coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ब्लग

अनन्तलिंगेश्वर दर्शन

साइक्लिङ

भक्तपुरको दधिकोटमा अवस्थित अनन्तलिंगेश्वर मन्दिर ।

असार १ गतेदेखि लकडाउन खुकुलो पारिँदा काठमाडौंमा चहलपहल बढेको छ । एकातिर चहलपहल बढ्दो छ भने अर्कोतिर संक्रमित संख्या बढ्दै छ । दिनदिनै परिस्थिति जटिल बन्दै छ । बन्दाबन्दीले उकुसमुकुसमा बसेकाहरू पीडा पोख्न यत्रतत्र भौतारिँदै छन् । किसानका कथा भने बेग्लै छन् । मानो रोपेर मुरी फलाउन उनीहरू खेतमा छुपुछुपु धान रोप्दै छन् ।  

साइक्लिङका लागि भक्तपुरको अनन्तलिंगेश्वर मन्दिर क्षेत्र उपयुक्त छ । मन्दिरको सिरानीमा रहेको कैलाशडाँडाबाट काठमाडौं उपत्यकाको भ्यू छर्लङ्ङ देखिन्छ ।  

मानव समुदाय सीमित घेराभित्र बन्द हुँदा हाम्रो वरपर धेरै परिवर्तन भइसक्यो । उपत्यकाका चारैतर्फका डाँडापाखामा हरियाली छाएको छ । त्यसैले सामाजिक दूरी कायम राख्दै प्रकृतिसँग सामीप्य गाँस्न दाइ संघर्ष विष्टका साथमा अनन्तलिंगेश्वर मन्दिरतर्फ लागियो । भक्तपुरको दधिकोटमा बसेका छन् अनन्तलिंगेश्वर महादेव ।  

देबेन्द्र बस्न्यात

सडक संञ्जाल बिस्तार भएसँगै अनन्तलिंगेश्वर जाने रुट धेरै छन् । काठमाडौंको कोटेश्वरबाट ठिमी चोकसम्म झन्डै चार र ठिमीबाट दक्षिणतर्फ गाम्चाबाट दधिकोट हुँदै पाँच किमि दूरीमा अनन्तलिंगेश्वर (१,४३० मिटर) पुगिन्छ । त्यस्तै पाटनको मंगल बजारबाट बालकुमारी, बालकोट, चित्रपूर, दधिकोट हुँदै पनि अनन्तलिंगेश्वर पुग्न सकिन्छ । यो रुटबाट जाँदा झन्डै १० किमि दूरी तय हुन्छ ।  

विसं २०७२ को भूकम्पले क्षति पु¥्याएको अनन्तलिंगेश्वर मन्दिरको पुनः निर्माण भइसकेको छ । प्यागोडा शैलीमा पुनःनिर्मित मन्दिर चित्ताकर्षक छ । कुण्ड, वासुकि नाग, उमामहेश्वर, लक्ष्मी, सरस्वती, गणेश, जलहरी, अन्नपूर्ण, बसाहा, वनदुर्गा, गरुड आदिका मूर्तिले मन्दिर प्रांगण शोभायमान छ ।  

गणेश मन्दिर

बाक्लो जंगलका बीचमा अवस्थित मन्दिरको शान्त वातावरणमा समय बिताउँदा स्वर्गीय आनन्द मिल्छ । अनन्तलिंगेश्वर दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । यस मन्दिर स्थापनाको तिथि यकिन छैन । सातौं शताब्दीमा राजा नरेन्द्रदेवले जीर्णोद्धार गराएको शिलालेख मन्दिर हातामै छ । यसरी हेर्दा मन्दिर प्राचीन भएको प्रमाणित हुन्छ ।  

मन्दिरमा खास गरी साउने सोमबार, जनैपूर्णिमा, बालाचतुर्दशी र शिवरात्रीमा भीड लाग्छ ।  

अनन्तलिंगेश्वरलाई आधार मानेर चारपाँच किमि दूरीका डोलेश्वर, रानीकोट, पाइलटबाबा आश्रम, लाँकुरी भञ्ज्याङ पुग्न सकिन्छ । मन्दिर मास्तिर कैलाशडाँडाबाट काठमाडौं उपत्यकाको सुन्दर दृष्यका साथै उत्तरतर्फको हिमाली शृङ्खलाको मनमोहक दृष्यपान पनि गर्न सकिन्छ । डाँडामा धमाधम भ्यूटावर बन्दै छ । त्यहाँ स्थानीयले अनन्तलिंगेश्वर सामुदायिक होमस्टे सञ्चालनको तयारी गरेका छन् ।   

रोपाइँ

 यात्रा छोटो र सजिलो बनाउन विरुवा, लामाटार, सूर्यविनायक हुँदै फर्कन सकिन्छ ।  

ललितपुर क्षेत्रका साइकलेले पाटनको मंगल बजारलाई आधार मानेर यी सबै रुटबाट साइक्लिङ गरेर एक फन्को मार्दा झन्डै २०–२२ किमि दूरी तय हुन्छ । अलिकति चुनौंती सामना गरेर रानीकोट, भकारीडाँडा र लाँकुरी भञ्ज्याङ पुग्न सकिन्छ । तर्खगालबाट दक्षिणपूर्वी उकालोको चुनौती सामना गरेर झन्डै ८ किमि साइक्लिङ गर्ने हो भने लाँकुरी भञ्ज्याङ पुगिन्छ । लाँकुरीबाट थप धेरै रुट छनौट गर्न सकिन्छ । तर छोटो तथा मध्यम दूरीको साइक्लिङ गर्ने भए यात्रा छोट्टयाएर भञ्ज्याङबाट लामाटार, लुभु हुँदै ग्वार्को फर्कन मिल्छ । लाँकुरी–ग्वार्कुको दूरी झन्डै १५ किमि छ ।  

पाटन दरबार स्क्वायर  

यो क्षेत्र कृषि उत्पादनका हिसाबले उर्वर छ । यहाँबाट फर्कंदा सिजनअनुसारका ताजा तरकारी पनि ल्याउन पाइन्छ । त्यस्तै अनन्तलिंगेश्वर मन्दिरको फेदीमा रहेका पसलमा गुँदपाक र पुष्टकारी कोसेली किन्न सकिन्छ ।  

अनन्तलिंगेश्वर मन्दिर

प्रकाशित: ४ असार २०७७ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App