२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

सिलिगुडीमा पहिलोपटक गुञ्जिँदै ‘नेपथ्य’

नेपाली सांगीतिक व्याण्ड ‘नेपथ्य’ पहिलोपटक भारतको सिलिगुडीमा गुञ्जिने भएको छ।

भारतमा दर्ता भएको नेपाली कम्पनी पीभीई नेटवर्कले आउँदाे फेब्रअुरी २८ मा आयोजना गर्न लागेको ‘नेपथ्य लाइभ सिलिगुडी’ मा नेपथ्यले गीत प्रस्तुत गर्न लागेको हो।  

कन्सर्ट उत्सोधारा टिष्टा टाउनशिप, कावाखली ग्राउन्डको पछाडिको क्षेत्रमा हुनेछ। उत्तर बंगालको प्रवेशद्वारका रूपमा परिचित सिलिगुडीमा पूर्वी भारत र हिमालयन क्षेत्रका नेपाली संगीतप्रेमीहरूमाझ सांस्कृतिक आदानप्रदानका रूपमा स्थापित गर्न नेपथ्यको कन्सर्ट आयोजना गरिएको आयोजकको भनाइ छ।

सिलिगुडी कन्सर्ट पीभीई नेटवर्कले यस क्षेत्रमा गर्न लागेको दोस्रो ठूलो अन्तर्राष्ट्रिय प्रत्यक्ष कन्सर्ट हो। पीभीई नेटवर्कका संस्थापक विकेश कायस्थले सिलिगुडीमा नेपथ्य ल्याउनु संस्थाको विश्वासको प्रतिबिम्ब रहेको बताए।

‘यस क्षेत्रमा दर्शकहरूले ठूला कन्सर्टको अनुभव लिन पाउनुपर्छ। हाम्रो उद्देश्य विश्वस्तरीय कन्सर्ट अनुभव प्रदान गर्नु हो र नेपथ्यको सांगीतिक सांस्कृतिक धरोहरकाे सम्मान गर्नु हो’, उनले भने।

कायस्थका अनुसार नेपाल र भुटानका दर्शकहरू कार्यक्रममा सहभागी हुने अपेक्षा छ। त्यस्तै भारतका मुम्बई, बेंगलुरु, नयाँ दिल्ली र पूर्वोत्तर क्षेत्रबाट दर्शकले पनि कन्सर्टबारे चासो देखाएका छन्।

नेपथ्यको कार्यक्रमका लागि आयोजकले अर्ली बर्ड टिकटहरू अनलाइनमा उपलब्ध गराएका छन् र ती बिक्री पनि भइसकेका छन्।

आयोजकका अनुसार हाल सीमित टिकटहरू मात्र बाँकी छन्। नेपालमा खल्ती बाई आइएमई टिकेटिङ साझेदारको रूपमा टिकटहरू उपलब्ध छन्।

तीन दशकअघि स्थापित नेपथ्य दक्षिण एसियाका प्रभावशाली ब्यान्डहरूमध्येमा पर्छ। जसको संगीत सामाजिक जनजीवन, आप्रवासन, पहिचान र साझा स्मृतिमा आधारित छ।

यसअघि पनि उनीहरूको गीतहरू उत्तर बंगल, सिक्किम, नेपाल र छिमेकी क्षेत्रहरूमा लोकप्रिय भइसकेका छन्। नेपथ्यको यो कन्सर्ट सिलिगुडी संस्करणको इतिहासमा दोस्रो ठूलो टिकटसहितको कन्सर्ट हो। जहाँ यसअघि यस्तै कन्सर्ट अरिजित सिंहले गरेका थिए।

यसअघि यसको प्रोपाइटरी आइपी कन्सर्ट ‘लेट्स गेट लाउड-इण्डिया सिरिज” ले सज्जन राज वैद्य लाई प्रस्तुत गरेको थियो। ‘लेट्स गेट लाउड-इण्डिया सिरिज’ गत वर्षको नोभेम्बरमा सिलिगुडी र सिक्किमको गान्तोकमा १२ हजारभन्दा बढी दर्शकको उपस्थितमा भएको थियो।

गान्तोक शो सिक्किमको सबैभन्दा सफल टिकटसहितको प्रत्यक्ष कन्सर्टको रुपमा चित्रित छ।

नेपथ्यले नेपालसहित युएई, अस्ट्रेलिया, युरोप, जापान, र अमेरिकामा सयौँ कन्सर्ट गरिसकेको छ। पीभीई नेटवर्क दक्षिण एसियाको प्रमुख मनोरञ्जन प्लेटफर्मको रूपमा स्थापित भइसकेको छ। यसले ४० भन्दा बढी शहरमा ३०० इभेन्ट सञ्चालन गरेको छ भने ५० नेपाली कलाकारसँग सहकार्य गरिसकेको छ।

प्रकाशित: ७ माघ २०८२ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App