५ वैशाख २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

पौरुष

लघुकथा

‘लु, हामी त गयौँ  है। आफ्नो  विचार आफैँ गरिस्यला।’ भन्दै उनी छोराछोरी बोकेर काम विशेषले माइतीघर हिँडिन्।

म दङ्ग परेँ। तीन महिनाका लागि पिंजडाभित्रको सुगाले पखेटा हालेर फुरुरु... उडेझैँ मेरो मन  पनि उड्यो। आखिर पुरुष न थिएँ । उनीबिना जीवन नचल्ने हो र? भन्ने सोच आयो। फुर्ती देखाएर खाना आफैँ  बनाएरै खाएँ। लुगा आफैंले धोएंँ। कोठा आफैँले सफा गरेँ।

२/३ दिनपछि मेरा नजरभरि उनको भान्सा र उनको स्याहारसुसार छाउन थाल्यो। एसी खोलेर टिभीको रिमोट या मोबाइल हातमा लिएर बेडमा पल्टदै गर्दा उनलाई भयङ्कर गर्मीमा खाना पकाउँदै गरेको, भाँडा सफा गरेर  बेडतिर अबेर आएको, बिहानै उठेर दुध र तरकारी लिन गएको, छोराछोरीको स्कुलको तयारी,  उनीहरुका लागि नास्ता तयार,  हतारहतार मलाई अफिस पठाउन गरेको मेहनत, लुगाको रास धुँदै गरेको, घर सफा  गर्दै गर्दा कम्मर दुखेर खुइय गरेर थचक्क  बसेको सबै सबै सम्झिन थालेँ। एकछिन मोबाइल लिएर बस्दा आफ्नो पौरुषत्व देखाएर कराएको पनि सम्झिएँ। अफिसबाट  फर्केर आउँदा संसारै जितेझैँ  गरेर  उनलाई सहयोग नगरेको पनि सम्झिएँ।मनले नमाने पनि ‘छिटै आऊ।’ भन्छु भनेर कल गरेँ।

‘महिलाको के काम छ र? घर बस्यो, खायो भनेको होइन त?’ भन्दै पड्किएर फोन काटिन्।

म आत्तिएँ। सोचेँ, ‘म नहुँदा उता त  उनको आधा काम घटेको होला तर उनी नहुँदा  यता मेरो दस गुना बढेको छ।’

प्रकाशित: ५ वैशाख २०८३ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App