२३ श्रावण २०७७ शुक्रबार
ब्लग

प्रधानमन्त्री ज्यू ! आफ्नै देश आउन पनि भीषा चाहिन्छ र ?

परदेशबाट विद्यार्थीको प्रश्न

अघिल्लो साता फेसवुकमा संसदको लाइभ आइरहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली बोलिरहनु भएको थियो। कतै विदेशमा रहेका नेपालीबारे पनि सरकारले केही घोषणा पो गर्छ कि भनेर संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पुरै हेरेँ। तर विदेशमा रहेका नेपाली प्रति उहाँले दिएको जवाफले शीतलता हैन अझ मन कुडायो। त्यही साता कोराना नियन्त्रण उच्चस्तरीय समितिले विदेशमा रहेका नेपाली फिर्ता ल्याउनेबारे मोडालिटी बनाउने समाचार पनि आयो। तर खै हामी नेपाल कहिले आउन पाउँछौं अहिले त यो प्रश्न आफै भित्र मात्र सिमित हुन पुगेको छ।  

म लगायत हामी झण्डै ९० जना होटल म्यानेजमेन्ट कलेजका विद्यार्थी इन्टर्नसिपका लागि यूएईमा छौं। हाम्रो अध्ययनमा १० महिनाको इन्टर्नसिप हुने गर्छ। यही सिलसिलामा हामी यहाँ छौं। मध्यपूर्व हाम्रो कलेजका १ सय विद्यार्थी छौं। हाम्रो त्यो कोर्ष पनि पुरा भएको छ। हाम्रो भीषाको अवधी पनि सकिन लागेको छ। भिषा सकिएको एक महिनासम्म यहाँ बस्न पाइन्छ। त्यही सुविधा प्रयोग गरिरहेकी छु। नेपाली दूतावाशले भीषा सकिदाँ कुनै समस्या पर्दैन भनेको छ। भीषाको समस्या नभए पनि हामी अन्य समस्याले घेरिन थालेका छौं। हुन त देशमा सीमाको समस्या छ, सत्ता टिकाउने समस्या छ, आफ्नै पार्टी भित्रको विवादमा प्रधानमन्त्री जुधिरहनु भएको छ। यस्तो बेला हामी जस्ता विद्यार्थीको समस्या सुन्ने फुर्सद उहाँलाई नभएरै होला मौन हुनुहुन्छ।  

भारतबाट हजारौं नेपालीहरु पैदलै सीमानामा देश प्रवेशको अनुमति कुरीरहेका समाचार हामीले यहाँ बसेर पढिरहेका छौं। सायद यो समुन्द्रपारीबाट हिँडेरै सीमानामा आउन सकिने भएको भए हामी पनि सीमानाको एउटा छेउमा पसिना पुच्छ्दै उभिइरहेका हुने थियौं। हामीलाई त त्यो सम्भावनाको ढोका पनि खुला छैन। मात्र एउटा कोठामा बसेर नेपाल फर्किन पाउने आशा जिवित राखिरहनु परेको छ।  

हाम्रो इन्टर्नसिप सकेर नेपाल फर्किन प्याकिङ पनि गरिसकेका थियौं। विश्वभर कोरोना महामारी फैलिरहेको थियो। मध्यपूर्वमा पनि यो फैलिरहँदा आफ्नो देशबाट टाढा रहेका हामी अत्तालिरहेका थियौ। घर फर्किनका लागि सबै तयारी पूरा भएका थिए। तर विडम्बना कोरोना नेपालमा पनि फैलिन त्यहीबेला सुरु भयो। हाम्रो देशले अन्तराष्ट्रिय उडान बन्द गर्यो। यो सँगै हाम्रो घर फर्केने योजना पनि एउटा बन्द कोठामा सिमित भएको छ।  

विद्यार्थी भनेपछि यसका आफ्नै बाध्यता र सिमितता हुन्छन्। हामी कुनै श्रम भीषामा यहाँ नआएकाले इन्टर्नसिपमा काम गर्दा पाउने पारिश्रमिक पनि निश्चित हुन्छ। जुन दैनिक पकेट खर्च चलाउन मात्र सकिने हो। अब त प्राय: हामीको काम पनि सकिएको छ। पकेट खर्च पनि कसरी आउला र ? यहाँ आउने बेला हामीले गरेको स्वास्थ्य बीमाको अवधी पनि सकिएको छ। कोरोना कै विरामीको लागि यहाँको सरकारले उपचार निशुल्क गर्ने भनेको छ। त्यसमा त कुनै चिन्ता भएन तर अन्य विरामी भएको अवस्थामा हाम्रो अवस्था नाजुक हुने निश्चित छ। धन्न अहिलेसम्म हामी कसैमा कुनै स्वास्थ्य समस्या देखिएको छैन। तर एक जना विद्यार्थीमा मात्र केही समस्या देखियो भने त्यसको मनोवैज्ञानिक असर हामी सबैमा पर्छ।  

हामी विदेशमा भएका पनि तपाईकै नागरिक हौं प्रधानमन्त्री ज्यू! नागरिकले आफ्नो सरकार सँधै खोजिराख्दैन, यस्तै अभर परेको समय आफ्नो सरकार चाहिने हो। हो त्यही भएर हामीले हाम्रो सरकार खोजिरहेका छौं। हामीलाई हाम्रो देश फर्किनु छ। सरकारले भनेका सबै मापदण्ड मान्न हामी तयार छौं। विदेशबाट फर्किएकाबाट संक्रमण फैलिएको देखिरहँदा हामी त्यसमा सचेत छौं। हामीलाई हाम्रो देशको माया लाग्छ, हाम्रो सरकारले पनि हामीलाई माया गरिदियोस् भन्ने मात्र हो।  

भारतबाट हजारौं नेपालीहरु पैदलै सीमानामा देश प्रवेशको अनुमति कुरीरहेका समाचार हामीले यहाँ बसेर पढिरहेका छौं। सायद यो समुन्द्रपारीबाट हिँडेरै सीमानामा आउन सकिने भएको भए हामी पनि सीमानाको एउटा छेउमा पसिना पुच्छ्दै उभिइरहेका हुने थियौं। हामीलाई त त्यो सम्भावनाको ढोका पनि खुला छैन। मात्र एउटा कोठामा बसेर नेपाल फर्किन पाउने आशा जिवित राखिरहनु परेको छ।  

नेपालमा रहेका आफन्तहरुलाई र कलेजमा पनि हामी सोधिरहन्छौं हामी कहिले आउन पाउँछौ भनेर ? तर यो प्रश्न मात्रै हो उत्तर उहाँहरुसँग पनि छैन। प्रधानमन्त्री ज्यू ! आफ्नै देश आउन पनि भीषा चाहिन्छ र ?

प्रधानमन्त्री ज्यू तपाईसँग बहुमत छ, सत्ता छ, शक्ति छ र यो प्रश्नको जवाफ पनि। अब अलिकति मन पनि भैदिए हामी जस्ता अभरमा परेका नागरिक घर फर्किन पाउने थियौं की?

 

प्रकाशित: ११ जेष्ठ २०७७ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App