३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सम्बन्ध प्रेमिल बनिरहोस्

श्रम

सृष्टिको अर्को नाम परिवर्तन हो। प्रकृतिको नियमअनुसार जुनसुकै वस्तु, सम्बन्ध वा अवस्था पनि स्थायी हुँदैन। एक पटक जोडिएका वा बनेका सम्बन्धहरू समयसँगै छुट्टिनु र नयाँ स्वरूप लिनु प्रकृतिको अटल र शाश्वत सत्य हो।

ब्रह्माण्डमा कुनै पनि कुरा जस्ताको तस्तै रहिरहँदैन। पात रूखबाट खस्नु, दिनपछि रात पर्नु र ऋतुहरू फेरिनु यसका उदाहरण हुन्। सृष्टि र विसर्जनको चक्रः पुरानो छुट्टिएर वा नष्ट भएपछि मात्र नयाँको जन्म सम्भव हुन्छ। मृत्यु वा अन्त्य पनि जीवन चक्रको एउटा अभिन्न हिस्सा हो। ‘आशक्तिबाट मुक्ति’ले हामीलाई कुनै पनि व्यक्ति, वस्तु वा परिस्थितिसँग सधैंभरि टाँसिएर बस्न सकिँदैन भन्ने यथार्थ सिकाउँछ। प्रकृतिको गति कहिल्यै रोकिँदैन, कसैको लागि पर्खंदैन। छुट्टिने पीडा बिस्तारै समयसँगै पुरानो हुँदै जान्छ।

सम्बन्धहरू मानिसबिच यसै जोडिन्छन् र बिनाकारण तोडिन्छन्। कुनै सम्बन्ध यसै सकिन्छन्, कारण केही चाहिँदैन। बस एउटा बोल्न छोड्यो, अर्को उसले झर्को नमानोस् भनेर बोलाउन छोड्यो भने सम्बन्ध सकिन्छ। समाजमा सम्बन्धको चक्र यसैगरी चलिरहन्छ। खासगरी केटाकेटी उमेरमा ससाना कुरामा ठुस्केर टुटेका सम्बन्धहरू समयक्रमसँगै जोडिन पुग्छन्। सम्बन्ध टुटाएर बस्न मन नमान्नेहरू बिस्तारै केही निहुँमा बोल्छन्। बोलेपछि सम्बन्ध जोडिन्छ, सुमधुर हुन्छ। जब उमेर बढ्दै जान्छ, धेरै कुरा बढ्दै जान्छन्। मान्छेसँगको भेटघाट, राम्रो–नराम्रो, फाइदा–बेफाइदा अनि अनेक कुरा जोडिँदै जान्छन्। यसैगरी मान्छेसँग पनि सम्बन्ध यसैगरी विकास हुँदारहेछन्।

स्कुलको होमवर्क, स्कुल जाने आउने, गाउँमा खेल्ने आदि कुराले स्कुले जीवनको सम्बन्धमा उतार–चढाव आइरहन्छ। अलि पछि यौवन अवस्थातिर पुग्दै गर्दा सम्बन्धको अर्को कडी सुरु हुँदोरहेछ। मन परेको मान्छेसँग बोल्न मन लाग्ने, अलि समय कुरा गर्न मन लाग्ने, घर जाने बाटो त्यही बनाउन मन लाग्ने हुँदोरहेछ। अनि लामो समयसम्म मनमा काउकुती लागुन्जेल मन त्यसै त्यसै बग्ने हुँदोरहेछ। जीवनका सपनाले, नयाँ आशाले, दिउँसै सपना देखेजस्तो हुने नयाँ सम्बन्धको आशामा मन व्याकुल हुने हुँदोरहेछ। अनि मनमा धेरै कुरा खेल्न थाल्दारहेछन्। सम्बन्धका कुरा, उद्देश्यका कुरा, यहाँसम्म कि सुन्दर घरको परिकल्पना र मिठो जीवनको सपना।

मन न हो, कहिले भावनामा बहकिन्छ, कहिले उक्साहटमा। भावना र उक्साहटको विरोधाभासमा कतिपय सम्बन्ध अगाडि बढिरहन्छन् लामो समयसम्म। यस्तोमा सम्बन्धहरू समाधानबिना नै अघि बढिरहन्छन्। जिन्दगीले आफ्नै मोड लिन्छ। समयले भौतिक रूपमा टाढा बनाउँछ। त्यसपछि न कुरा गर्न मन लाग्छ, न त्यो विषय जरुरी लाग्छ। जिन्दगी आफ्नै गतिमा चल्न थाल्छ। फुर्सदको कुनै कालखण्डमा ती कुराले मन व्याकुल बनाइरहन्छ। त्यो बेला न समाधानको बाटो हुन्छ, न विश्वास दिलाउने समय नै बाँकी रहन्छ।

कहिलेकाहीं नबोल्दा नबोल्दै पनि, भेट नहुँदा नहुँदै पनि र कुनै नयाँ आशा नहुँदा नहुँदै पनि मान्छेबिचका सम्बन्ध यसै चलिरहन्छन् आफ्नै गतिमा। यस्तै सम्बन्ध फुलिरहेको हुन्छ। जब मानिस यथार्थको धरातलमा ओर्लिन्छ, एकअर्कालाई बुझ्छन्। त्यो बेला बुझाउन धेरै तर्क र तथ्यको जरुरी नै हुँदैन। त्यो बेला मनमा न घमण्ड हुन्छ, न ती सम्बन्धप्रति कुनै गुनासो अनि उत्तेजना नै। यस्ता न्याना सम्बन्ध बाँच्नुको पनि मज्जा बेग्लै हुन्छ। न तारन्तार बोलिरहन जरुरी हुन्छ, न मनमा कुरा खेलाएर बस्नुपर्ने बाध्यता। जिन्दगीको गाडी धिप–धिप बलिरहन्छ। अनि, जिन्दगी आफ्नै गतिमा चलिरहन्छ। स्वार्थ र दम्भले भरिएको सम्बन्ध, मनमा इगो राखेर हिँड्ने सम्बन्ध नहुँदो हो त सम्बन्धमा तितोपना नै आउँदैन।

गल्ती गरे पनि आफ्नो गल्ती स्विकार्ने र मनमा लागेको कुरा खुलस्त भन्ने बानी सम्बन्ध न्यानो बनाउने अचुक औषधि हो। नचाहेरै पनि सम्बन्धहरू जोडिन्छन् र सुमधुर हुन्छन् पछि पछिसम्म। नचाहेरै सम्बन्धहरू चिसा हुन्छन्। चाहेर पनि नफर्किने गरी सम्बन्धमा कालो दाग बसिदिन्छ। भनिन्छ, सम्बन्ध बरफको ढिक्काजस्तै हुँदोरहेछ। जसलाई सजिलै जमाउन त सकिन्छ तर टिकाइ राख्न भने गाह्रो हुन्छ। सम्बन्ध जोड्नुभन्दा निर्वाह गर्नु महत्त्वपूर्ण हो। हरेक सम्बन्ध कुशलतापूर्वक निर्वाह गर्नका लागि मर्यादा तय हुनु जरुरी हुन्छ।

कहिलेकाहीं हामी सम्बन्धमा हदैसम्म झुकाव भएको महसुस गर्छौं, जबकि अर्को मान्छेलाई कुनै वास्ता नै हुँदैन। यस्तो अवस्थामा हामी केही हदसम्म दुरी बनाइराख्नु जरुरी हुन्छ किनकि थौरै समयको दुरीले सम्बन्धमा न्यानोपन ल्याउन सक्छ। आफ्नो घमण्डलाई कहिल्यै पनि सम्बन्धमा आउन दिनुहुँदैन। घमण्डले सम्बन्धलाई तोड्छ। विनम्रता र भरोसाले सम्बन्धलाई गाढा बनाउँछ। सम्बन्धको डोरी मनसँग जोडिएको हुन्छ। जब सम्बन्ध टुट्छ, मन पनि टुट्छ। हामी सबै आफ्नो सम्बन्धबाट केही अपेक्षा र आशा राख्छौं। जब यी आशा–अपेक्षा टुट्छन्, तब पीडा हुन्छ। सम्बन्ध लामो समयसम्म टिक्न सके जीवन सहज र आनन्दित हुन्छ।

सम्बन्धको जग भरोसा र इमानदारीमा निर्भर हुन्छ। जब विश्वासको जग हल्लिन्छ, सम्बन्धमा दरार आउँछ। प्रत्येक सम्बन्धमा एक समय यस्तो आउँछ, जब एकले अर्कालाई आपत्तिजनक लाग्ने व्यवहार गरिरहेको हुन सक्छ। यस्तो अवस्थामा सम्बन्धमा चोट पुग्छ। मानवीय सम्बन्ध स्वस्थ हुनुपर्छ, कसैले कसैको मन दुखाउने नहोस्। सम्बन्ध पारस्परिक सम्मान, सहकार्य र प्रेमिल हुनुपर्छ।

प्रकाशित: ३० जेष्ठ २०८३ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App