आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती देशभर तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। भानुभक्त भाषा, साहित्य र संस्कृतिमार्फत नेपालको एकीकरण गर्ने स्रष्टा हुन्। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठुलो गुन लगाएका छन्।
१८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले उनी रामायणलाई नेपालीमा भावानुवाद गर्न प्रेरित भएको बताइन्छ। उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति प्रकाशित छन्। उनले नेपाली भाषामा भावानुवाद गरेको ‘रामायण’ पाठ गरी घरघरमा भानुजयन्ती मनाइन्छ। यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले सोमबार विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाएका छन्। यस सन्दर्भमा भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत संघसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन्। भानुजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ।
भानुभक्त आचार्य मूलत: रामभक्तिरसका आध्यात्मिक दार्शनिक कवि हुन्। उनका रामायणलगायत काव्यमा आध्यात्मिक दार्शनिक चिन्तनयुक्त आदर्शको शिक्षा पाइन्छ भने फुटकर कवितामा गरिएको व्यंग्यमा समाज सुधारको चेतना पाइन्छ। उनी नेपाली भाषाको सहजताभित्रैबाट संस्कृत छन्दलाई नेपालीकरण गरी जातीय छन्दका रूपमा परिणत गराउने आशुकवि हुन्। उनका कविता, काव्यहरूले तत्कालीन अवस्थामा भाषिक सामर्थ्य र काव्यात्मक उचाइ प्राप्त गरेकाले उनलाई आदिकवि भनिएको पाइन्छ।
भानुभक्तले पद्य साहित्यमा मात्र कलम चलाएका छन्। पद्य रचनामा लाग्ने प्रेरणा घाँसीबाट पाएको भनिए पनि उनका प्रेरक व्यक्तित्व आफ्ना हजुरबुबा नै हुन्। उनको प्रथम पद्य रचना शिखरिणी छन्दमा लेखिएको १० हरफे ‘जन्मपत्रिकाको बयान’ हो भने अन्तिम कविता बिरामी अवस्थामा छोरा रमानाथलाई लेख्न लगाएको ‘रामगीता’को अनुवाद हो। भानुभक्तको लगभग तीन दशकको कविता यात्रामा उनले एउटा महाकाव्य, चार काव्य र तीन दर्जनभन्दा बढी फुटकर कविता सिर्जना गरेर तत्कालीन अवस्थामा नेपाली साहित्यको सिर्जन परम्परालाई उर्वर र समृद्ध बनाए।
कवि मोतीराम भट्टले भानुभक्तका कृतिहरूको खोज–अनुसन्धान गरी उनका काम र रचनाको प्रशंसा गर्दै उनलाई ‘आदिकवि’को उपाधि प्रदान गरेका हुन्। उनका भनाइमा ‘गोर्खा भाषामा हुन त धेरै नामी कवि भानुभक्तभन्दा पैल्हे भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्।’ मोतीरामले भानुभक्तलाई आदिकविको उपाधि दिएपछि यस सम्बन्धमा खण्डनमण्डन प्रशस्त भए। यसरी खण्डनमण्डन गर्ने क्रम हालसम्म पनि कायमै छ। मोतीराम स्वयंले भानुभक्तलाई लेखनका रूपमा पहिलो कवि नभएको तर कवितात्मक प्रभाव एवं कविताको सशक्तीकरणका आधारमा उनी आदिकवि नै रहेको स्विकारेका छन्।
भानुभक्त आचार्य नेपाली आस्था, संस्कृति, भाषा र जातीय एकताका धरोहर कवि हुन्। उनका कतिपय रचनामा व्यक्त विचार आजका सन्दर्भमा असान्दर्भिक र आलोच्य भए पनि काव्यात्मक मूल्यले तिनलाई जीवित बनाएका छन्।
भानुभक्तसँग जोडिएको र विवादित रहेको अर्को पक्ष घाँसी–प्रेरित सन्दर्भ पनि हो। त्यसबेला कुवा खन्ने, पाटीपौवा निर्माण गर्ने र परत्र सपार्ने कुराको प्रचलन भए पनि घाँसको क्रय–विक्रय हुने प्रचलन थिएन। पशुपालन र कृषिकर्म मुख्य जीविकोपार्जनको आधार भए पनि सबैका खेतबारीमा घाँस जति पनि हुने हुँदा ग्रामीण समाजमा घाँस बेचेर जीविकोपार्जन गर्ने चलन भने थिएन। त्यसैले घाँसीको प्रेरणात्मक प्रसंग तथ्यपूर्ण छैन भन्ने तर्कसमेत गरिन्छ। तर्क जेसुकै गर्न सकिन्छ तर भानुभक्त सशक्त कवि हुन्, रामायणजस्तो सर्वाधिक प्रभावपरक कृतिका सर्जकले कहाँबाट प्रेरणा पाए भन्ने कुरामा विवाद गर्नु गौण कुरा हो।
भानुभक्तलाई अहिलेको समाजका आँखाले हेरेर हुँदैन। उनी तत्कालीन समाजकै उपज हुन्। तत्कालीन समाजको चेतनाअनुसार नै भानुभक्तका कविता, काव्यहरू संरचित छन्। भानुभक्त आध्यात्मिक मानवतावादका पक्षमा रहेकाले उनको लोककल्याणको पक्ष धार्मिक, आध्यात्मिक एवं नैतिक धरातलबाट सिञ्चित छ। नेपाली कवितामा पूर्वीय चिन्तन वा जातीय चिन्तनको उच्चतम अभिव्यञ्जना भानुभक्तका कृतिमा पाइन्छ। उनले नेपाली समाज र दर्शनलाई जोड्ने काम गरेकाले उनी हाम्रा राष्ट्रिय र जातीय महत्वका कवि हुन्।
‘वधूशिक्षा’ भानुभक्तको प्रसिद्ध मौलिक कृति हो। यो कृति काठमाडौंबाट तनहुँ घरतर्फ जाँदा बाटामा पर्ने आफ्ना मित्र तारापतिका घरमा वास बस्दा सासूबुहारीको झगडा सुनेर लेखिएको भनिन्छ। बुहारीहरूलाई असल बनुन् भनेर उपदेश दिइएको यस काव्यमा परम्परावादी नेपाली समाजको आदर्शलाई अगाडि राखेर बुहारीहरूको कर्तव्य र दिनचर्याबारे उपदेश दिइएकाले यसमा नीतिचेतना प्रबल रूपमा अभिव्यक्त छ।
आजका सन्दर्भमा भने भानुभक्तको ‘वधूशिक्षा’मा उल्लिखित उपदेश हास्यास्पद र कठोर साबित हुन्छ तथा यसले भानुभक्तको नारीप्रतिको साँघुरो धारणालाई प्रकट गर्छ। ‘वधूशिक्षा’लाई अहिलेका सन्दर्भबाट होइन, तत्कालीन सन्दर्भबाट हेर्दा यसमा व्यावहारिक जीवनको आदर्श प्रस्तुत गरिएको र एउटा आदर्श परिवार निर्माण गर्न लेखिएको काव्यका रूपमा बुझ्नुपर्छ। त्यसबेला स्तरीय नेपाली भाषामा आध्यात्मिक एवं नेपाली समाजको यथार्थ कविता लेखिनु नै ठुलो कुरा थियो। त्यसबेला नेपालीमा कविता लेख्नु असभ्यता मानिन्थ्यो र लेखिएका कवितामा पनि यस किसिमको काव्यात्मकता एवं सरल, सहज र सुललित भाषाको प्रयोग पाइँदैनथ्यो। भानुभक्तका कविता काव्यमा पाइने विशेषता यही नै हो। यही कारण भानुभक्त प्राथमिककालका प्रतिनिधि कवि बन्न सफल भएका हुन्।
निष्कर्षमा भानुभक्त आचार्य नेपाली आस्था, संस्कृति, भाषा र जातीय एकताका धरोहर कवि हुन्। उनका कतिपय रचनामा व्यक्त विचार आजका सन्दर्भमा असान्दर्भिक र आलोच्य भए पनि काव्यात्मक मूल्यले तिनलाई जीवित बनाएका छन्। भानुभक्त र उनका कृतिलाई वर्तमान आँखाले होइन, तत्कालीन युगसापेक्ष दृष्टिले हेरेर मूल्यांकन गर्दा उनका रचना आफ्नो युगका विशिष्ट प्राप्ति हुन्।
प्रकाशित: ३० असार २०८३ ०८:१३ मंगलबार





