कतै लेखिएको छ - मानिसको असली सुन्दरता उसको अक्षरको सुन्दरताभित्र लुकेको हुन्छ। क्यालिग्राफी अर्थात् सुलेखन भनेको मानिसको आत्माबाट फुल्ने सुगन्धित फूल हो, जुन आदर्श अक्षर र आदर्श आत्माको अद्भूत संगमबाट निस्कन्छ।
विश्व क्यालिग्राफी दिवस अर्थात् सुलेखन दिवस बुधबार मनाइँदै छ। हरेक वर्ष अगस्ट महिनाको दोस्रो बुधबार यो दिवस विभिन्न कार्यक्रम गरी मनाइन्छ। अक्षरलाई सौन्दर्यसहित प्रस्तुत गर्ने कलालाई क्यालिग्राफी भनिन्छ। डिजिटल युगसँगै सुन्दर अक्षरका कुरा ओझेलमा पर्दै गए पनि यसको महत्त्व र सान्दर्भिकता सधैं रहने छ।
राम्रो लेखाइले आनन्द मिल्छ। ‘भन्न खोजेको कुरा सामान्य ढंगले लेख्नुलाई राइटिङ भनिन्छ,’ सुलेखन क्षेत्रमा काम गर्दै आएका क्यालीग्राफी नेपालका रतन कर्ण भन्छन्, ‘त्यही राइटिङलाई विभिन्न औजार प्रयोग गरेर सुन्दर ढंगले प्रस्तुति दिन सके त्यो सुलेखन बन्छ।’
सुलेखनमा डर लेख्दा डरको अनूभुति हुने र माया लेख्दा मायाको आनन्द मिल्ने उनले बताए।
‘क्यालिग्राफी भनेको अद्वितीय हस्तलेखन सिर्जना गर्नु मात्र होइन, यो आफैंमा एउटा कला हो,’ उनी भन्छन्, ‘विभिन्न कार्यशालामार्फत हामीले परम्परागत नेपाली लिपिहरूको बारेमा समुदायलाई सचेत गराउँदै आएका छौं।’
केही अघिसम्म स्कुलमा चिटिक्क परेका अक्षर लेख्ने अभ्यासको ठुलो महत्त्व थियो। शिक्षकले कापीमा केरमेट नगरी सफा र राम्रा अक्षर लेख्न सिकाउँथे। शिक्षकहरू पनि थरीथरीका कलम प्रयोग गरेर सुन्दर अक्षर लेख्ने सिप सिक्थे तर पछिल्लो समय स्मार्टफोन, ल्यापटप र डिजिटल टाइपिङको बढ्दो प्रभावसँगै हस्तलेखनको अभ्यास घट्दै गइरहेको छ। ‘कलम समाएर नलेखेको पनि धैरै भयो जस्तो लाग्न थालेको छ,’ जोरपाटीका रमेश पुडासैनी भन्छन्।
उतिबेला राम्रा अक्षर बनाउन डिको दिएर घन्टौं समय लगाएको अनि नयाँ कापीमा आकर्षक ढंगले नाम लेखेको स्मरण उनले गरे। ‘हस्ताक्षर गर्न कलम चाहिन्थ्यो तर मोबाइल बैकिंकले त्यही कलम पनि खोसेर लगेको छ,’ उनले भने।
कापीमा अथवा भित्तामा राम्रा अक्षर देखियो भने मनै खुसी हुने उनले सुनाए।
उनले भने जस्तै खुसी मिलोस् भनेर पछिल्लो समय राजधानी सहरका भित्ताभित्तामा आकर्षक लिपि कोरिन थालेका छन्। क्यालिग्राफी अर्थात् सुलेखन भन्नाले ब्रस, पेन वा आधुनिक डिजिटल उपकरण प्रयोग गरी सुन्दर अक्षरहरू सिर्जना गर्ने कला हो। यसमा अक्षर मात्र होइन, विभिन्न चिह्न, प्रतीक र रूपरेखाहरू पनि समावेश हुन्छन्।
क्यालिग्राफीको उत्पत्ति
सुलेखनको इतिहास निकै पुरानो छ। मिस्रको सभ्यतादेखि इस्लामिक जगतमा अरबी सुलेखन छ। त्यस्तै जापानको ‘सोडो’देखि संसारका विविध संस्कृतिहरूमा अक्षर कलाले उच्च स्थान ओगटेको देखिन्छ।
त्यतिबेलाका पाण्डुलिपि पनि यही सुलेखनको अध्याय रहेको जानकारहरू बताउँछन्। ‘पुराना धार्मिक ग्रन्थका सुन्दर अक्षरले भगवान्सँग जोडेको अनूभुति हुन्छ,’ सुलेखनको महत्त्व बुझाउँदै कर्ण भन्छन्, ‘अक्षर भनेको खबरको जानकारी दिने मात्र हैन, मनलाई आनन्द दिने माध्यम पनि हो।’
अक्षरको सौन्दर्यले केवल आँखालाई तृप्त पार्दैन, यसले मानिसको भावना र सोचमा पनि प्रभाव पार्छ।
विशेषगरी धार्मिक वा सांस्कृतिक प्रतीकका रूपमा लेखिएका सुन्दर अक्षरहरूले समुदायमा गर्व र पहिचानको भावना जगाउने उनको बुझाइ छ।
इस्लामिक सभ्यतामा कुरानमा सुलेखन कला अझै जीवित छ। त्यस्तै युरोपमा मध्ययुगका मठहरूमा ‘म्यानुस्क्रिप्ट इलुमिनेसन’ मार्फत अक्षरलाई चित्रकलासँग मिलाएर सजाइन्थ्यो। विश्वका थुप्रै देशहरूमा क्यालिग्राफी केवल सजावट होइन, सांस्कृतिक पहिचानको मेरुदण्ड रहेको बझ्न सकिन्छ।
नेपालमा क्यालिग्राफीको इतिहास लिपिसँग जोडिएको छ। यसको इतिहास कोट्याउँदा काठमाडौं उपत्यकामा नेवार समुदायले प्रयोग गर्ने रन्जना लिपिलाई लिन सकिन्छ। ‘रन्जनाको अर्थ आनन्द हो,’ क्यालीजात्राका आनन्दकुमार महर्जन भन्छन्, ‘पछिल्लो समय हामी यो लिपिको प्रचारप्रसारमा जुटेका छौं।’
यसबाहेक मुलुकमा रहेका अन्य जाजातिले बोल्ने भाषा लिपिहरूको पनि सौन्दर्यमा जुटेको उनले सुनाए। सुन्दर लिपिहरू फन्टको रुपमा डिजिटल माध्यममा प्रयोग हुन थालेको उनले बताए। ‘डिजिटल प्रविधिमा पनि सुलेखन मरेको छैन,’ उनी भन्छन्, ‘रुप केही फरक भएको छ तर सुन्दरतमा कमी आएको छैन।’
युनिकोड फन्टहरू (जस्तै मंगल, आनन्द) ले नेपाली भाषालाई डिजिटल जगत्मा सशक्त उपस्थित गराए पनि यी फन्टहरू स्वयं सुलेखनको आधारमा तयार हुन्छन्। डिजिटल युगमा पनि सुलेखनको आवश्यकता उस्तै छ।
नेपालमा सुलेखन प्रवर्धन गर्ने प्रमुख समूहहरूमा क्यालिजात्रा, क्यालीग्राफी लगायत छन्। सुलेखन संस्कृतिको संरक्षण र प्रवर्धनमा अग्रणी यी समूह रञ्जना, देवनागरी जस्ता लिपिहरूको पुनरुत्थानमा केन्द्रित छन्। ‘नेपालमा धेरै सुन्दर र विशिष्ट कलात्मक लिपिहरू छन्। हाम्रो समुदायले क्यालिग्राफीको क्षेत्रमा ठुलो योगदान दिएको छ र यसलाई जोगाउन अत्यन्त जरुरी छ।
विशेषगरी रञ्जना लिपि अत्यन्तै सुन्दर छ,’ क्यालिजात्राका संस्थापक महर्जन भन्छन्, ‘ हामीले भारतको टाइपफेस कम्पनीसँग सहकार्य गरेर नित्य रञ्जना नामक सुन्दर फन्ट विकास गरेका छौं, जसले अन्तर्राष्ट्रिय डिजाइन पुरस्कारहरू जितेको छ। यो नेपालका लागि गौरव हो।’
पछिल्लो समय सुलेखनका लागि उत्सवहरू पनि सञ्चालन गर्दै आएको उनले सुनाए। क्यालिजात्राले कार्यशाला, प्रदर्शनी र सामुदायिक शिक्षणका माध्यमबाट आधुनिक पुस्तालाई परम्परागत लिपिहरूसँग जोड्ने प्रयास गदै आएको महर्जनले बताए।
यस्तै क्यालिग्राफी नेपालले नेपालमा सुलेखन कलाको संरक्षणमा समर्पित क्यालिग्राफर र कलाकारहरूको नेटवर्क निर्माण गरेको संस्थापक कर्ण भन्छन्।
परम्परा र प्रविधिको सहकार्य
डिजिटल युगले सुलेखन कला हराउने खतरा मात्र छैन, यसले नयाँ अवसर पनि दिएको छ। नेपाली परम्परागत लिपिहरूलाई डिजिटल फन्टमा रूपान्तरण गरेर विश्वभरिका डिजाइनर र टाइपोग्राफरलाई उपलब्ध गराउन सकिन्छ। त्यस्तै भर्चुअल कार्यशाला र कोर्स युवालाई सुलेखन सिकाउने अवसरको रुपमा प्रयोग गर्न सकिन्छ।
सुलेखन केवल सुन्दर अक्षरको कला होइन, यो संस्कृतिको आत्मा पनि हो। ‘सुलेखनलाई ग्राफिक डिजाइन, ब्रान्डिङ, इन्टेरियर डेकोर र फेसनमा प्रयोग गरेर नयाँ बजार सिर्जना गर्न सकिन्छ,’ क्यालीजात्राका महर्जन भन्छन्, ‘योसँगै यसको महत्त्व झनै बढ्ने विश्वास हामीले लिएका छौं।’
प्रकाशित: २८ श्रावण २०८२ १३:०५ बुधबार