कोशी प्रदेशमा कांग्रेस, एमालेलाई उछिन्दै श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ दोस्रो स्थान प्राप्त गरेको छ।
धरान नगरपालिकाका पूर्व प्रमुख हर्कराज साङ्पाङले ४ महिना पहिले स्थापना गरेको श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा पुराना ठूला दलहरू कांग्रेस, एमालेलाई उछिन्दै समानुपातिक तर्फ दोस्रो पार्टी बन्न सफल भएको हो।
कोशी प्रदेशमा सबै भन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ । रास्वपाले ८ लाख ५३ हजार १ सय ८३ मत प्राप्त गरेको छ।
दोस्रो बनेको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसले २ लाख ९० हजार ५ सय ६२, नेकपा एमालेले २ लाख ८८ हजार १ सय ८६ मत पाएको छ। यता अघिल्लो संसदको तेस्रो ठूलो दल माओवादी केन्दस्रहित विभिन्न २२ दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले भने निक्कै कम मत प्राप्त गरेको छ ।
कोशी प्रदेशमा नेकपाले समानुपातिक तर्फ एक लाख मत पनि कटाउन सकेको छैन। नेकपाले ९७ हजार ६ सय ७९ मत प्राप्त गरेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ६२ हजार ८ सय ९९ मत प्राप्त गरेको छ। हालै सम्पन्न निर्वाचनमा तराई क्षेत्रमा रास्वपा र पहाडी क्षेत्रमा श्रम संस्कृतिको लहर चल्दा अन्य पुराना राजनीतिक दलहरू भने निक्कै धेरै खुम्चन पुगेका छन्।
समानुपातिकमा मात्रै हैन प्रत्यक्ष तर्फ पनि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राप्रपा नेपाल कमजोर देखिएका छन्। नेपाली कांग्रेसले कोशी प्रदेशमा २८ वटा निर्वाचन क्षेत्र मध्ये ४ क्षेत्रमा मात्रै जित हाँसिल गरेको छ। नेकपा एमालेले पनि ४ क्षेत्रमा जित निकाल्दा नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशमा कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन।
यस्तै श्रम संस्कृति पार्टीले कोशीका ३ क्षेत्रमा जित निकालेको छ। पहाडी जिल्ला ओखलढुंगासहित तराईका ४ जिल्लाका १७ क्षेत्रमा रास्वपाले जित निकालेको छ। यस्तै, प्रदेशका तराईका तीन जिल्लाका १५ वटा क्षेत्रमध्ये १४ वटा क्षेत्रमा रास्वपाले जित निकालेको छ। यस्तै केही भाग भित्री मधेश र अधिकांश भाग पहाडी क्षेत्र रहेको उदयपुर जिल्लाका दुवै क्षेत्रमा रास्वपाले जित निकालेको छ। यो पटकको निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्षतर्फ जितविहीन बन्दै गर्दा जसपा नेपालगायतका अन्य साना दलहरूले पनि कोशी प्रदेशमा आफ्नो अस्थित्वको रक्षा गर्न सकेनन्।
प्रकाशित: २७ फाल्गुन २०८२ १३:५९ बुधबार





