खानेपानी मन्त्री प्रदीप यादवले जनताको विश्वास जित्न सबै पहल, लगानी र समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २०औं वार्षिकोत्सवमा बोल्दै उनले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै पारदर्शी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्ने बताए।
उनले भने, ‘खानेपानी सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगै अघि बढ्नेछौं।’
मन्त्री यादवले बोर्डका योजनाले नागरिकको जीवनस्तर, जनस्वास्थ्य र वातावरणीय दिगोपनमा महत्त्वपूर्ण योगदान दिएको बताए। उनले भने, ‘खानेपानी क्षेत्रको सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयमा मेरो व्यक्तिगत प्रतिबद्धता रहनेछ।’
बोर्डको २० वर्षे यात्रालाई स्मरण गर्दै उनले यो संस्था दूरदर्शी सोच र संकल्पका साथ स्थापना भई परिपक्व चरणमा प्रवेश गरेको बताए। उनले भने, ‘काठमाडौं उपत्यकामा सुरक्षित, दिगो र समावेशी खानेपानी सेवा पुर्याउने लक्ष्यले अघि बढेको बोर्डको यात्रामा चुनौती, कठिनाइ र अवसरको संयोजन रहे पनि प्राप्त सफलताहरू सबै नेपालीको गौरवको विषय बनेका छन्।’ खानेपानीलाई आधारभूत हक मान्दै दीर्घकालीन दृष्टिकोणबाट समन्वयात्मक नीति, योजना र कार्यान्वयन आवश्यक रहेको उनले जोड दिए।
खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले बोर्डले नागरिकलाई सेवा पुर्याउँदै राम्रो काम गरेको तर अझै धेरै गर्न बाँकी रहेको बताइन्। उनले भने, ‘जनताको मन जित्न सफल होऊन् भन्ने शुभकामना छ।’
बोर्डका कार्यकारी निर्देशक शञ्जिवबीक्रम राणाले ४०० भन्दा बढी स्थानमा वर्षा पानी संकलन प्रणाली स्थापना भई करिब एक लाख जनसंख्या लाभान्वित भएको, २०३ ढुंगेधारा, इनार र कुँवा संरक्षणले सांस्कृतिक जलस्रोत पुनर्जनन भएको, ३१ स्थानमा पानी एटिएममार्फत गुणस्तरीय पिउने पानी उपलब्ध भएको जानकारी दिए।
यस्तै, ७४४ डिप ट्युबवेलको अनुमतिपत्र प्रदान, डिजिटल म्यापिङ र मोबाइल एपमार्फत जलस्रोत व्यवस्थापन, सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र, ७४.७ किलोमिटर पाइपलाइन र ९ पानीपोखरी निर्माण सम्पन्न भएको तथा उपत्यकाको २०५० सम्मको गुरुयोजनाले मार्गचित्र तय गरेको उनले बताए।
तर, पुरानो पाइपलाइनका कारण पानी चुहावट, नोक्सानी र असमान वितरण, भूमिगत जलको अत्यधिक दोहन, शहरीकरणले जलसन्तुलनमा असर र ट्यांकर प्रणालीमा गुणस्तर तथा मूल्यको असमानता प्रमुख चुनौती रहेको उल्लेख गरियो।
कार्यक्रममा मन्त्रालयकी सहसचिव मीना श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख अशोककुमार पौडेल, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टिकाबहादुर चौधरीलगायतको उपस्थिति थियो।
प्रकाशित: ५ वैशाख २०८२ १६:३९ शुक्रबार





