बलिउड अभिनेत्री मौनी राय र व्यवसायी सूरज नांबियारले विवाहको चार वर्षपछि विवाह सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन्।
दुवैले बिहीबार साँझ इन्स्टाग्राममार्फत लेख्दै भने, ‘हामी सबैलाई विनम्रतापूर्वक अनुरोध गर्दछौं कि हामीलाई गोपनीयता र सम्मान दिनुहोस्। मेरो वा सुरजको बारेमा कुनै पनि झूटा कथाहरू नफैलाउनुहोस्। हामी आशा गर्दछौं कि तपाईंले यो कठिन समयमा हामीलाई केही निजी समय दिनुहुनेछ।’
दुवैले संयुक्त स्टाटस जारी गर्दै आपसी सहमतिमा अलग हुने निर्णय लिएको बताएका छन्।
उनीहरूले आफ्नो निजी जीवनबारे फैलाइएका अफवाहप्रति असन्तुष्टि जनाउँदै यो कठिन समयमा गोपनीयता र सम्मान दिन सबैसँग आग्रह गरेका छन्। साथै, भविष्यमा पनि मित्रवत् सम्बन्ध कायम राख्ने प्रयास गर्ने बताएका छन्।
यसअघि दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफोलो गरेपछि सम्बन्धमा समस्या आएको चर्चा सुरु भएको थियो। सूरजले आफ्नो प्रोफाइलबाट विवाहका धेरै तस्बिर पनि हटाएका थिए, जबकि मौनीको प्रोफाइलमा केही तस्बिर अझै देखिन्छन्।
मौनी र सूरज पहिलो पटक २०१८ मा दुबईमा भेटिएका थिए। लामो समय प्रेम सम्बन्धमा रहेपछि उनीहरूले २७ जनवरी २०२२ मा गोवामा मलयाली र बंगाली परम्पराअनुसार विवाह गरेका थिए।
प्रकाशित: १ जेष्ठ २०८३ १२:०० शुक्रबार





