स्रष्टा साँझ अमेरिकाले जुम प्रविधिमार्फत ‘लघुकथा अभिभावक’ लता केसीको चाैथाे लघुकथासंग्रह ‘पाहुर’ काे परिचर्चा गरेकाे छ।
कार्यक्रममा परिचर्चाकार वन्दना घिमिरेले लघुकथाकार केसीको व्यक्तिगत र साहित्यिक परिचय प्रस्तुत गर्दै कृतिका ६३ लघुकथाको सन्दर्भमा कथाभाव, लघुकथाहरूमा पाइएको महिला पात्रहरूको अवस्था र विषयवस्तुबारे प्रष्ट पारेकी थिइन्।
परिचर्चाकार डा. कुसुमाकार शर्मा गौतमले लघुकथाका विषयवस्तुमा पाइने चिन्तनमनन र वैचारिक पक्षको व्याख्या गर्दै विषय, उद्देश्य र कालखण्ड दोषका सन्दर्भमा सुझाएका थिए।
परिचर्चाकार डा. हरिप्रसाद भण्डारीले लघुकथाका प्रकृति, उद्देश्य र विशेषताहरूमाथि गहन विश्लेषण गरेका थिए।
कार्यक्रममा परिचर्चाकार प्राडा कपिल लामिछानेले लघुकथाका सबल र दुर्बल पक्षमाथि विहङ्गम दृष्टिकोण प्रस्तुत गर्दै आउँदाे कृतिका लागि शुभकामनासहित प्रशस्त मार्गदर्शन गरेका थिए।
लघुकथा गान बजाएर सुरु गरिएको सो कार्यक्रममा अतिथिहरू अमर कार्की, निर्मला बराल, कल्पना पौडेल जिज्ञासु, गङ्गा अभिलाषी, महेन्द्र नेउपाने लगायतको उपस्थिति थियो।
अतिथि कार्कीले फ्लोरिडाबाट, बरालले काठमाडौंबाट र बाँकेबाट जिज्ञासुले शुभकामना मन्तव्य राखेका थिए।
प्रा. विश्वराज अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रमको अन्त्यमा लघुकथाकारले आफूले लघुकथा कसरी, किन र कस्तो विषयमा लेख्ने? विषयमा प्रष्ट धारणा राख्दै कार्यक्रम फलदायी भएकोमा खुसी व्यक्त गरेकी थिइन्। कार्यक्रमका दौरानमा प्राप्त सुझाव मनन गर्ने प्रतिबद्धता प्रकट गर्दै उनले आयोजक, सहजकर्ता, परिचर्चाकारहरू, अतिथिहरू र दर्शकश्रोताहरूलाई धन्यवाद दिएकी थिइन्।
प्रकाशित: १८ फाल्गुन २०८२ ११:१४ सोमबार





