३ जेष्ठ २०८३ आइतबार
image/svg+xml
ब्लग

संस्कारविहीन राजनीति र बढ्दो निराशा

मानिसलाई केवल शारीरिक संरचनाले मात्र ‘मान्छे’ बनाउँदैन। उसलाई वास्तविक अर्थमा मानिस बनाउने कुरा उसका संस्कार, व्यवहार, अनुशासन र जिम्मेवारीबोध हुन्।  संस्कार भएको मानिस सीमाभित्र बस्न जान्दछ, अरूको सम्मान गर्न सिक्छ र आफ्नो कर्तव्यलाई गम्भीरतापूर्वक ग्रहण गर्छ। तर संस्कारविहीन मानिस भने पद, शक्ति वा अवसर पाएपछि छाडा बन्न सक्छ। उसले आफूलाई नियमभन्दा माथि ठान्न थाल्छ। यही कारणले समाजले प्राचीनकालदेखि नै संस्कारलाई सभ्यताको आधार मानेको हो।

नेतृत्व तहमा रहेका व्यक्तिका लागि संस्कार झन् बढी आवश्यक हुन्छ। किनकि नेतृत्वकर्ताको व्यवहार केवल उसको व्यक्तिगत विषय हुँदैन, त्यसले समाजलाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ।  

घरमा अभिभावकको बोली र व्यवहारले बालबालिकाको संस्कार निर्माण गरेझैँ राज्यमा नेतृत्वकर्ताको आचरणले नागरिकको मनोविज्ञान निर्माण गर्छ। जनता नेताका भाषणभन्दा बढी उनका व्यवहारबाट प्रभावित हुन्छन्। त्यसैले नेतृत्वको एउटा सानो कमजोरीले पनि समाजमा गलत सन्देश प्रवाह गर्न सक्छ।

सभ्य शासन प्रणालीको विकासक्रम हेर्दा पनि संसारले धेरै पहिलेदेखि नै मर्यादा, नियम र संस्कारको महत्व बुझेको देखिन्छ। बेलायतले सन् १२१५ मा जारी गरेको ‘म्याग्ना कार्टा’ केवल कानुनी दस्तावेज मात्र थिएन, त्यो शासक पनि नियमभित्र बस्नुपर्छ भन्ने सन्देश थियो।  

शक्ति जतिसुकै ठूलो भए पनि विधिभन्दा माथि हुन सक्दैन भन्ने चेतनाको सुरुवात त्यहीँबाट भएको मानिन्छ। नेपालकै इतिहासमा पनि जङ्गबहादुर राणाले बेलायत भ्रमणपछि शासन सञ्चालनलाई व्यवस्थित बनाउन मुलुकी ऐन लागू गरेका थिए।  

निरङ्कुश शासन व्यवस्थामा पनि नियमको आवश्यकता महसुस गरिएको थियो भने लोकतान्त्रिक व्यवस्थामा त झन् राजनीतिक संस्कार अनिवार्य विषय बन्नुपर्छ।

तर विडम्बना, आज लोकतन्त्रको अभ्यास गरिरहेको हाम्रो समाजमा नेतृत्व तहबाट देखिने कतिपय व्यवहारले राम्रो संकेत गरिरहेका छैनन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जस्तो गम्भीर कार्यक्रममा प्रधानमन्त्रीले सामान्य ड्रेसको मर्यादा पनि पालन नगर्नु, आफ्नै कार्यक्रम प्रस्तुत भइरहँदा बीचमै उठेर हिँड्नु वा सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिनुको सट्टा अर्थमन्त्रीलाई अगाडि सार्नु जस्ता गतिविधिलाई सामान्य रूपमा लिन मिल्दैन। संसदीय नियमावलीले कतिपय कुरा वैधानिक मान्ला, तर लोकतन्त्र केवल कानुनको शब्दले मात्र चल्दैन। त्यसलाई राजनीतिक संस्कार र नैतिक जिम्मेवारीले पनि बलियो बनाइरहेको हुन्छ।

संसदीय लोकतन्त्रमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुन्छ। संसद् भनेको जनताको सार्वभौम प्रतिनिधि संस्था हो। त्यसैले संसद्लाई केवल औपचारिकता ठान्ने वा आफूभन्दा तलको संरचना जस्तो व्यवहार गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्यसँग मेल खाँदैन।  

लोकतन्त्रमा व्यक्ति कहिल्यै सर्वोपरि हुन सक्दैन। व्यक्ति अस्थायी हुन्छ, संस्था स्थायी हुन्छ। यदि नेतृत्वकर्ताले आफूलाई संस्थाभन्दा माथि ठान्न थाले भने त्यसले विस्तारै लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ।

आज आम नागरिक तत्काल सडकमा निस्किएर विरोध नगरेका होलान्, तर उनीहरू सबै कुरा गम्भीर रूपमा नियालिरहेका छन्। नेपाली समाज अहिले ‘पर्ख र हेर’ को अवस्थामा छ। विगतका राजनीतिक अस्थिरता, भ्रष्टाचार र निराशापछि जनताले केही नयाँ अपेक्षाका साथ नेतृत्वप्रति विश्वास गरेका छन्। तर त्यो विश्वासलाई यदि नेतृत्वकै व्यवहारले कमजोर बनायो भने जनताको निराशा झन् गहिरो बन्न सक्छ। नागरिकहरू अहिले धैर्य गरिरहेका छन्, तर उनीहरूले हरेक व्यवहारको हिसाब राखिरहेका छन्। इतिहासले पनि देखाएको छ, जनताको विश्वास गुमेपछि शक्ति टिकाउन कठिन हुन्छ।

वास्तवमा समस्या केवल एउटा ड्रेसकोड वा संसद्मा उठेर हिँडेको विषय मात्र होइन। यो त सोच र संस्कारसँग जोडिएको प्रश्न हो। यदि नेतृत्वकर्ताले नै ‘पुरानो परम्परा तोड्ने’, ‘क्रमभंग गर्ने’ वा ‘आधुनिक बन्ने’ नाममा संस्थागत मर्यादालाई हल्का बनाउने हो भने त्यसको असर समाजभर फैलिन्छ।  

आज प्रधानमन्त्री औपचारिक कार्यक्रममा टी–सर्ट लगाएर उपस्थित हुनुलाई सामान्य मान्ने हो भने भोलि मुख्य सचिव, सेना, प्रहरी, शिक्षक वा निजामती कर्मचारीले पनि त्यही अभ्यासलाई पछ्याउन सक्छन्। त्यसपछि संस्थागत अनुशासन कसरी टिक्छ ?

कतिपयले ‘लुगाले के फरक पर्छ ?’ भन्ने तर्क गर्न सक्छन्। तर कुरा केवल कपडाको होइन, त्यसले दिने सन्देशको हो। पोशाकले जिम्मेवारी र मर्यादाको प्रतिनिधित्व गर्छ। एउटा सैनिकको पोशाकले अनुशासन देखाउँछ, न्यायाधीशको पोशाकले गरिमा झल्काउँछ, शिक्षकको प्रस्तुतीकरणले विद्यार्थीलाई प्रभाव पार्छ। त्यसरी नै राष्ट्र सञ्चालन गर्ने नेतृत्वको व्यवहारले पनि समाजलाई दिशा दिइरहेको हुन्छ। नेतृत्वले जे गर्छ, समाजले विस्तारै त्यसैलाई सामान्य मान्न थाल्छ।

संस्कार भनेको परिवर्तनको विरोध होइन। समाज समयसँगै बदलिन्छ, सोच बदलिन्छ र धेरै पुराना अभ्यासहरू परिवर्तन हुनु स्वाभाविक पनि हो। तर परिवर्तनको नाममा मर्यादा नै भत्काउन थालियो भने त्यो प्रगतिशीलता होइन, उच्छृंखलता हुन्छ। आधुनिकता र अनुशासनविहीनता एउटै कुरा होइनन्। विकसित लोकतान्त्रिक मुलुकहरूमा पनि संसद्, अदालत, सेना र प्रशासनिक संरचनामा निश्चित मर्यादा किन कायम छन् ? किनकि संस्थागत संस्कार कमजोर भयो भने प्रणाली नै कमजोर हुन्छ भन्ने उनीहरूले बुझेका छन्।

राजनीतिमा सबैभन्दा खतरनाक कुरा घमण्ड हो। शक्ति र लोकप्रियता सधैं स्थायी रहँदैन। इतिहासमा जनताको ठूलो समर्थन पाएका धेरै नेताहरू आफ्नै व्यवहारका कारण चाँडै कमजोर बनेका उदाहरण प्रशस्तै छन्। जनताको मौनतालाई कमजोरी ठान्नु ठूलो भूल हो। जनता कहिलेकाहीँ चुप लाग्न सक्छन्, तर उनीहरूले देखेको र भोगेको कुरा बिर्संदैनन्। त्यसैले लोकतान्त्रिक नेतृत्वले आफूलाई शासक होइन, जनताको सेवकका रूपमा प्रस्तुत गर्नुपर्छ।

आज नेपालको आवश्यकता केवल नयाँ भाषण र आकर्षक नाराहरू होइनन्। देशलाई अहिले संस्कारयुक्त नेतृत्व चाहिएको छ। यस्तो नेतृत्व, जसले कानुन पालना गर्नुअघि आफैं उदाहरण प्रस्तुत गरोस्। जसले संस्थागत मर्यादालाई व्यक्तिगत इच्छा वा सुविधाभन्दा माथि राखोस्। जसले लोकतन्त्रलाई केवल चुनाव जित्ने माध्यम होइन, जिम्मेवारीपूर्ण संस्कारको अभ्यास ठानोस्।

लोकतन्त्रको वास्तविक सौन्दर्य शक्ति प्रदर्शनमा होइन, मर्यादित व्यवहारमा देखिन्छ। नेतृत्व जब अनुशासनभित्र रहन्छ, तब मात्र समाज पनि अनुशासित बन्छ। तर नेतृत्व नै मर्यादाविहीन बन्न थाल्यो भने त्यसले विस्तारै समाजमा पनि उच्छृंखलता बढाउँछ। त्यसैले आजको सबैभन्दा ठूलो आवश्यकता व्यक्तिप्रधान सोचबाट माथि उठेर विधि, संस्कार र संस्थालाई केन्द्रमा राख्ने राजनीतिक चेतना निर्माण गर्नु हो।

अन्ततः, राज्यलाई बलियो बनाउने कुरा केवल विकासका योजना वा ठूला भाषणहरू होइनन्। राज्यलाई दीर्घकालीन स्थिरता दिने आधार भनेको संस्कारयुक्त राजनीति हो। जब नेतृत्वले मर्यादा पालन गर्छ, तब नागरिकमा पनि प्रणालीप्रति विश्वास बढ्छ। जब नेतृत्वले आफूलाई नियमभन्दा माथि राख्न खोज्छ, तब निराशा विस्तार हुन थाल्छ। यही निराशा विस्तारै लोकतन्त्रप्रतिको वितृष्णामा बदलिन सक्छ। त्यसैले आज आवश्यक कुरा व्यक्तिको महिमामण्डन होइन, संस्कार, अनुशासन र संस्थागत मर्यादाको संरक्षण हो। यही संस्कारले लोकतन्त्रलाई जीवित राख्छ र समाजलाई सभ्य बनाउँछ।

प्रकाशित: १ जेष्ठ २०८३ १६:३६ शुक्रबार