१० माघ २०७७ शनिबार
ब्लग

कृषिमा पनि महामारीको सम्भावना

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले सम्पूर्ण विश्व नै आक्रान्ते छ । साथै विश्वको सम्पूर्ण अर्थतन्त्र नै धराशायी भएको छ । हालसम्म यस कोरोना भाइरसको स्थायी समाधान वा औषधि पत्ता लगाउन विश्व असफल भइरहेको छ । पछिल्लो समयमा यो महामारीबाट विश्वका अन्य मुलुकहरूमा जस्तै नेपालमा पनि संक्रमण आक्रान्त रूपमा प्रस्तुत हुँदै गइरहेको छ ।

अन्य देशमा जस्तै हाम्रो देश नेपालमा पनि सरकारले लकडाउन घोषणा गरेको २ महिनाको अवधि पार गरिसक्दा पछिल्लो केही दिन यता यस महामारी दिन दुई गुणा रात चार गुणाको रूपमा फैलिरहेको छ । नेपाल सरकारले लकडाउन शुरू गर्दा पहिलो संक्रमित केसबाट १०० पुग्न १०६ दिन लागेको थियो भने त्यसबाट १० गुणा बढेर १००० पुग्न २० दिन मात्र लाग्यो । 

     केही दिनदेखिको संक्रमण रफ्तार हेर्ने हो भने दैनिक १०० भन्दा बढीको संख्यामा संक्रमित बढेका छन् । यसरी बढ्नुको कारण परीक्षणको संख्या बढ्नु पनि हो । साथै संक्रमण दर उच्च भएको राष्ट्र भारतबाट नेपाल फर्किने नेपालीको दर पनि दिनानुदिन बढ्नु हो ।  केही दिनदेखि विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेको दर बढ्दो छ । जसको कारण भारतमा संक्रमण दर उच्च मात्रामा रहनु, महामारीका बीचमा नेपाल भारत सीमा विवाद हुनुका साथै वर्षायाम खेतीपातीको समय शुरू हुनु पनि हो ।  

नेपाल कृषिमा आधारित एउटा सानो भूपरिवेष्टित राष्ट्र हो । जहाँ अधिकांश मानिस कृषिमा आबद्ध छन् । आधुनिक कृषिमा आबद्ध समूहहरूको संख्या सानो छ । धेरै मात्रामा मानिसहरू कृषिमा आबद्ध रहे पनि मुस्किलले पाँचसात महिनाका लागि खान पुग्ने उत्पादन हुने र बाँकी समयका लागि हातमुख जोर्न भारतमा ज्यालामजदूरी गर्न पलायन हुनुपर्ने तीतो यर्थाथ अझै छ ।  सोही यथार्थताका कारण प्रत्येक वर्षझै मंसिर महिना अर्थात् नेपालीका प्रमुख चाडबाड दशैतिहार मनाएर दैनिक ज्यालादारीको लागि पलायन भएका समूह फेरि खेतीपातीका लागि आफ्नो गाँउघर नेपाल फर्कने बेला हो यो ।

भारतमा रहेका अधिकांश युवा समूह स्वदेश त फर्कन लाए । तर, स्वदेशको अवस्था पनि विश्वव्यापी संक्रमणको कारण दिनप्रतिदिन आक्रान्त भएको छ ।

खेतीपातीको महिना अर्थात् नेपालको मुख्य कृषि बालीहरू पहाडमा मकै र तराईमा धानको खेती गर्ने बेला शुरू भैसकेको छ । देशबाहिर वा देशभित्र नै रहेको समूह आफ्नो सम्बन्धित स्थान पुग्नुपर्ने बेलामा कोरोना संक्रमणका कारण यसबाट जोगिन भारतबाट गाउँघरमा फर्किए पनि क्वारेन्टिनमा बस्नुपरेको छ र समयमा घर पुग्न सकेका छैनन् । अझै भन्नुपर्दा कतिपय समूह क्वारेन्टिनमै रहे पनि बाँकी कृषकहरूले समयमै मलबीउ नपाइरहेको अवस्थाका साथै मलबीउ लिन जाँदा पनि कोरोनाको त्रास कायम नै छ । केही मात्रामा मलबीउ उपलब्ध भए पनि सो पाउन धेरै समय खर्चिनु पनि बाध्यता छ ।  

    नेपालको मुख्य अन्नबाली धान मौसमी अनुकूलताको हिसाबले नेपालको तराई क्षेत्रमा उत्पादन हुने गर्छ । नेपाल सरकारले धान जोनको रूपमा तराईलाइ नै तोकेको छ । तर, यो समयमा यस कोरोनाले तराईलाई पनि आक्रान्त परिरहेको छ । विगतका तथ्यांकहरूको अध्ययन गर्दा पनि धान जोनका रूपमा रहेका तराईका झापा, बारा, पर्सा, बाँके, बर्दिया र कैलाली जिल्ला उच्च जोखिमका परेका छन् । अझ भनौं, बाँके त झन् कोरोना इसिसेन्टरको रूपमा स्थापित भएको छ ।

      यस्तो अवस्थामा कसरी खेतीपातीको वातावरण सिर्जना हुन सक्छ ? एकातिर महामारीको त्रास अर्कोतर्फ आवश्यक जनशक्ति क्वारेन्टिनमा थन्किनुपर्ने, खेतीका लागि आवश्यक मलबीउ, कृषि सामग्री समयमा नै उपलब्धतामामै कठिनाइ । यद्यपि नेपाल सरकारको आर्थिक वर्ष २०७७÷७८ को प्रस्तुत बजेटमा कृषिलाई प्राथमिकतामा राखेर उल्लेख्य बजेट विनियोजन गरे पनि उक्त रकम यस आर्थिक वर्षभन्दा आगामी वर्षका लागि भएकाले कृषि क्षेत्रमा यो वर्ष उपयोग हँदैन ।

      एकातिर कोरोना महामारी त्रास, खेतीपातीको समय, लकडाउनका साथै अर्काे प्राकृतिक विपत्को त्रास अर्थात् हाल सुडान, पाकिस्तान हुँदै हाम्रो छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशसम्म सलहहरूको हूल आइपुगेको छ ।  नेपालको तराई क्षेत्र भारतसँग जोडिएकाले नेपालमा पनि पूरै सलह भित्रिने सम्भावना रहेको कृषिविद्हरूले अनुमान लगाएका छन् । यो एक ठूलो झुण्डमा उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्न सक्ने विनाशकारी तथा खतरनाक किरा हो । सलह किसानहरूको ठूलोे शत्रु रहिआएको र कतिपय राष्ट्रहरूमा जनता र भोकमरीको लागि पर्याप्त खानेकुराको बीचमा निर्धारक रहेको पाइन्छ ।

       विभिन्न अध्ययनलाई आधार मान्दा यस किराले आफ्नो तौल बराबरको (२ ग्राम) हरियो वस्तु एकै दिनमा खान सक्छ । यस झुण्डमा चारदेखि आठ करोडसम्मको संख्या सलह बस्दछन् । यो सलह युवा अवस्थामा उड्न नसके पनि बिरुवामा अघि बढिरहन्छ र आफ्नो बाटामा आइपर्ने सम्पूर्ण वनस्पतिलाई खाएर सखाप पार्दछ । यो किरा दिउँसो १५० किलोमिटर उड्न सक्छ र रातमा झाडी र बोटविरुवामा आराम गर्छ । यो किरा विश्वमा ७० वर्ष पहिले देखिए  पनि सोभन्दा अहिले २० गुणा ठूलोे रूपमा देखापरेको विज्ञहरूको भनाइ छ । साथै यसलाइ कृषि तथा खाद्य संगठनले प्लेग (विपत्ति) संज्ञा दिएको छ ।

     यसरी सम्पूर्ण विश्व तथा हाम्रो राष्ट्र नेपाल यस कोभिड —१९ महामारीबाट त्रसित तथा आक्रान्त रहेको बेला नेपाली कृषकलाई अर्काे प्राकृतिक विपत्को त्रासले सताएको छ । जसको प्रभाव रोक्न तत्कालै सम्बन्धित निकायबाट आवश्यक पहल हुनु जरुरी छ ।  अन्यथा कृषिमा पनि विषम परिस्थितिको सामना गर्न नपर्ला भन्न सकिँदैन । यदि यस समस्याको समाधान समयमा नै हुन नसकेमा कोरोना महामारीबाट धराशायी भएको  नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान निश्चय नै कम हुने छ । क्युवा र सुडानको भोकमरीको अवस्था जस्तै सामना नेपालले पनि गर्नु नपर्ला भन्न सकिँदैन । तसर्थ उक्त विपत्तितिर समयमा नै कृषि मन्त्रालय लगायत अन्य सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

प्रकाशित: १८ जेष्ठ २०७७ १४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App