१६ चैत्र २०८० शुक्रबार
कला

कला संरक्षणमा जुट्दै करफोक

इलामको करफोक विद्या मन्दिरमा आफूले सिकेको राग प्रस्तुत गर्दै सूर्याेदय नगरका सामुदायिक विद्यालयका विद्यार्थी।

कलाका माध्यमबाट मौलिक संस्कृति जगर्ना गर्ने उद्देश्यले सूर्याेदय नगरपालिकाको सामुदायिक विद्यालयका विद्यार्थीलाई विभिन्न छ विधाका कला सिकाइएको छ। देशकै उत्कृष्ट शैक्षिक केन्द्र बनाउने प्रयास भइरहेको करफोक विद्या मन्दिरमा नृत्य, गायन, नाटक, बाँसुरी, मादल र गिटार सिकाइएको हो।

सांस्कृतिक संस्थानका सहजकर्ताको सहजीकरणमा नगरका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीले सात दिनको प्रशिक्षण लिएका छन्। बाँसुरीमा १५, गिटारमा ३६, मादलमा १६, गायनमा २४, नृत्यमा ५६ र नाटक प्रशिक्षणमा २४ विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक गणेश निरौलाले जानकारी दिए।

‘मौलिक पहिचान बचाऔं, लोकसंस्कृति जोगाऔं’ भन्ने ध्येयसहित आयोजित प्रशिक्षणमा सहभागी उनीहरूले यो अवधिमा सिकेको कला बुधबार आयोजित समापन समारोहमा प्रस्तुतसमेत गरे। निरौलाले प्रविधिको तीव्रत्तर विकारले विश्व नै अहिले एउटा गाउँजस्तो भएका बेला नेपाली मौलिकता र संस्कृतिमा चौतर्फी आक्रमण भइरहेकाले त्यसलाई बचाउन विद्यार्थीलाई कला सिकाउन थालिएको बताए।

‘अहिले गाउँठाउँमा बाँसुरी, मादललगायत बाजागाजा बज्न छाडेका छन्, साकेला, रोदी र धाननाच पातलो भएको देखिँदैछ,’ उनले भने, ‘कलाका माध्यमबाट यी र यस्ता संस्कृति, मौलिकता संरक्षण गर्न विद्यालयबाटै प्रयास गर्दै बालबालिकालाई कला सिकाइएको हो।’ यो पहिलोपटक सात दिनको प्रशिक्षण सम्पन्न भएपनि करफोक विद्या मन्दिरमा चाहिँ संगीतको कक्षा निरन्तर चल्ने उनले बताए।

बालबालिकालाई संगीत साधना गर्ने बानी बसाउँदा पढाइमा पनि त्यस्तै मेहनत गर्ने बानी बस्ने संकेत देखिएको पनि प्रअ निरौलाले बताए। करफोक विद्यालय व्यवस्थापन समिति अध्यक्षमा संगीतकार÷गायक भूपेन्द्र राई चयन भएपछि उनले नगरमै पहिलोपटक सामुदायिक विद्यालयमा संगीत प्रशिक्षण कक्षा सञ्चालन गर्ने अवधारणा ल्याएका हुन्।

विद्यालयले सूर्योदय नगरपालिकासँग यसबारे अनुरोध गरेपछि मेयर रणबहादुर राईले पनि साथ दिए। ‘अहिले एकेडेमिक रूपमा विद्यालयहरूमा संगीत कक्षा सञ्चालन भएको पाइँदैन,’ विद्यालय अध्यक्ष भूपेन्द्रले भने, ‘सामुदायिक विद्यालयको आधारभूत तहमा संगीतको कक्षा सञ्चालन गर्नेबारे नगरपालिकासँग छलफल पनि हुँदैछ।’

विद्यालयमा कला प्रशिक्षणका लागि यसै विद्यालयका पूर्वविद्यार्थी तथा देशमै पहिलोपटक बाँसुरीमा स्नातकोत्तर गरेका दुर्गाप्रसाद खतिवडाले पनि सघाए। भूपेन्द्र र दुर्गाप्रसादकै पहलमा करफोक विद्यालयमा संगीत साधनाको वातावरण बन्दैगएको हो। प्रशिक्षणमा खतिवडाले बाँसुरी, अध्यक्ष राईले गिटार, रामभजन कामतले नाटक, तीर्थ पौड्यालले गायन, माया थापाले नृत्य र नरेश प्रजातिले मादलको कक्षा सहजीकरण गरेका थिए।

अध्यक्ष राईले विशेषगरी मादललाई सिकाइमा प्राथमिकता दिनुपर्ने बताए। ‘कम्तीमा पनि विद्यालयको प्रार्थनामा दिनहुँ गाइने राष्ट्रगान मादल र हार्मोनियम बजाएर प्रत्यक्ष गाउन सक्ने हुनुपर्छ,’ उनले भने, ‘मौलिक संस्कृति र कला बाँचेमात्रै देश बच्ने भएकाले कला देशको अमूल्य निधि हो।’ उनले करफोकमात्र नभइ देशका सबै सामुदायिक विद्यालयमा संगीतको पाठ्यक्रम विकास गर्नसके त्यसले कला–संस्कृति संरक्षण र बालबालिकाको पढाइमा समेत सकारात्मक प्रभाव पार्ने बताए।

प्रकाशित: २ कार्तिक २०७९ १२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App