६ वैशाख २०८१ बिहीबार
कला

साम्यवादी कोरोना व्यापार

कविता

केशवप्रसाद पौडेल

 

पुँजीवादको सगरमाथा  

उक्लिदै थियो

थेग्नै नसक्ने भरयाङ लगाउदै  

जताततै नांगो नाच नाच्दै थियो ।

कहिले नाकाबन्दीसँग उफ्रियो पुँजीवाद

कहिले आर्थिक, बौद्धिक नाकाबन्दीसँग

कहिले शस्त्रास्त्र बन्दीसँगै गर्जियो पुँजीवाद

कहिले सर्वसत्तावादसँग

उसको अहंताले विश्व आक्रान्त हुँदै थियो

समाजवादलाई ‘को खाई – को खाई’ भन्दै

हाम्म आफै पार्दै थियो पुँजीवाद ।

सबैलाई नांगे झार पार्दै

साँढे भएको थियो पुँजीवाद ।

उता साम्यवाद सम्मिदै थियो

र जाग्दै थियो

जंगिदै थियो र झाँगिदै थियो

संघर्षको मैदानबाटै कोरोना भ्रुणित हुँदै थियो

र फैलिँदै थियो सारा संसार

लागु हुँदै थियो कोरोना साम्यवाद

कहिले मानव मस्तिष्कलाई  

राक्षसी घर बनाउदै

पृथ्वीलाई मानव चिहानघारी बनाउँदै

सारा विश्वमा ढाक्दै थियो

यसैको सहारामा

यही महामारीको  

केन्द्रीकृत र एकल नेतृत्वसहितको यही कोरोना शासनको

उसैको साम्राज्यमा मानवविरोधी

उसैको समन्यायिक न्यायको  

ठूलो चुनौतीलाई

एकथरी तिनै मानवले

भीमकाय अवसरको रूपमा उपयोग गर्दै

बढ्दै थियो  

विश्व बजारमा साम्यवादी व्यापार

झाँगिदै थियो विशालकाय असमन्यायिक

आर्थिक दण्डीय आर्थिक उन्नति

विश्वव्यापी महामारीको डर, त्रास र सन्त्रासको  

फैलिंदै थियो व्यापार

विश्वबजारमा चरम लुटतन्त्र र चरम आर्थिक विश्रृङ्खलता सहित  

महा–संघीय संसारको

एकतन्त्रीय–भ्रष्टाचारीय व्यापार

अनि  

लाशमाथिको राजनीति

भय, डरातंक माथिको त्रास नीति

यसरी नै  

बढ्दै थियो  

पुँजीवाद र साम्यवादको संघर्षको यात्रा  

त्यही संघर्षको झिल्काले जल्दै थियो

यो भू–लोकीय स्वर्गीय संसार

अनि  

हुँदै थियो

पुँजीवादी घोडाको दौडको अन्त्य  

यसरी नै  

धेरै अगाडि बढिसकेको थियो  

साम्यवादी कोरोनाको व्यापार

र हुँदै थियो पुँजीवादी अहंकारको अन्त्य  

समाजवाद सहितको लोकतन्त्र छटपटिएर  

गाँसबास र कपास खोजिरहँदा

चुर्लुम्मै भिजिसकेका थिए भ्रष्टाचारमा

चरम नैतिक संकट सहित  

लाजै पचाएर नांगै नाच्दै थिए

समाजवाद र लोकतन्त्र

बडो सानका साथ गर्वले वशीभूत भई

जागिरहेका थिए

अनैतिकता, अनुशासनहीनता,

महा–भ्रष्टाचार अनि बर्बर अमानवीयता

लुटतन्त्र, सोहोरतन्त्र, विपक्षीलाई खोहोर तन्त्र

शत्रुलाई कोरोनातन्त्र र आफन्तलाई महलतन्त्र

झाँगिदै थियो शक्तिको चरम दोहनतन्त्र र

साथ लाग्दै थियो

जिहजुरीवाद, नातावाद र कृपावाद

आफन्तवाद, म र मेरो वाद

फर्किएर हेर्दा देखिंदै थियो

मृत्युशय्यामा पुँजीवाद विक्षिप्त भएको

फस्टाउँदै थियो विश्वबजारमा

पुँजीवादको अवसानसँगै  

साम्यवादी व्यापार

समाजवादी छटपटीसँगै

साम्यवादी बहार।

प्रकाशित: ३० वैशाख २०७८ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App