‘विद्यालोक धरान’ प्रवेशिका परीक्षा समूह-२०२५ ले प्रकाशन गरेको धरानको इतिहास तथा वर्तमान पर्गेल्ने कृति हो। यस पुस्तकमा धरानको ऐतिहासिक परिवेशलाई अग्रभागमा राखेर विविध कथागाथा प्रस्तुत गरिएको छ। पुस्तकमा धरानका तथा धरानलाई बुझेका लेखक-साहित्यकार तथा पूर्व विद्यार्थीका लेखरचना रहेका छन्।
पठन सहजताका लागि कृतिलाई पाँच खण्ड र एक परिशिष्टमा विभक्त गरिएको छ। पहिलो खण्डमा धरानलाई प्रकाश पार्ने र यसको इतिहासलाई उजागर गर्ने हेतुले धरानको परिवेश तथा इतिहास वरपर रहेर लेखरचना समेटिएका छन्।
दोस्रो खण्डमा मूलतः २०२५ सालका प्रवेशिका समूहका विद्यार्थीहरूको बाल्यकालदेखि एसएलसीसम्मको धरान र स्कुलकाललाई सम्बोधन हुने रचना राखिएका छन्।
तेस्रो खण्डमा धरानको सुगन्ध फैलिनेगरी खगेन्द्र आचार्य, गडोश खड्का, जमुना क्षत्री, जमुना भट्टराई, मानबहादुर राई, रुकमणि मास्के र हिमप्रसाद ओझाका साहित्यपरक लेखरचना प्रकाशन गरिएको छ।
चौथो खण्डमा धरान पब्लिक हाइस्कुलका प्रधानाध्यापक हरिहर िवर्माको स्मृतिस्वरूप लेखरचना प्रकाशन गरिएका छन्। पाँचौं खण्डमा धरानका तत्कालीन ६ हाइस्कुलबाट २०२५ सालमा एसएलसीमा सम्मिलित विद्यार्थी तथा तिनको पारिवारिक विवरण प्रस्तुत गरिएको छ। छैटौं खण्डमा प्रवेशिका परीक्षा समूह-२०२५, धरानमा सम्मिलित दिवंगत विद्यार्थीहरूको तस्बिर प्रकाशन गरी उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
‘विद्यालोक धरान’ले धरानलाई बौद्धिक रूपमा अक्षरमा समेटेको छ। धरानको इतिहास र वर्तमान समेटेर तयार पारिएको कृति भावी पुस्ताका लागि आफैंमा धरानको इतिहास खोजको प्रामाणिक कृति बनेको छ।
प्रकाशित: ३१ श्रावण २०८२ ०८:३३ शनिबार





