एक समय थियो, जहाँ चलचित्रको पोस्टरमा रेखा थापाको उपस्थितिले मात्र सिनेमाघरमा भिड हुने गर्थ्यो। उनको चलचित्रमा खासै हिरो ‘पुरुष’ को आवश्यकता नै नचाहिने खालको शैलीको निर्माण भएको थियो। उनी आफूलाई हरेक पात्रमा सशक्त भूमिकामा प्रस्तुत गर्थिन।
पर्दामा खलनायकसँग लड्ने होस वा आकर्षक महिलाको भूमिकामा उनी प्रस्तुत हुन सक्थिन्। रेखा चलचित्रबाट टाढीएसंगै उनको उक्त प्रवृत्ति पनि हराउँदै गएको छ। चलचित्रमा महिलालाई हाल लाचार, असहाय चित्राउने प्रवृत्ति बढ्दै गएको छ।
अभिनेत्रीलाई त्याग, प्रेम, बिचरी तथा कमजोर प्रस्तुत गर्ने रुझान बढ्दो छ।
चलचित्र उद्योगमा पछिल्लो केही वर्षदेखि सिनेमामा महिलालाई कथाको आकर्षणका रूपमा मात्र प्रस्तुत गरिँदै आएको देखिएको छ। चलचित्र बिकाउन हिरो चाहिन्छ, र हिरो ‘पुरुष’ नै हुनु पर्ने भन्ने भाष्य निर्माण थियो। तर साल २०८३ देखि प्रदर्शनमा आएको केही चलचित्र जस्तै ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘लालीबजार’ जस्ता चलचित्रले हिरोको भूमिकामा अभिनेत्रीले सशक्त पात्रमा प्रस्तुत गरेर केही वर्षदेखि चल्दै आएको भाष्यलाई परिमार्जन गरेको छ। यी तीन चलचित्रमा महिलालाई कमजोर होइन, मजबुत देखाइएको छ।
महिला पात्रले घरको सम्पूर्ण जिम्मेवारी बोकेको देख्न सकिन्छ। उदाहरणको लागि वर्षको सर्वाधिक कमाउने चलचित्र लालीबजार जसमा स्वस्तिमा खड्काको मुख्य भूमिका छ। सिनेमाले वादी समुदायकी एक महिलाले आफ्ना सन्तानको पालनपोषण र शिक्षाका लागि गरेको सङ्घर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले शिक्षाको ज्योतिले पार्ने प्रभाव तथा सामाजिक विभेद र कुप्रथाविरुद्ध आवाज उठाएको छ।
त्यसैगरि चलचित्र ‘एक मुठ्ठी बादल’ मा आँचल शर्माले ‘माइली’ को भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारी र त्यससँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा र महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रणका चलचित्रले प्रस्तुत गरेको छ।
चलचित्र ‘गुरु आमा’को शीर्ष भूमिकामा मिथिला शर्मा रहेकी छन्। किशोर, किशोरी कसरी दुर्व्यसनमा फस्छन्, सन्तान बिग्रनुमा सङ्गत र अभिभावक कत्तिको जिम्मेवारी हुन्छन् भन्ने, विषय कथा केन्द्रमा राखी बनाइएको छ। शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धमा सुधार ल्याउने किसिमको रहेको चलचित्रले जनाएको छ।
प्रकाशित: २९ जेष्ठ २०८३ १७:४९ शुक्रबार





