कोशीको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेवीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको हो ।
कोशी प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारुढ दलका नेताहरूले केही महिना पहिलेदेखि नै आवाज उठाउँदै आएका थिए । विशेष गरी एमालेका नेताहरूले मन्त्रिपरिषद् पुनर्गठन गर्न मुख्यमन्त्री कार्कीलाई दबाब दिंदै आएका थिए । तर, सत्ता साझेदार दल नेपाली कांग्रेस सहमत नहुँदा कोशीमा मन्त्रिपरिषद् पुनर्गठनको प्रयास सफल हुन सकेको थिएन ।
नेपाली कांग्रेससमेत मन्त्रिपरिषद् पुनर्गठनका लागि सहमत भएपछि प्रक्रिया सुरु हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले केहि दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठनका लागि दुबै दलवीच सहमति भइसकेको जानकारी दिए । उनले भने,‘कोशीको मन्त्रिपरिषद् पुनर्गठनका विषयमा दुवैदलबीच सहमति भइसकेको छ । जुनसुकै वेला पनि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ ।’
थापाले कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की र आफू हाल काठमाडौंमा भएकाले फर्किएपछि कोशीको मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए । कांग्रेसबाट को-को मन्त्री बन्दैछन् भन्ने नागरिकको प्रश्नमा थापाले नयाँ बन्ने मन्त्रीहरूको नाम अहिलै टुंगो लागिनसकेको बताए ।
यता नेकपा (एमाले)बाट बिदुर लिङ्थेप, चिन्तन पाठक, निरन राई, इन्द्रमणि पराजुली, उमाकान्त गौतम र रामप्रसाद मेहतामध्ये ४ जना मन्त्री बन्ने चर्चा छ ।
नेपाली कांग्रेसको तर्फबाट मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी र प्रदिप सुनुवारको नाम चर्चामा छ ।
प्रकाशित: २१ पुस २०८२ १८:२६ सोमबार





