शव यात्रा चलिरहेथ्यो। स्वजन, आफन्तजन, चिनजान सबै थिए मलामी। शंख ध्वनिको एकोहोरो कर्कश आवाजको वातावरण, कोही गम्भीर मुद्रमा कोही सुँकसुँकाइरहेका! कोही उसको गुनगान गाउँथे! कोही बाँञ्चुञ्जेलको उसको दोष ओकलेर आत्मतृप्त गर्थै।
यी सबै उसले चुपचाप समन गरिरह्यो! अन्ततः गन्तव्य आइपुग्यो। नदीकिनारामा शव राखियो, कोही अन्तिम कर्ममा जुटे।

‘लु, बल्ल यसलाई यसको अन्तिम गन्तव्यमा ल्याइपुर्याइयो!’ एक बुज्रुक मलामी शवतिर हेर्दै बाेल्यो।
शवले चुपचाप जवाफ दियो, ‘के घमण्ड गर्छौ! गन्तव्यमा मलाई तिमीहरूले ल्याएका हैनौ! यही गन्तव्यको बाटो देखाउन नै तिमीहरूलाई मैले यहाँसम्म ल्याएको हो, बुझ्यौ!’
प्रकाशित: ६ मंसिर २०८२ ०७:४६ शनिबार





