उदयपुरको लिमचुङबुङ गाउँपालिकाले कर्मचारीलाई साताको दुई दिन जातीय पोशाकमा कार्यालय आउन निर्देशन दिएको छ। गाउँपालिकाले यही ०८२ वैशाखदेखि सो नियम लागू गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत ताराकिरण राईले गाउँ कार्यपालिका बैठक निर्णय अनुसार सातामा दुई दिन आइतबार र सोमबार जातीय भेषभुषामा कार्यालय आई सेवा प्रवाह गर्ने नियम लागू गरिएको जानकारी दिए।
निर्णय अनुसार गाउँपालिकामा कार्यरत कर्मचारी सबैले सातामा दुई दिन जातीय पोशाकमा सेवा प्रवाह गर्ने नियम अनिवार्य गरिएको उनले सुनाए।
सरकारी कर्मचारीलाई यसअघिदेखि नै पोशाक (ड्रेस कोड) अनिवार्य गरिएको थियो।
लिमचुङबुङले भने ४ दिन सरकारी पोशाक लगाएर बाँकी दुई दिन स्थानीय सरकारले तोकेको जातीय भेषभुषाको पोशाक लगाउनुपर्ने नियम बनाएको हो।
यस निर्णयले कर्मचारीहरूलाई पुनर्ताजगी गराउने तथा कार्यालयलाई समावेशी देखाउने उद्देश्य गाउँपालिकाले लिएको छ।
एकै खाले पोशाक लगाइरहनुपर्ने बाध्यताबाट कर्मचारीहरू मुक्त हुने र नयाँ खालको पोशाकले उनीहरुमा नयाँ ऊर्जा र सृजनशीलता ल्याउने अपेक्षा पनि गरिएको गाउँपालिका अध्यक्ष मेजर राईले सुनाए।
‘सधैँभरी एकै खाले पोशाक लगाउँदा कर्मचारीहरूलाई पनि दिक्दारी लाग्न सक्छ, त्यसबाट मुक्त राख्न सकियोस् भनेर जातीय भेषभुषाको संरक्षण, चिनारी र प्रवर्द्धन गर्न र कार्यालयलाई समावेशी देखाउन पनि यस्तो निर्णय गरिएको हो।’ उनले भने।
प्रकाशित: ४ वैशाख २०८२ २०:५५ बिहीबार