लामो समयदेखि अस्ट्रेलियामा रहेर पनि नेपाली साहित्यलाई माया गर्दै आएका केशव शर्मा आफ्नो देश र माटोलाई समेटेर साहित्य लेख्ने साहित्यकार हुन्। पढ्नका लागि होस् या कामको सिलसिलामा होस् अस्ट्रेलियामा जाने विद्यार्थीका लागि उनले एउटा अभिभावक भएर भूमिका निर्वाह गरिरहेका छन्। साहित्यकार शर्मासँग गरिएको कुराकानीको सम्पादित अंशः
प्रवासबाट आफ्नो देश कसरी सम्झनु हुन्छ?
विदेशमा रहँदा देशप्रति बेग्लै माया र अनुभूति हुन्छ। बेग्लै किसिमको प्रेम हुन्छ। परिस्थितिले जहाँ पुर्याए पनि जुन पेशा गरेपनि मनमुटुमा देश नै बोकेर हिडिरहेका हुन्छौँ। नेपाल हाम्रो पहिचान हो। अस्तित्व हो, देशमा भन्दा विदेशमा गएपछि देशको प्रेम झन बढी हुने रहेछ। आफ्नो पहिचान भन्नु, कला, संस्कृति, भाषा र साहित्य हो। जहाँ रहेपनि हामीले आफ्नो माटो र पहिचानलाई न्याय गर्नुपर्छ।
विज्ञानको विद्यार्थी साहित्यमा कसरी आकर्षित हुनुभयो?
मलाई बाल्यकालदेखि नै साहित्यप्रति एकदम लगाव थियो। पछि इन्जिनियारिङ पढ्दै गर्दा एक समय साहित्य मर्दै गयो। विज्ञानमा लजिक हुन्छ भने साहित्यसँग भावना र मनको संवेग मिसिएको हुन्छ। यी दुई विच कताकता मेल नखाने हुनाले म साहित्यबाट टाढा भएको थिएँ।
कामको शिलशिलामा केही समय नेपालको दुर्गम क्षेत्रमा बसेँ। साहित्य सहर केन्द्रित हुन्थे। त्यसकारण साहित्य र मबिच केही समय दुरी बढ्यो। पछि अस्ट्रेलिया आएपछिआफ्नो देशप्रति झन माया बढ्यो। देशलाई माया गर्नु भनेको आफ्नो कला, साहित्य र संस्कृतिलाई माया गर्नु हो, त्यसकारण म फेरि साहित्यमा नै प्रवेश गरेँ। साहित्यको कारणले धेरै प्रवासी नेपालीहरूसँग नजिक बनायो। त्यसकारण मैले साहित्य सिर्जना गर्दा आफ्नो माटोको नजिक छु देशको नजिक छु जस्तो लाग्छ।
आफ्ना सुरुवाती दिन कसरी सम्झनुहुन्छ?
घरमा एक प्रकारको शैक्षिक वातावरण थियो। आफूभन्दा ठूला काका/बुवाहरूले राजधानी गएको बेलामा विभिन्न पत्रपत्रिका र किताव लिएर आउनुहुन्थ्यो। उहाँहरूले पढिसकेको किताब पत्रपत्रिकामा म पनि पढ्थेँ। त्यसैको प्रभावले साहित्यमा रुचि बढ्यो। साथै विद्यालय स्तरमा पढ्दा गीत गजल र निबन्ध लेख्थेँ, धेरै पटक विजय पनि भएँ, आफूभन्दा ठूला मान्छेको प्रेरणा र र हौसलको कारणले पनि मलाई साहित्य लेखनमा उर्जा मिल्यो। म अन्र्तमुखीको रहेकाले पनि साहित्यलाई माध्यम बनाएर आफ्ना पीडाहरू पोख्थेँ। यो नै मेरो साहित्य यात्राको सुरुवाती विन्दु हो।
अहिलेको नेपाली साहित्यको बजार कस्तो लाग्छ?
म लामो समयदेखि प्रवासमा रहेको कारणले नेपाली साहित्य बजारसँग खासै नजिक त छैन। र पनि भाइसाथीहरू नेपाल गएको बेलामा बजारमा आएका चर्चित किताबहरु किनेर ल्याउने प्रचलन छ।
साथै डिजिटल बुकसँगै अडियो बुकहरू सुनेर साहित्यको अध्ययन गछौँ। विदेशतिर नेपाली साहित्यको बजार बढ्दो छ। सामान्य पाठकहरूलाई कुन राम्रो साहित्य र कुन राम्रो प्रकाशन कुन प्रकाशन राम्रो होइन भन्ने कुराको जानकारी सजिलो छैन। अहिलेको डिजिटल मिडियाले पनि त्यही कुराको राम्रो सन्देश दिन सकेको छैन। सामाजिक संजाल र पत्रपत्रिकामा कमजोर किताबको पनि बलियो समालोचना गरिदिने र बलियो किताबको पनि आलोचना गरिदिने प्रचलनले असल पाठक अन्योलमा छन्।
तपाइँको विचारमा साहित्य के हो?
साहित्य सम्बन्धी सबैको आफ्नै विचार र धारणा हुन्छ। मनभित्रको उकुसमुकुस भएका भावना र पीडाहरूलाई शालीन रूपमा प्रस्तुत गर्नु नै साहित्य हो जस्तो लाग्छ। यसको माध्यमबाट अनुभव र अनुभूति अरू सामु पुर्याउन सजिलो हुन्छ। खासगरी विदेशमा रहँदा नेपाली जातिको पहिचानलाई साहित्यले एउटा महत्वपूर्ण योगदान गर्दछ।
पछिल्ला दिनहरू कसरी वितिरहेछन्?
विधागत रुपमा केही प्रकाशन नभए पनि फुटकर रूपमा साहित्य लेखिरहेको छु। खासगरी म गीतहरु लेख्ने गरेको छु। मलाई गीत लेख्न एकदम रमाइलो लाग्छ। पछिल्लो समयमा गजलहरू निकै लेख्ने गरेको छु साथै फुटकर कविताहरू पनि लेख्ने गरेको छु। कहिलेकाहिँ निबन्ध र नियात्राहरू पनि फाटफुट लेख्छु त्यसैगरी मुक्तक पनि लेख्छु फुटकर रूपमा सबैतिर हात हालिएको छ। निकट भविष्यमा काव्यसँग सम्बिन्धत केही लेख्ने प्रयासमा छु। साथै नियात्रातिर कलम चलाउने योजना रहेको छ।
वर्तमान अवस्थामा केही गीतहरु लेखिरहेको छु। एउटा गीति एल्वम् प्रकाशनमा आएको छ सपना हजार छ वटा गीत र गजलहरू छन् पाँच वटा गीत र एक वटा गजल रहेका छन्। सन्तोष श्रेष्ठको एकल संगीत र सञ्जीवनी, निशा देसार, राज सिग्देल, विश्व नेपाली आदि गायक गायिको स्वरमा गीतहरु रेकर्ड भएका छन्। पल्छिल्लो समयमा साष्टिय संगीतमा आधारित एउटा गजल छ। बेदनाको भेल पोखी सँगै रुन सकिएन। वजारमा आएका छन्।
गजल मुशायराको बारेमा केही बताउनुहुन्छ?
करिब आठ दश वर्ष अगाडि गजल लेख्न सुरु गरेँ र अस्ट्रेलियामा गजलमा विधामा कलम चलाउने सर्जकहरू थोरै सख्यामा छौँ। त्यही हिसाबले गजल लेख्ने क्रममा नै केही सर्जकहरूसँग चिनजान भयो भेटघाट भयो। र अस्ट्रेलिया एउटा औपचारिक किसिमको संजाल छ गजल मुशायरा त्यो ससँग जोडिन पुगेँ। खासगरी जितेन्द्र मल्लसँग जोडिए त्यही क्रममा अरू साथीहरु पनि जोडिए। गजलमुशायायराले मोती जयन्तीको अवसरमा गजल वाचन पनि गर्दै आएको छ।
आफ्नो नियमित दैनिकी र साहित्यलाई कसरी व्यवस्थापन गर्नुभएको छ?
हरेक कुराहरूलाई व्यवस्थापन गर्दा साहित्यलाई समय मिलाउन निकै गाह्रो हुन्छ। साहित्य यो समयमा लेख्छु भनेर लेख्न सकिदैँन लेख्नका लागि पनि माहोल हुन्छ। दुनियाँका सबै चीज भुलेर बस्यो र त्यो कुराले दिमागमा हानेपछि मात्रै राम्रो साहित्य हुन्छ। साहित्य लेख्नका लागि फुर्सद हुनुपर्छ जुन कुरा विदेशमा पाउन एकदम गाह्रो छ। विभिन्न कठिनाइहरू झेल्दै लेख्नुपर्छ। दुवैलाई सन्तुलन मिलाएर अगाडि बढिरहेको छु।
प्रकाशित: २१ फाल्गुन २०७८ १२:१२ शनिबार