समिटले चौथो सेटमा २५—१८ को जित निकाल्दै उपाधिमाथि कब्जा गर्यो ।
उपाधिसँगै समिटले नगद २ लाख १ हजार ५ सय रुपैयाँ प्राप्त गर्यो । उपविजेता गलकोट नगरपालिकाले १ लाख २१ हजार ५ सय रुपैयाँमा चित्त बुझाएको छ ।
सोमबार नै भएको तेस्रो स्थानको खेलमा मेरो डेण्टल होमले पर्वतको कुश्मा नगरपालिकालाई ३–१ को सेटमा पराजित गरेको छ ।
उपाधि विजेता होटल समिटका खेलाडीले विधागतमा पनि वर्चस्व जमाए । होटल समिटका विवश आले उत्कृष्ट सेटर, लव्सन सिन्जाली उकृष्ट ब्लकर, राजन परियार उत्कृष्ट स्पाइकर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए । मेरो डेन्टल होमका कुन्जन शाही उत्कृष्ट लिबेरो, गलकोट नगरपालिकाका सुर्य विक उत्कृष्ट सर्भर र विप्सन शाही उदयमान खेलाडी घोषित भएका छन् । उत्कृष्ट घोषित सबै खेलाडीले ट्रफीसहित समान २ हजार ५ सय रुपैयाँ र ट्रफी प्रदान गरियो ।
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैटोफोर प्रतियोगितालगायत विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती आयोजना गरिएको छ । महोत्सव आजै समापन गर्ने भनिए पनि आयोजकले मंगलबारसम्मका लागि थप गरेका छन् ।
प्रकाशित: २१ पुस २०८२ १८:५२ सोमबार




