अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्युयोर्क च्याप्टरले साहित्यकार कमला प्रसाईंका 'चितामाथिको लास' (नाटकसङ्ग्रह), 'सिमाना' (कवितासङ्ग्रह) र 'हृदयभित्र' (गीतिसङ्ग्रह) को लोकार्पण गरेकाे छ।
न्युयोर्कस्थित नेपाली भान्छाघरमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि न्युयोर्कका वाणिज्यदूत श्री प्रेमबहादुर बुढा थापा, विशेष अतिथिहरू अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा साहित्य पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, अनेसास केन्द्रका निवर्तमान अध्यक्ष साहित्यकार गोवर्धन पूजा, गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादक तथा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, चर्चित कलाकार वीरेन्द्र हमाल, अनेसास पुरस्कार समिति सदस्य सन्ध्या पहाडीले सो कृतिहरुको लोकार्पण गरेका थिए।
अनेसास न्युयोर्क च्याप्टरका अध्यक्ष जानुका ओस्ती ढकालको सभापतित्वमा आयोजित सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रेमबहादुर बुढा थापा, विशेष अतिथि राधेश्याम लेकाली गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि प्रेमबहादुर बुढा थापा, विशेष अतिथिहरु राधेश्याम लेकाली, गोवर्धन पूजा, श्रीओम श्रेष्ठ ‘रोदन’, जिपी के फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरे, वीरेन्द्र हमाल, सन्ध्या पहाडी लगायतले विशेष मन्तव्य राख्दै कृतिकार प्रसाईंको योगदानको चर्चा गर्दै बधाई ज्ञापन गरेका थिए।
कार्यक्रममा संस्थाका सचिव विष्णुहरि भण्डारीले कृतिकार प्रसाईँको जीवनवृत्त, साहित्यिक यात्रा तथा सिर्जनात्मक योगदानबारे प्रकाश पारेका थिए।
यसैगरी मुक्तक प्रतिष्ठान अमेरिकाका अध्यक्ष आनन्द श्रेष्ठ, साहित्यकारहरु किशनसिंह धामी, प्रा.डा. गोविन्द कोइराला र निर्देशक किशोर सुब्बाले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै साहित्यकार प्रसाईँको सिर्जनात्मक क्षमता र साहित्यिक योगदानको उच्च प्रशंसा गरेका थिए।
न्युयोर्क, अमेरिकामा स्थापित तारा-किशन फाउण्डेसनले प्रसाईंको साहित्य सिर्जनाको कदर गर्दै दीर्घ लेखन सम्मान पनि गरेको थियो । सो सम्मान फाउण्डेसनका संस्थापक संरक्षक तारा धामी र किशन धामीले प्रसाईलाई अर्पण गरेका थिए।
यसैगरी प्रसाईंलाई अनेसास न्युयोर्क च्याप्टरले पनि सम्मानपत्रसहित सम्मान गरेको सो कार्यक्रममा कृतिकार कमला प्रसाईँले आफ्ना कृतिहरूमा जीवनका यथार्थ भोगाइ, अनुभूति, संघर्ष र संवेदनालाई कलात्मक ढङ्गले कविता, गीत तथा नाटकमार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताइन।
संस्थाका उपाध्यक्ष नदिया लिबाङ्गले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सहजीकरण महासचिव निरू नेउपानेले गरेका थिए।
कार्यक्रममा अनेसास पूर्व उपाध्यक्षहरु राम खत्री, राजेन्द्र श्रेष्ठ, अनेसास केन्द्रीय सदस्य शकुन ज्ञवाली, साहित्यकारहरु रश्मि भट्ट, पासाङ शेर्पा, अनेसास न्युयोर्क च्याप्टरका पूर्व अध्यक्षहरू पूनम काफ्ले, लक्ष्मी श्रेष्ठ, शारदा क्षेत्री लगायतको उपस्थिति रहेको थियो।
नेपाल र अमेरिकाको राष्ट्रिय गानसँगै प्रारम्भ भएको सो कार्यक्रममा साहित्यकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रसाईंका लोकार्पित तीनै कृति अनेसास नेपालले प्रकाशित गरेको हो।
प्रकाशित: २८ जेष्ठ २०८३ ११:१७ बिहीबार





