१९ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

कोही किन नारीवादी हुने?

‘कार्यक्रममको अन्त्यमा कसैलाई केही प्रश्न छ? यहाँहरूको मनमा लागेको नारीवादसम्बन्धी केही प्रश्न भए हाम्रा वक्तालाई सोध्न सक्नुहुनेछ,’ कार्यक्रम प्रस्तोताले यति भनेपछि उनको व्यक्तिगत जुम च्याटमा एउटा प्रश्न आएको रहेछ, प्रस्तोताले उक्त प्रश्न हामी तीनैजना वक्तालाई सोधिन्, ‘नारीवाद अहिले किन बदनाम भयो?’ २६ फेब्रुवरीमा ‘वुमन लिड नेपाल’ले आयोजना गरेको भर्चुअल कार्यक्रममा नारीवादभित्रको अन्तर्सम्बद्ध (इन्टरसेक्सनालिटी) को विषयमा आफ्नो विचार राख्ने मौका पाएकी थिएँ। उक्त कार्यक्रममा उपस्थित सहभागीबाट आएको प्रश्न हो यो।

कार्यक्रममा १८ देखि २६ वर्षसम्मका युवा समूहको उपस्थिति थियो। पुरुषको तुलनामा महिलाको बढी उपस्थिति रहेको उक्त कार्यक्रममा आएको यो प्रश्नले मनमा एउटा अर्को प्रश्न पैदा गर्‍यो– ‘कोही किन नारीवादी हुने?’

नारीवादीलाई पछिल्लो पुस्ताले कसरी बदनाम र गलत शब्दका रूपमा बुझेका छन्, अथवा बुझाइएको छ, यस विषयमाथि ध्यान दिनुपर्ने बोध भयो। सहभागीमार्फत आएको ‘नारीवाद अहिले किन बदनाम भयो?’ प्रश्नमा हामी तीनैजना वक्ताले आ–आफ्ना धारणा राख्यौँ। कार्यक्रम सकियो, तर मनमा सवालहरूको हुरी चल्न थाल्यो।

नारीवादी धारणा र अहिलेका नानीबाबुको हुर्काइको तौर तरिकामा हामीले ध्यान दिन आवश्यक छ। नारीवादलाई गलत तरिकाले व्याख्या गरेर पितृसत्तात्मक चिन्तनलाई यथावत् राखिरहन तत्पर केही विषाक्त मानसिकतालाई कसरी निर्मूल पार्ने लगायतका विचार बारबार मस्तिष्कमा डुबुल्की मार्छन्। यही क्षण मलाई चिमामाण्डा ङगोजी आदिच्येको ‘हामी सबै नारीवादी हुनुपर्छ’ र ‘डियर इजियावेले अर्थात् नारीवादी घोषणापत्रका लागि पन्ध्र सुझाव’ पुस्तकको सम्झना भयो, जसलाई भृकुटी राईले नेपालीमा अनुवाद गरेकी हुन्।

नारीवादको गलत व्याख्याले हाम्रो आउँदो पुस्ता कसरी प्रशिक्षित भइरहेको छ भन्ने सामाजिक सञ्जालमा अहिले छरप्रस्ट देख्न सकिन्छ। नारीवादीलाई खराब वा बदनाम शब्दको रूपमा बुझिरहेकाहरूलाई सही ज्ञान दिन यी पुस्तक उपयोगी ठान्छु।

आदिच्येले सन्तानलाई हुर्काउने क्रममा आमाछोरी बीचको सम्बन्धका महत्वपूर्ण पक्षलाई समेटेर १५ सुझाव दिएकी छन्। ती सुझावले नेपाली समाजको पनि चित्रण गर्छन्। लेखक नाइजेरियाकी भएकाले त्यहाँको समाज, महिलालाई हेर्ने नजर, संस्कार र महिलामाथिको विषाक्त चेतलाई बुझ्न र समस्या समाधान गर्न उनका पुस्तकले सिकाउँछन्। घरपरिवार, समाज हुँदै राज्यबाट महिला कसरी प्रताडीत छन् भन्ने यी पुस्तकमा आएका छन्।

महिला हुनुको पूर्णताको मानक सन्तान उत्पादनलाई दिने समाजलाई मातृत्वले मात्र एक महिला पूर्ण परिभाषा नमान्न उनले सुझाएकी छन्। जुन निकै महत्वपूर्ण विषय हो। महिला हुनुको पूर्णता ऊ आमा हुन सक्नु र नसक्नुसँग सम्बन्धित नरहेको उनको सुझावले प्रस्ट पार्छ। यस्तै सन्तानको लालनपालनमा आमासरह बुबाले पनि आफ्नो कर्तव्य निभाउन सक्छ र दिनुपर्छ भन्ने विषय पुस्तकमा उठाइएको छ। सन्तानको हुर्काइमा महिला–पुरुष दुवैको भूमिका उत्तिकै रहन्छ, आमाले जसरी बच्चाको स्याहार गरेकी हुन्छिन्, बुबाले पनि त्यसरी नै गर्नु जिम्मेवारी हो भन्ने पुस्तकमा सहज तरिकाले सम्झाइएको छ।

महिला भएकै कारण निभाउनुपर्ने कर्तव्य, राखिदिनुपर्ने मान, बचाइदिनुपर्ने इज्जतका विषय पुस्तकमा आएका छन्। जन्मनासाथ छोरा र छोरीमा गरिएको विभेद बालकले लगाउने कपडाको रंग र बालिकाले लगाउने कपडाको रंग, दुवैका खेलौना लगायतको माध्यमबाट पुस्तकमा देखाइएको छ। पछिल्लो समय नारीवादी विचार–दर्शनलाई ढुलमुल बनाउने हिसाबले भनिने ‘हल्का नारीवाद’बाट बच्न उनले सुझाएकी छन्। उनको तर्कसहितको सुझावले आफू ठिक्ककी नारीवादी हुँ भन्नेलाई सोच्न बाध्य बनाउँछ।

लेखकले दिएको महत्वपूर्ण सुझावमध्ये विवाहको विषय निकै विशेष छ। समाजले छोरीलाई विवाह हुनुमै पूर्णताको दर्जा दिन्छ। छोरीले अध्ययन गरोस्, प्रतिष्ठित जागिर गरोस् तर उसको उपलब्धि विवाह नगरी नहुने भन्ने सोच समाजमा देखिन्छ। उनले पूर्णताको अर्थ अथवा उपलब्धिका रूपमा विवाहलाई व्याख्या नगर्न सुझाएकी छन्।

छोरीलाई समाजले तोकेको दायराभित्र अटाउनका लागि कृत्रिम हुन प्रोत्साहित नगर्न पनि आदिच्येको सुझाव छ। छोरीमान्छे मिजासिली, फरासिली, सहनशील र ज्ञानी हुन्छ भनी छोरीलाई यस्ता उपनाममा नबाँध्न उनको सुझाव छ। छोरीलाई प्रश्न गर्ने र नाइँ भन्न सक्ने बनाउनुपर्ने उनको तर्क छ। छोरीको हिँडाइको चाल, हाँसो, बोल्ने हाउभाउ, पहिरन, उसले सुन्ने गीत, पढ्ने पुस्तक, खेलाउने खेलौना, कपालको लम्बाइदेखि हरेक कुरामा निगरानी गर्ने समाजमाथि प्रश्नात्मक चेत पैदा गर्न जरुरी रहेको घोषणापत्र छ।

नारीवाद भनेको मानव अधिकारभन्दा अलग वा फरक छैन, त्यसैको एक अंश हो। महिला भएकै कारण महिलाले परिवार, समाज, राज्यबाट भोग्नुपर्ने उत्पीडन, विभेद र अपमानका विरुद्ध आवाज उठाई पुरुष र महिलाबीच समानताको अवस्था ल्याउने एक वैचारिकी हो नारीवाद, यही विचारलाई सामाजिक रूपमा स्थापित गर्न सकियोस्, व्यवहारमा लागू गर्न सकियोस्।

यस्ता महत्वपूर्ण विषय बुझाउने आदिच्येका यी दुई पुस्तक हामीकहाँ विद्यालयको पाठ्यक्रममा समेत समावेश गरिनुपर्ने देखिन्छ। छोरीको योनिमा इज्जत थोपरेको समाजले छोरालाई खुलेआम मर्दगिरीको उपनाम दिएर हुर्काउने प्रवृत्तिमा परिवर्तन आउन जरुरी छ। सोच परिवर्तन हुन जरुरी छ। त्यसका लागि यस पुस्तकले सहयोग गर्नेछ।

प्रकाशित: १९ चैत्र २०७८ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App