चलचित्र ‘गोबर गणेश’ को शुभमुहूर्त गरिएको छ। काठमाडौंको म्हेपी मन्दिर परिसरमा चलचित्रको शुभमुहूर्त गरिएको हो।
शुभमुहूर्तमा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहित चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेको थियो। क्यामेरा पूजा गर्दै चलचित्रको सट लिएर शुभमुहूर्तमा केदार घिमिरे 'माग्ने बुढा' ले नरिवल फोडर र कलाकार रवि गिरीले क्लयाप हानेर गरिएको हो।
काठमाडाैंबाट शुरू भएकाे चलचित्रको छायांकन पोखरा लगायतका स्थानमा हुनेछ। करिब ३५ दिनको छायांकन सेड्युल रहेको निर्देशक श्रेष्ठले बताए।
“हामीले चलचित्रको छायांकन सुरु गरेका छौं। हाम्रो कला र सीपले भ्याए र जानेसम्म राम्रो काम गर्ने प्रयास गर्नेछौं,” निर्देशक श्रेष्ठले भने, “हामीलाई सानो पर्दामा जसरी दर्शकले साथ र माया दिनुभयो। त्यस्तै माया र साथ ठूलो पर्दाका दर्शकले पनि गरिदिनु हुनेछ भन्ने हाम्रो विश्वास छ।”
मरिचमान श्रेष्ठले निर्देशन गर्ने ‘गोबर गणेश’ माघ १ गते रिलिज हुनेछ। उनको यो पहिलो फिचर फिल्म निर्देशन हो। ‘मेरी बास्सै’ बाट दर्शकमा लोकप्रिय बनेका उनी त्यसपछि आफैं टेलिचलचित्र निर्देशनमा आएका थिए। उनका टेलिचलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शक लोकप्रिय छन्।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको अभिनेत्रीमा वर्षा सिवाकोटी छिन्। यस्तै अन्य कलाकारमा मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, पदम तामाङ, विल्सन विक्रम राई, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, राजु याक्छा, रामप्रसाद खनाल, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) लगायत छन्।
तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ। नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।
प्रकाशित: ४ भाद्र २०८२ १०:०३ बुधबार





