उत्तरी चीनमा तीव्र हावाहुरीको चेतावनीले बेइजिङ, तियानजिन र हेबेई क्षेत्रका लाखौँ बासिन्दालाई घरभित्रै बस्न निर्देशन दिइएको छ। आइतबारसम्म प्रतिघण्टा १५० किलोमिटरसम्मको हावा चल्ने अनुमान छ।
सरकारी सञ्चारमाध्यमका अनुसार यो हावा यति शक्तिशाली छ कि ५० किलोग्रामभन्दा कम तौल भएका व्यक्तिलाई समेत उडाउन सक्ने खतरा छ। मंगोलियाबाट आएको चिसो हावाले बेइजिङमा शनिबार २४ घण्टाभित्र तापक्रम १३ डिग्री सेल्सियसले घटाउने बताइएको छ।
विद्यालयहरू बन्द छन्, बाहिरी कार्यक्रमहरू रद्द गरिएका छन् र बासिन्दालाई चाँडो घर फर्कन आग्रह गरिएको छ। चीनले एक दशकयताकै पहिलो पटक यस्तो आँधीहुरीका लागि उच्चस्तरीय चेतावनी जारी गरेको छ।
उत्तरी चीनमा तीव्र हावाहुरीको खतरा बढेपछि बेइजिङ, तियानजिन र हेबेईमा ‘ओरन्ज अलर्ट’ जारी गरिएको छ।
‘ओरन्ज अलर्ट’ मौसम चेतावनी प्रणालीमा दोस्रो उच्च तह हो, जुन रातोभन्दा तल र पहेंलोभन्दा माथि हुन्छ। यसले तीव्र हावाहुरी, भारी वर्षा जस्ता गम्भीर मौसमी खतरा संकेत गर्छ। यो अवस्थामा मानिसहरूलाई घरभित्रै बस्न, सावधानी अपनाउन, यात्रा कम गर्न र तयारी गर्न आग्रह गरिन्छ। बीबीसी
प्रकाशित: २९ चैत्र २०८१ १८:४२ शुक्रबार





