१५ वैशाख २०८१ शनिबार
image/svg+xml
ब्लग

हरिबोधनीमा प्रसाईं–बस्नेतको हल्लीखल्ली

भर्खरै दसैं, तिहार र छठ सकिएका छन्। यी पर्वहरूको रोमाञ्च र उल्लास अझैँ तरोताजा छ। हिन्दु मान्यताअनुसार पनि यसवर्षको चाडपर्वहरूको खाता अझैँ बन्द हुन बाँकी छ। हरिबोधिनी एकादशीलाई चाडपर्वको खाता बन्द गर्ने बिगुलका रूपमा लिइन्छ। जुन आज परेको छ। आज घरघरमा रोपिएका भगवान विष्णु(हरि)को प्रतिक मानिने तुलसीको विवाह गर्ने प्रचलन छ। हरिबोधिनी एकादशीलाई एकवर्षमा हुने २४ एकादशीमध्ये सबैभन्दा ठुलो एकादशी पनि मानिन्छ।

यसरी हरिबोधिनी एकादशीमा ब्रत बसेर तुलसीको पूजाआरधनासहित विवाह गरेर चाडपर्वहरुको विदाई गर्ने दिनमा यसपटक नेपाली समाजमा खुशीभन्दा चिन्ता र चासो बढी छ। सरकारको त झन् यतिबेला गम्भीर टाउको दुखाइ भइरहेको छ।

सर्वसाधारणमा चिन्ता र चासो सिर्जना गर्दै सरकारको टाउको दुखाई बनेका पात्रहरु विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेत हुन्। पछिल्लो समय एकअर्काविरुद्ध परस्पर विवादित अभिव्यक्ति दिँदै आएका व्यक्ति हुन्। 

उसो त केही समयअघि दुबैजना एउटै पार्टीमा थिए। प्रसाईं गएको फागुनसम्म एमालेको केन्द्रीय सदस्य थिए। त्यसअघि प्रसाईं नेकपा माओवादी केन्द्रमा थिए। दुबै पार्टी एकीकरण भएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई सँगै राखेर छलफल गराउँथे। दुबै अध्यक्ष प्रसाईंसँगै उनको घर पुगेर चरेशको थालमा मार्सी भात खाएको तस्बिर नै भाइरल बनेको थियो।

बस्नेत एमालेमा अध्यक्ष केपी ओली निकट व्यक्ति मानिन्छन्। ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्नेमध्येका अगुवा व्यक्ति हुन्। एमालेमा रहँदा प्रसाईं पनि ओली निकट नै थिए। ओलीकै गृहजिल्ला झापा घर स्थायी घर भएका प्रसाईं ‘हजुरबा’ भनेर सम्बोधन गर्छन्। गएको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट टिकट नपाउँदा प्रसाईं रुष्ट बनेका थिए। यसबाहेक आफूलाई मेडिकल कलेज सम्बन्धन दिलाउनमा साथ नदिएको रुष्टता पनि प्रसाईंमा रहेको बताइन्छ।

त्यसपछि प्रसाईंले वर्तमान समस्याको कारण गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता सहितको अहिलेको व्यवस्था रहेको भन्दै यसविरुद्ध झापाबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको घोषणा गरे। जसमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएका थिए। त्यसपछि एमालेले उनलाई कारबाही गरेको थियो। 

एमालेले कारबाही गरेपछि प्रसाईं व्यवस्थाविरुद्ध झन् मुखरित भएर हिँडेका छन्। यसैक्रममा बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर असुलेर विपन्न, गरिबहरूलाई मर्न बाध्य पारेको भन्दै त्यसविरुद्ध पनि आवाज उठाइरहेका छन्। जसमा उनले ऋणीलाई ब्याज र किस्ता तत्काल तिर्नुनपर्ने र २० लाखसम्मको ऋण आफू मिनाहा गराउने बताउँदै आएका छन्।

यस्तै अहिलेको व्यवस्थाले केही नेता र व्यापारिक घरानाहरुलाई मात्र फाइदा पुगेको भन्दै त्यसविरुद्ध पनि धावा बोलिरहेका छन्। यसक्रममा उनको मुख्य निशानामा आफ्नो पूर्व पार्टी एमाले र मारवाडी व्यवसायी परेका छन्। यसलाई एकथरीले प्रसाईंका यि गतिबिधिलाई अराजक भएको आरोप लगाउँदै आएका छन्।  

केहीसमयअघि प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौ लगानी भएको विवादित बयान दिएका थिए। जसको बचाउमा उत्रदाँ एमाले नेता बस्नेत प्रसाईंमाथि चर्को सुनिएका थिए। त्यसपछि प्रसाईं–बस्नेत आमने–सामने परेका छन्। प्रसाईंले बस्नेतको दाबी गर्दै एक महिलासँगको ‘बेड सिन’मा देखिने भिडिओ नै सार्वजनिक गरेका थिए। जसको बस्नेतले खण्डन गरिरहेका छन्। यसले दुबैबीचको सम्बन्ध अझैँ तिक्त बनाएको थियो।  

यसैबीचमा प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा वृहत मुक्ति आन्दोलन भनेर घोषणा गरे। गणतन्त्र, संघीयता, धर्म निरपेक्षताले मुलुकमा विकृति, विसंगती सिर्जना गरेको भन्दै व्यवस्था परिवर्तनको मागमा राजधानीमा लाखौं मान्छे उताने दाबी गर्दै उनले आन्दोलनको घोषणा गरेका छन्।

त्यसलगत्तै नेता बस्नेत इन्चार्ज रहेको राष्ट्रिय युवा संघसहित एमालेका जनवर्गीय संगठनहरुले व्यवस्थाविरोधी गतिबिधि र सरकारका विरुद्धमा आन्दोलनको घोषणा गरेको थियो। युवा संघले व्यवस्थाविरोधी गतिबिधि भनेर प्रसाईंका गतिबधिलाई नै लक्षित गरिएको बताइन्छ।  

कार्यक्रम घोषणा गर्दा दुबै समूहले माइतीघर मण्डलालाई स्थान तोकेका थिए । तर दुबै समूहबीच हुनसक्ने सम्भावित झडपलाई ध्यान दिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरमा निषेधाज्ञा लगाउँदै अलग–अलग विकल्प दिएको छ । नयाँ विकल्पअनुसार एमालेको युवा–विद्यार्थीले तीनकुने र प्रसाईं समूहले बल्खुमा कार्यक्रम गर्न सहमति जनाइसकेका छन्।  

सुरक्षा निकायले दुबै समूहको कार्यक्रमस्थल टाढा तोकिदिएपछि दुबै पक्षबीच परस्पर झडप हुने सम्भावना भने देखेका छैनन्। तर सार्वजनिक सुरक्षा, घुसपैठ र एकै समूहभित्र विवादको चुनौतीको सम्भावना भने उच्च देखेका छन्। ‘दुबै कार्यक्रममा घुसपैठको खतरा छ। भीडमा घुसपैठले सिर्जना हुने तनावले स्थिती जतिबेलै अनियन्त्रित गर्नसक्छ,’ एक उच्च सुरक्षा अधिकारीले नागरिकसँग भने। सार्वजनिक सुरक्षाको दृष्टिकोणबाट युवा संघभन्दा प्रसाईं समूहको कार्यक्रम बढी संवेदनशील देखिएको ती अधिकारी बताउँछन्। उनी भन्छन्, ‘युवा संघमा देखिने एउटा संरचना छ । केही भए नेतृत्वसँग छलफल गरेर स्थिती काबुमा राख्न सकिएला। तर प्रसाईंजीको कार्यक्रम त स्वयम् उहाँकै नियन्त्रणमा छैन। नेतृत्व नै नभएको भीडले सिर्जना गर्ने सार्वजनिक सुरक्षाको जोखिम खतरानाक हुन्छ।’

सुरक्षा निकायलाई प्राप्त गुप्तचरी सूचनामा पनि प्रसाईंले आह्वान गरेको कार्यक्रममा विभिन्न स्वार्र्थ समूह, हुल्लडबाज, थरीथरी राजनीतिक अजेन्डा बोकेका भिजिलान्तेदेखि अराजक व्यक्ति तथा समूह देखिएका छन्। उनीहरुबाट सिर्जना हुनसक्ने सुरक्षा जोखिम राज्यको टाउको दुखाईको विषय बनेको छ।  

दुबै कार्यक्रमबाट सिर्जना हुनसक्ने सबै सुरक्षा चुनौतीहरुको विश्लेषण गरी सुरक्षा निकाय र स्थानीय प्रशासनले विशेष सुरक्षा योजना बनाएर काम थालेका छन्। जसमा सम्भावित जोखिमको पूर्वतयारीस्वरुप राजधानी प्रवेश नाकामा कडाई, सडक, सार्वजनिक स्थल एवं निकाय, बैंक तथा वित्तीय संस्था, भिआइपीका घर तथा निवास, सम्भावित भ्रमणस्थान, विदेशी नियोगका कार्यालयहरुमा सुरक्षा निकायको बाक्लो पहरा राखिएको छ।

यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल विभिन्न किसिमले स्थलगत रुपमा परिचालित गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागको गुप्तचरी टोली प्रभावकारी रुपमा परिचालित गरिएको दाबी गरिएको छ । संवेदनशील क्षेत्रको सुरक्षा सतर्कताका लागि ड्रोन र सिसिटिभी क्यामराको पनि बाक्लो उपस्थितीसहितको निगरानी भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) दीपक थापा बताउँछन् । ‘हामीले सुरक्षामा कुनै चुक नहुनेगरी सतर्कताका उपायहरु अवलम्वन गरेका छौं,’ उनले भने,‘तीनवटै सुरक्षा निकाय र गृहप्रशासनबीच पनि तारन्तारको समन्वयात्मक संयन्त्रमार्फत काम भइरहेको छ।’  

उपत्यकाका इकाईहरुमा रहेका तीनवटै प्रहरी र गुप्तचरी संगठनको जनशक्ति आवश्यकताअनुसार परिचालित रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक(डिआइजी) कुबेर कडायतले बताए। उनले भने, ‘हालसम्म उपत्यकाका इकाईहरुमा रहेको जनशक्ति परिचालित छ। आवश्यक परे तत्कालै केन्द्रसँग रहेको रिजर्भ फोर्स पनि परिचालित भइहाल्छ। सुरक्षा सतर्कतामा कुनै कमी हुन नदिनेगरी योजना बनेको छ।’  

तोकिएको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न दुबै समूहलाई कुनै रोकतोक नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए। ‘उहाँहरुसँगको छलफलअनुसार तोकिएको स्थानमा शान्तिपूर्ण प्रदर्शन र कार्यक्रम गर्न कुनै रोकतोक हुन्न। बस, सवारी साधन वा पैदल रुपमा कार्यक्रमस्थलसम्म आउजाउ गर्न नि पाइन्छ,’ उनले भने,‘तर, तोकिएको स्थानबाट बाहिर जान खोजे रोकिन्छ।’

प्रकाशित: ७ मंसिर २०८० ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App