खोटाङका शिक्षकको कुटपिट गरि हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
अघिल्लो विहान कुटपिटबाट केपिलासगढी गाउँपालिका-७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको निधन भएपछि अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्।
प्रहरीले पक्राउको नाम ठेगाना सार्वजनिक गरिनसकेको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए। घटना भोजपुरको भएकाले भोजपुरकै प्रहरीले नियन्त्रणमा लिएकाले यसबारे सबै जानकारी नआईपुगेको अध्यक्ष राईले बताए।
भोजपुरको प्रसिद्ध किरात मुन्दुमस्थल तथा धार्मिक पर्यटकीयस्थल सालपा पोखरी दर्शन गएका शिक्षक राईमाथि बिहीबार राति बास बसेको ठाउँमा निर्धात कुटपिट भएको र त्यही कारण शुक्रबार उनको निधन भएको बताइएको छ। सुर्य माविका प्रधानाध्यापक ललितचन्द्र राईलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार लगातार ३ दिन विद्यालय बिदा हुने भएपछि विदाको सदुपयोग गर्न भन्दै उनी परिवारसहित बिहीबार गाउँबाट हिडेका थिए।
शुक्रबार परेको जनै पूर्णिमा मुन्दुमीस्थल सालपा पोखरीमा लाग्ने ठूलो मेला भर्ने उदेश्यले श्रीमतिसहित शिक्षक राई सालपा पुगेका थिए। तर, त्यही बास बसेको ठाउँमा राईमाथि मध्येराति कुटपिट भएको र त्यसकै कारण ज्यान गएको खबर आएको प्रधानाध्यापक राईलाई उद्धृत गर्दै अध्यक्ष राईले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले घट्ना पुष्टि गर्दै घटनास्थल भोजपुर जिल्ला भएकाले उतैको प्रहरीले अनुसन्धान गरिरहेको बताए। घटनास्थल दुर्गम र पैदल हिडेर जानुपर्ने तथा टेलिफोन नेटवर्ककसमेत नलाग्ने ठाउँ भएकाले विस्तृत जानकारी लिनै नसकिएको उनले बताए।
सालपा पोखरी दर्शन गर्न सुङ्देलबाट परिवार र आफन्तजनसहित गएका राईमाथि कुटपिट गर्ने आफ्नै गाउँका छिमेकी भएको बताइएको छ। गाउँपालिका अध्यक्ष राइका अनुसार पुरानै रिसइवीका कारण घटना भएको प्रारम्भिक जानकारी आएको छ।
प्रकाशित: १३ भाद्र २०८३ १२:१५ शनिबार



-600x400.jpg)

