आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सडक र सञ्चार समस्याप्रति राज्यको ध्यानाकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका–७ का वडा अध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमै धर्नामा बसेका छन्। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना थालेका रिजालले घुइयाबारी–स्वामीबास–बबई सडकको स्तरोन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभए पनि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन्।
उनका अनुसार सडकको दुरावस्थाले स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती खेप्न बाध्य छन्। सामान्य वर्षा हुँदा समेत सडक हिलाम्मे र अवरुद्ध हुने, बिरामी बोकेका सवारी बीच बाटोमै रोकिने तथा विद्यार्थी र सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहेको उनले बताए। ‘सडक छैन, फोनले काम गर्दैन। नागरिकले आधारभूत सेवा पाउन पनि संघर्ष गर्नुपरेको छ,’ उनले भने, जनताको आवाज सरकारले नसुनेपछि बाध्य भएर प्रदेश राजधानीमै धर्ना बस्न आएको छु।’
सञ्चार सेवा कमजोर हुँदा आपतकालीन अवस्थामा समेत स्थानीयले समस्या भोग्दै आएका छन्। मोबाइल नेटवर्क नपुग्ने कारण गाउँका नागरिक सूचना र सम्पर्कबाट टाढिनुपरेको स्थानीयको गुनासो छ। वडाध्यक्ष रिजालसँगै वडा सदस्य विर्घाबहादुर राना पनि धर्नामा सहभागी छन्।
नेकपा (एमाले)बाट निर्वाचित रिजालले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्। कर्णालीका दुर्गम बस्तीमा सडक र सञ्चार पहुँच अझै चुनौतीकै विषय बनेको अवस्थामा एक वडाध्यक्ष स्वयं सडकमा उत्रिनु राज्यको विकास प्राथमिकतामाथि उठेको गम्भीर प्रश्नका रूपमा हेरिएको छ।
प्रकाशित: १ जेष्ठ २०८३ ११:२९ शुक्रबार





