१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अर्थ

पिउने पानीको मूल्य बढ्ने, लागत समायोजन गर्न महासंघको सर्कुलर

नेपाल पानी उद्योग महासंघले कच्चा पदार्थ र इन्धनमा भएको मूल्यवृद्धिको कारण देखाउँदै प्रशोधित पिउने पानीको बजार मूल्य समायोजन गर्न सदस्य उद्योगहरूलाई आग्रह गरेको छ।

महासंघले लागत विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दा पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै मूल्य वृद्धि गर्न सर्कुलर जारी गरेको हो।

महासंघका महासचिव ध्रुव प्रसाद अधिकारीका अनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल र जारलगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत महँगिएको र अन्तर्राष्ट्रिय बजारमा देखिएको असहजताले उत्पादन लागत अस्वाभाविक रूपमा बढेको महासंघले जनाएको छ।

‘रुस–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण अन्तर्राष्ट्रिय बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावले नेपालका पानी उद्योगहरू प्रत्यक्ष प्रभावित भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘बढेको उत्पादन लागत र ढुवानी खर्चका कारण मूल्य समायोजन गर्नु अब अपरिहार्य आवश्यकता बनेको छ।’

महासंघले यस निर्णय नाफामूलक नभई उद्योगको अस्तित्व रक्षाका लागि चालिएको बाध्यात्मक कदम भएको बताएको छ।

हाल देशभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा छन्। यी उद्योगहरुमा १५ अर्बभन्दा बढी लगानी छ भने ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।

महासंघले सरकारसँग उद्योग सञ्चालन सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र उद्योगमैत्री नीतिगत सहजीकरणका लागि कूटनीतिक पहल गर्न समेत माग गरेको छ।

प्रकाशित: ५ वैशाख २०८३ १५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App