१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

महाभारतमा के छ? महाभारतमा के छैन?

पुस्तक

सामान्य अर्थमा पुरस्कार, सम्मान, अभिनन्दन, मानपदवी कुनै पनि व्यक्ति, व्यक्तित्व, कृति र कृतित्वको सम्मान र कदर हो। समाजमा कुनै राम्रो र अनुकरणीय काम गरेबापत राज्यले अथवा समाजले त्यस्ता व्यक्तिलाई सोको कदर स्वरूप पुरस्कार, सम्मान अथवा अभिनन्दन प्रदान गर्ने प्रचलन छ। विभिन्न साहित्यिक संघसंस्थाले नित्य सो गर्दै आएका छन्, भलै उनीहरूका आआफ्ना सीमा र बाध्यताहरू होलान्। त्यसको अलग्गै बहस हुन सक्छ।

विश्वमा ठुल्ठुला पुरस्कारहरू पनि विवादमा तानिएका छन्। सन् १९०१ देखि वितरण गरिएको नोबेल शान्ति पुरस्कार प्रायःजसो विवादमै तानिन्छ। यहाँसम्मकी २००९ मा उक्त पुरस्कार पाएका बाराक ओबामाले २०२० को आफ्नै आत्मबृतान्तमा उक्त पुरस्कार आफूलाई किन दिइएको होला भनेर लेखे। त्यसो त, विश्व इतिहासमा अहिंसात्मक आन्दोलनकै अगुवा महात्मा गान्धीलाई सो पुरस्कारका लागि ५/५ पटक मनोनयन गरियो तर दिइएन। अझै साहित्यतर्फको नोबेल पुरस्कार सन् १९०१ मैँ महान् साहित्यकार लियो टाल्सटयलाई नदिएर फ्रान्सेली कवि प्रधोम्मलाई दिइएकोमा विवाद चर्किएको पाइन्छ। पछि सन् १९६४ मा फ्रान्सेली साहित्यकार जाँ पार्ल सात्र्रले उक्त पुरस्कार ठाडै अस्वीकार गरे र भने– उनलाई कुनै पनि पुरस्कार, सम्मान तथा अभिनन्दन ग्रहण नगर्ने व्यक्तिगत स्वतन्त्रता छ। पछि उनको परिवारले उनको देहावसानमा राज्यले अन्त्येष्टिका लागि दिएको सुविधासमेत लिन मानेनन्।

मदन पुरस्कारसित पनि थुप्रै रमाइला र विवादित किस्साहरू छन्। वरिष्ठ साहित्यकार परशु प्रधानले त्यसलाई रद्दी पुरस्कारमध्ये एक भनेका छन्। साहित्यकार हरि अधिकारी दीक्षित परिवारको बक्सिस भन्छन्। त्यस्तैत्यस्तै भन्ने राजन मुकारुङले भने आफूले उक्त पुरस्कार पाएपछि बोल्न छाडे भनिन्छ। त्यसो त, पुरस्कारकै लागि प्रकाशन गृह फेरिएको, कृति नछापिँदै पुरस्कृत गर्न लबिङ गरिएको आदि चर्चा पनि सुन्न पाइन्छ। कतिपय पुरस्कार, त्यसको सञ्चालक/संस्थापकका कारणले त कहिले कृति, स्रष्टा या उसको आचारणका कारणले पनि विवादमा तानिएका छन्। त्यसो त पुरस्कृत हुँदैमा राम्रो र नहुँदैमा कमसल भन्ने हुँदैन। भूपी शेरचन, माधव घिमिरे, विपी कोइरालालगायत थुप्रै अग्रज स्रष्टाले मदन पुरस्कार पाएनन् तर उनीहरूका उत्कृष्ट कृतिहरू सदा उत्कृष्ट नै रहिरहने छन्।

मदन पुरस्कारसित पनि थुप्रै रमाइला र विवादित किस्साहरू छन्। वरिष्ठ साहित्यकार परशु प्रधानले त्यसलाई रद्दी पुरस्कारमध्ये एक भनेका छन्। साहित्यकार हरि अधिकारी दीक्षित परिवारको बक्सिस भन्छन्। त्यस्तैत्यस्तै भन्ने राजन मुकारुङले भने आफूले उक्त पुरस्कार पाएपछि बोल्न छाडे भनिन्छ। त्यसो त, पुरस्कारकै लागि प्रकाशन गृह फेरिएको, कृति नछापिँदै पुरस्कृत गर्न लबिङ गरिएको आदि चर्चा पनि सुन्न पाइन्छ।

यहाँ चर्चा गर्न खोजिएको प्रसङ्गचाहिँ नेपाली लेखक संघ, कास्कीले जन्मले अथवा कर्मले गण्डकी प्रदेशका स्रष्टाहरूका सांस्कृतिक, साहित्यिक तथा वाङ्मयिक महत्वका कुनै एक उत्कृष्ट सिर्जनालाई नगद राशीसहित लेखक कृति पुरस्कारद्वारा वर्षेनी पुरस्कृत गर्ने सन्दर्भमा केही समयअघि सम्मानित गरिएको ‘महाभारतमा के छ?’ नामक कृति र उक्त कृतिका सर्जक डा. मतिप्रसाद ढकालको सेरोफेरोमा केन्द्रित छ। साँच्चै, महाभारतमा के छ? महाभारतमा  

के छैन?  

वर्षौँ अघि संरक्षण कविता आन्दोलनको कार्यक्रम थियो, मौलाकालिका मन्दिर परिसरमा। त्यहीँ गयौँ, त्यहीँ बस्यौँ र त्यतै कविता लेखेर सुनायौँ। भोलिपल्ट हुनुपर्छ, गैँडाकोटमा एउटा कलेजमा छोटो समयको एउटा सेमी–औपचारिक खाले कवि गोष्ठी भयो। त्यहाँ यताबाट गएका र त्यहाँका स्थानीय केही साथीहरूले आआफ्ना कविता सुनायौँ। त्यहीँ सुनेको हुँ मैले कवि मतिप्रसाद ढकाललाई। पोखरा फर्कने हतार थियो। सुनेँ मात्रै अथवा भेटेर कुरा पनि गरेँ; याद छैन।

साहित्यिक भेटघाट र चिनजान नि अचम्मको हुन्छ। कसैलाई चिन्न, बुझ्न र जान्न भेट्नै पर्दैन। तपाईंलाई दूरदराजमा बसेर कतिले नदेखी, नभेटी, नबोली पनि तपाईसित संवाद गरिरहेका हुन्छन्; चिनिरहेका हुन्छन्; जानिरहेका हुन्छन्। त्यो तपाईंलाई पत्तै हुँदैन। यसैगरी मैले चिनेजानेको नेपाली साहित्य, भाषा, व्याकरण र अझै खासगरी पूर्वीय दर्शनको एकजना सच्चा पुजारीको नाम हो मतिप्रसाद ढकाल।

राम्रो र स्तरीय लेख्नेहरू पुरस्कारका पछाडि दौडिन्नन् र लोभ पनि गर्दैनन् पुरस्कारको। जोजो पुरस्कारकै पछिपछि मात्रै दौडिन्छन्, तिनीहरूले उत्कृष्ट सिर्जना दिने सामथ्र्य पनि कम राख्छन् भन्ठान्छु म। सर्जकलाई आफ्नो सिर्जना र पाठकीय प्यारभन्दा ठूलो पुरस्कार अरू हुनै सक्दैन। यस्तै मेलोमा डा. मतिप्रसाद ढकालको तेह्रौँ कृति ‘महाभारतमा के छ?’ लाई लेखक कृति पुरस्कार २०७७ अर्पण गर्ने निर्णय सार्वजनिक भएको केही दिनमै उनका अन्य कृति पढेका या उनको पठन संस्कृतिको मोहप्रति जोडिएका र यही कृति पढेका यति धेरै शुभेक्छुक र पाठकहरूको शुभेक्षा विभिन्न माध्यमहरूबाट यो पंक्तिकारले समेत प्राप्त गरेको छ, छनौट समितिमा भएकै नाताले। साँच्चै, कहिलेकाहीँ पुरस्कृत कृति र पात्रका नाताले पुरस्कार नै पुरस्कृत हुँदो रहेछ।  

नेपाल संस्कृत विश्वविद्यालय, कालिका विद्यापीठ, गैँडाकोटका सहप्राध्यापक डा. ढकालका पठन संस्कृति अभियानका नाममा थुप्रै शृङ्खलाहरू युट्युबमा पनि भेटिन्छन्; जहाँ उनी कहीँ स्वास्थ्य सूत्रका कुरा गर्छन्, कहीँ चाणक्य नीतिका कुरा गर्छन्। योगी नरहरिनाथका कुरा पनि गरिरहेका हुन्छन्; खप्तड बाबाका कुरा पनि गरिरहेका हुन्छन्; सँगै संस्कृत भाषा साहित्य र व्याकरणको कुरा पनि गर्छन्। उनलाई नेपाली शुद्ध नलेखिएकोमा सारै चिन्ता छ। संस्कृत भाषा र व्याकरणका ज्ञाता उनी संस्कृतका अलावा कहिले नेपाली पाठ्यपुस्तकभित्रका समस्या त कहिले साहित्यका दुर्लभ र महत्वपूर्ण कृतिमाथि सार्वजनिक बहस चलाइरहेका हुन्छन् सामाजिक मेडियाहरूमा। उनलाई चिन्नेहरू भन्छन्– उनी दूरदराजमा बसेर आफ्नो काम एकोहोरो गरिरहने, दुनियाँको चियो, चर्चो र चासो नराख्ने तर अन्याय नसहने कडा मिजासका असल मान्छे हुन्।

यहाँ चर्चा ‘महाभारतमा के छ?’ को हो। यस कृतिमा महाभारतका विभिन्न प्रसङ्ग, सन्दर्भ तथा त्यहाँका कथानकहरू समेटिएका १५५ वटा नीतिप्रधान निबन्धहरू छन्। अल्पज्ञानबाट त्रासदेखि धर्मको संरक्षणसम्मका उनका निबन्धहरूमा अतृप्त यौवन, भीष्म प्रतिज्ञादेखि द्रौपदीको चित्कारसम्म देख्न सुन्न सकिन्छ। शकुनीको चाल, नल र दमयन्तीको पुनर्मिलन, गालवको गुरुदक्षिणा, दुर्योधनको अवसान, मृत्युको उत्पत्ति र ममताको मृत्यु सबैसबै अनुभूत गर्न सकिन्छ। त्यसो त, महाभारतलाई केन्द्रमा राखेर विश्व साहित्यमा थुप्रै कृतिहरू प्रकाशित छन्, थुप्रै खोज–अनुसन्धान भएका छन्।  

भनिन्छ, दुनियाँमा भएका सबै कुरा महाभारतमा छन्। यसैलाई उल्ट्याएर यसो पनि भनिन्छ– महाभारतमा नभएको कुरा दुनियाँमा केही छैन। बाह्य रूपमा हेर्दा महाभारत मानव जीवनमा नित्य घटित भइरहने दृश्यावलीको विश्वकोश हो। त्यस मानेमा, महाभारतमा नभएको, नलेखिएको या सङ्केत नगरिएको कुनै विषय छैन। मलाई कसैले यौटा मात्रै कृति पढ्दा के पढ्ने भन्यो भने म महाभारत भन्छु। कसैले महाभारत पूरै पढेको छु अथवा बुझेको छु भन्यो भने एकाध पात्र छाडेर शङ्कै लाग्छ। यो एउटा मानव जुनीमा पढेर पूरै बुझ्न त्यति सहज छैन।  

परम्पराले महाभारतलाई इतिहास पनि भनेको छ। प्रचलित भाषामा इतिहासको भिन्न अर्थ लाग्छ। आधुनिक इतिहासमा तिथिमितिको बडो महत्व हुन्छ। यस्तोमा इतिहासको सोझो तात्पर्य हुन्छ– सधैँ भइरहने कुरा। महाभारतमा यस्तै नै सधैँ भइरहने घटनाहरूको साहित्यिक दृश्यावली छ।

महाभारतले आफूलाई पुराण भन्न पनि चाहेको छैन। लोकगाथाले भरिएको महाभारतले पुराणभन्दा ज्यादा सघन रूपमा मानवीय स्वभाव चित्रण गरेको छ। परमेश्वर भनिएका कृष्ण पनि मुख्यतः मानिसका रूपमा महाभारतमा प्रकट हुन्छन्। कृष्ण अलौकिक त छँदै छन्। कृष्ण एकमात्र अलौकिक छैनन्। महाभारतका अधिकांश प्रमुख पात्रहरूको जन्म र मृत्युको कथा अलौकिक छ। म जतिजति पटक यसका कथाहरू पढ्छु; सुन्छु; उतिउति उत्साहित हुन्छु यसको विराट आयामप्रति। एउटा मानव जीवन अपर्याप्त छ, महाभारतलाई आंशिक रूपमा बुझ्न पनि। एक त महाभारतको सर्वमान्य संस्करण छैन। दोस्रो मुद्रित र प्रकाशित कृतिले भन्दा लोकगाथाले महाभारतलाई जीवन्त बनाएको छ। मुद्रित महाभारतमा नभएका तर लोकमा प्रचलित रहेका थुप्रै कथा छन्। त्यस्ता कथाले कृष्ण, कर्ण, भीम र द्रौपदीको व्यक्तित्वलाई अजरअमर बनाएका छन्। यस्तो विराट आयामका पात्र, परिवेश र कथानकहरूबाट केही नैतिक चेतना टिपेका छन् डा ढकालले। त्यहाँ महाभारतको सुगन्ध छ। आइन्स्टाइन भन्छन्, ‘जहाँ भौतिक ज्ञानविज्ञान सकिन्छ, हो त्यहीँबाट अध्यात्म सुरु हुन्छ।  

त्यही विराट आध्यात्मिक आयामका पूजारी बनेका छन् डा. ढकाल। म भन्दिन कि मात्रै यो कृतिको पठन र बोधले महाभारतको विराट आयामको स्पर्श सम्भव छ। तर यहाँ भएका नीतिपरक निबन्धहरूमा सकारात्मक सोच र ऊर्जा सँगालेर पढ्न, बुझ्न र आफ्नो जीवनमा अङ्गीकार गर्न सकियो भने जीवन सुन्दर र सार्थक हुने छ; समाज सुसंस्कृत हुने छ। म यस्ता पूर्वीय दर्शन र चिन्तनका मालीको आरोग्य, दीर्घ जीवन, सुखसमृद्धि र थप उत्तरोत्तर प्रगति तथा प्राज्ञिक उन्नयनको कामना गर्दछु।

adhikariim35@gmail.com

प्रकाशित: २४ वैशाख २०७९ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App