२१ मंसिर २०७९ बुधबार
कला

मध्यकालीन कला

मल्लवंशको पृष्ठभूमि  

नेपालको मध्यकालीन कला मूलतः मल्लवंशबाट सुरु हुन्छ। तथापि लिच्छविकाल र मल्लवंशबीचको धेरै वर्ष अन्धकारजस्तै छ, जसमा थोरै समयका लागि नुवाकोटे ठकुरी वंशले राज गरे भन्नेहरू पनि छन्। कसैले यसलाई लिच्छविकालकै निरन्तरतामा राख्छन्, कसैले मल्लकालको एक अंशको रूपमा पनि मान्ने गर्छन्। यो काललाई अन्धकार युग भन्ने प्रचलन पनि छ। लिच्छवि राजाका सन्तान पछिल्लोकालमा देखिनुले यो समय लिच्छविकालकै निरन्तरता हो कि जस्तो देखिन्छ। ठकुरी वंश भनिएका राजाको नामको पछाडि देव र मल्ल देखिँदै र हराउँदै गएको पाइनु, मल्लहरू पनि शासकहरूमा देखिनुले यो काल मल्लकालको एउटा अंशजस्तो लाग्छ। यो समयमा आभीर–गुप्त, कोली, शाक्य, लिच्छवि वा मल्ल आदि सबै देखिएका छन्, तर कुनै एक अलग्ग राजसत्ताले निरन्तरता पाएको देखिएको छैन। यसमा विस्तारमा अनुसन्धान हुँदै जाला।

काठमाडौं उपत्यकामा यति मठ–मन्दिर, स्तूप, विहार, मूर्ति बने कि यहाँका बासिन्दाभन्दा कला बढी बन्न पुगे। काठमाडौं उपत्यकाका तीन राज्यबीच लडाइँ झगडा भइरहँदा पनि प्रतिस्पर्धाका रूपमा कसले बढी र स्तरीय मठ–मन्दिर बनाउने भन्ने होडबाजी चलेको देखिन्छ। यो सकारात्मक होडबाजीले काठमाडौं उपत्यकामा यस्ता कला यथेष्ट मात्रामा बनेका छन्।  

यसै वेला उपत्यका बाहिरका तिरुहुते राजा, कर्णाली खस राजा, नुवाकोटे राजाको प्रसंग बढी मात्रामा देखापर्छ। तथापि यसअघि देखिएका पूर्वीकिरात राजाहरूको प्रसंगचाहिँ देखिन्न। किरातकालको पछिल्लोकालमा देखापरेका काठमाडौं उपत्यकाको पश्चिम भागमा रहेको कपिलवस्तु र पूर्वमा रहेको रामग्राम विशेष चर्चामा आउने गर्छ। रामग्राममा कोलीहरू बस्थे र कपिलवस्तुमा शाक्यहरू। मगधका राजा अजातशत्रुको आक्रमणपछि कोली र लिच्छवि नेपाल पसेको आकलन गरिन्छ।। यसअघि कोशलका राजा विरुढकले कपिलवस्तुमा आक्रमण गरेपछि शाक्यहरू पनि नेपाल पसेको भनिन्छ। उपत्यकाको दक्षिण–पश्चिममा पाभा र कुशीनारामा मल्लहरूको गणराज्य थियो। यसलाई मल्लपुरी भनिन्थ्यो। मानदेव प्रथमले मल्लपुरी आक्रमण गरी जितेको सन्दर्भ छ। यसैबखत मल्लहरू पनि नेपाल पसेको आकलन गरिन्छ। यसरी मानदेव प्रथम अगाडिको लिच्छविकाल स्पष्ट नदेखिएझैँ लिच्छविकालको सातौँ शताब्दीको अन्तअन्तमा आइपुगेपछि पुनः इतिहास अँध्यारोतिर धकेलिएको देखिन्छ। यसरी करिब आठौँ शताब्दीदेखि मल्लको स्पष्ट उदय हुनुअगाडि अर्थात् ईशाको १२औँ शताब्दीको अन्तसम्म यस्तै अवस्था देखापर्छ।  

मल्ल वंशको उदय  

यसपछि बाहिरबाट घुसपैठ (ज्वाइँका रूपमा)का घटनाहरू प्रशस्तै भेटिन्छन्। जहाँसम्म मल्ल वंशको परम्परा छ, राजनीतिक वा व्यापारिक प्रयोजनका लागि देशबाहिरका अन्य राजा वा राजपरिवारसँग वैवाहिक सम्बन्ध राख्ने परम्परा विश्वभरि प्रचलित देखिन्छ। नेपालमै पनि यस प्रकारको प्रचलनले ठाउँ पाएको हुन सक्छ। यसलाई संस्कारकै रूपमा विकसित गरी बाहिरबाट डोली झिकाई विवाह गर्ने प्रचलन यसै वेलादेखि चलेको हो। बाहिरका मल्ल वा भित्रका मल्ल भए पनि मल्ल राजकुमारीको बिहेवारी मल्लसँगै भएको देखिन्छ। जयस्थिति मल्ल बाहिरका थिए, तर मल्ल नै थिए। उनी कहाँका हुन् र कहाँबाट आएका थिए स्पष्ट छैन। उनी राजाका ज्वाइँको रूपमा उपत्यका भित्रिए। कतिले त ठकुरी राजाहरूको कामदारका रूपमा रहेका मल्लहरूले पछि राज्यसत्ता आफ्नो हातमा लिएका हुन् भन्ने अर्थ पनि निकाल्छन्। तिरुहुतेको डोय सैन्यले घरीघरी नेपाल खाल्डोमा आक्रमण गरेको देखिन्छ, तर मल्लहरूले कतैबाट आक्रमण गरेको देखिँदैन। मल्लहरू पहिलेदेखि नेपाल खाल्डोभित्र बस्दै आएको र बिस्तारै राज्यसत्तामा आफ्नो पहुँच पुर्‍याएको देखिन्छ।  

यसै वेला उपत्यकाबाहिरका साना–ठूला राज्यहरूको आक्रमण, प्रत्याक्रमण आदिले बाह्य संसारसँगको सम्पर्क र झै–झगडाका घटना बढी मात्रामा देखिन गएको छ। यस्तो अवस्थामा बाह्य बासिन्दा आउने–जाने क्रम बढी मात्रामा देखिन्छ। यसले गर्दा मूलतः यस वेला बनेका मठ–मन्दिर, स्तूप वा मूर्तिहरू भत्काउने, बिगार्ने वा नयाँ बनाउने प्रचलन पनि तीव्र रूपमा देखापर्छ। यस्तै वेला बाह्य कलाको शैलीलाई हुबहु भित्र्याउने वा दुवैको शैलीलाई मिलाउँदै नयाँ शैलीको विकास गर्ने अनेकौँ कलाका क्रियाकलाप तीव्र रूपमा हुने गर्छ। संस्कृति, संस्कारहरू पनि यसै वेला तीव्र गतिमा परिवर्तन हुने गर्छन्। मानवको दिनचर्यासँग गाँसिन गएका अनेकौँ लोककला वा हस्तकलामा पनि आमूल परिवर्तन हुने गर्छन्, भयो पनि यस्तै। सम्भवतः जतिजति बाह्य संसारसँग सम्पर्क बढ्दै गयो, यस्ता घटना–परिघटना हुनु स्वाभाविक हो। विशेषगरी नेपालमा यस वेलाका लोककलाको अध्ययन अनुसन्धान राम्ररी हुन सकेन। कलाको मूल स्रोत मानिएको लोककला अभिलेखन नहँुदा समग्र कला क्षेत्र नै अन्योलमा रुमलिएको देखिन्छ। आज पनि यसबारे हामी सचेत हुन सकेका छैनौँ। लोककलाको स्पष्ट व्याख्या र यसका परिधिलाई निर्धारण गर्न सकिएको छैन। आज लोककला भनिएका कैयौँ कला समसामयिकजस्ता देखिएका छन्, तापनि यसलाई समसामयिक भनिएको छैन। जसले गर्दा समग्र नेपाली कला शैली र प्रवृत्तिगत रूपमा अन्योलता देखिन्छ।  

कला र ज्ञानको समन्वयता  

नेपालमा पुरातात्विक वस्तुलाई संग्रहालयमा सजाएर प्रदर्शनार्थ राख्ने प्रचलन पछिल्लो कालमा आएर सुरु भएको छ, तर त्यहाँ ती वस्तुबारे विस्तारमा लेखिएका पुस्तक राख्ने प्रचलन विकास हुन सकेको छैन। पुस्तक भनेको ज्ञान प्रवाह गर्ने भरपर्दो माध्यम हो। विदेशका कला संग्रहालयमा प्रदर्शित कलाकृति आम दर्शकले बुझून् भनी हरेकजसो महत्वपूर्ण कलाका विषयमा विस्तारमा लेखिएका सम्बन्धित पुस्तक, पुस्तिका अलग्गै बिक्रीमा राखिएका हुन्छन्। यस्ता पुस्तक महँगा पनि हुँदैनन्। सामान्य रूपमा बुझ्न खोज्नेका लागि यस्ता पुस्तिका सानो, सस्तो तर खँदिलो हुन्छन्। अझ धेरैजसो स्थानीय भाषामा पनि (सबैभन्दा बढी आउने दर्शकका लागि) यथेष्ट रूपमा यस्ता पुस्तक राखिएका हुन्छन्। कला हेर्न आउने दर्शकले बुझ्ने भाषाको प्रयोग यसमा हुने भएकाले बढीभन्दा बढी दर्शकले कलामा चाख राखून् भन्ने सोझो अर्थ निक्लन्छ। यसबाहेक निरन्तर रूपमा कलाका प्रवचन भइरहनु, यसका लागि स्पेस उपलब्ध गराइनु, कुनै कला विज्ञले कुनै पनि वेला आफ्ना कलासम्बन्धी ज्ञानलाई प्रवाह गर्न अनुकूल वातावरण मिलाइदिनू, ठूलाठूला भित्तामा निरन्तर रूपमा कलाको बारेमा डकुमेन्ट्रीहरू आइरहने वातावरण बनाउनु आदिले दर्शकले थोरबहुत कलाको ज्ञान स्वभावतः हासिल गर्छन्। अनि कलालाई आत्मसात गर्ने प्रक्रिया सुरु भएको देखिन्छ। कलामा थोरै चाख र जिज्ञासा राख्ने व्यक्तिले यसलाई अझ विस्तारमा बुझ्न यसले मद्दत गर्दछ। यस्तो सोच नेपालमा विकसित भएकै छैन। कला र ज्ञानलाई जोड्न नसक्दा हामीकहाँ अहिले पनि ‘कलालाई बुझिनँ’ भन्ने पढेलेखेकै व्यक्तिको संख्या पहिलेको तुलनामा अझ वृद्धि भएर गएको छ।  

यता परम्परागत कलाको विकसित रूपमा आएका समसामयिक कलाबारे पनि अभिलेखन हुनुपर्छ, तर हामीकहाँ यस्तो सामान्य सोचको विकास भएको देखिन्न। यसो हुँदा लेखन परम्परा पुरानै ढर्रामा अगाडि बढेको देखिन्छ। व्याख्या विश्लेषण हुने परम्परामा पनि नौलोपन देखापरेको छैन। यस्ता कला बाह्य कलाबाट प्रभावित भएको प्रसंग बढी निकाल्नु, शिलालेखलाई आधार मानी अनेकौँ आकलन गरिनु, अझ भनौँ किंवदन्तीको सेरोफेरोमा मात्र हाम्रो कलाको विश्लेषण हुनु हाम्रो अनुसन्धानको विशेषता नै बनेको छ। कलाको अनुसन्धान पनि वास्तविक कलाकै विज्ञबाट हुन नसक्नु, नगराइनुले मल्लकालका कला र यसको महत्व आम मान्छेमा पुगेको देखिँदैन।  

मध्यकालमा बनेका हजारौँ कलाकृति आज पनि सग्लो रूपमा यत्रतत्र सहजै प्राप्त भएका छन्। मात्र यसलाई जतन गर्नु, सही ढंगले प्रदर्शन गर्नु, यसबारे पर्याप्त मात्रामा आलेख तयार गर्नु अहिलेको मूल काम देखिन्छ। जुन गर्नुपर्छ भन्ने सोचको समेत विकास भएको छैन। मध्यकालका हजारौँ विविध खालका कला यसै फालिनु, घरको पर्खालको जगमा सामान्य ढुंगाजस्तो गरी प्राचीन शिलालेखलाई प्रयोग गरिनु आदि कार्य सामान्य बनेको छ। धेरथोर प्रकाशित कलाका पुस्तक पनि विदेशी भाषामै छन्। आफ्नै भाषामा आफ्नै देशवासीलाई कलाको ज्ञान प्रवाह गर्नुपर्छ भन्ने सोचको विकास भएको छैन। संस्कारको रूपमा हुनुपर्ने कलाको संरक्षण हुन सकेको छैन। कलाकार स्वयं पनि आफ्नै कलाका बारेमा अनभिज्ञ देखिन्छन्। यसैको पराकाष्ठामा बिक्री–वितरणको कुरा गाँसिने हुँदा नेपाली कलाका ग्राहक कम देखिन्छन्। जबजब हामी मल्लकालीन कलाको सन्दर्भ निकाल्छौँ, अनायसै यस्ता कुरा सबैको मन–मस्तिष्कमा स्वभावतः घुम्न थाल्छ। काठमाडौं उपत्यकाको गल्ली, चोक, पुराना घर मठ–मन्दिर, स्तूप–विहार, महल र दरबारहरू जुन कलाको अनुपम धरोहर हुन्, पहिले हामीले यिनको महत्व बुझ्नुपर्छ। यसका लागि लेखन पक्षलाई जसरी अगाडि बढाइनुपर्ने हो, यसको थोरै अंश पनि अवलम्बन गरिएको छैन।  

वास्तविक र यथार्थ कुरामा खोजी पस्ने वातावरण पनि बनाउन सकिएन। यसर्थ आज कलाको कुरा गर्दा मूल रूपमा देखापरेको उत्तर भारतको नवौँ वा १०औँ शताब्दीमा उत्कर्षमा पुगेको पालशैलीको प्रभावका सन्दर्भ मात्रै हामीकहाँ बढी मात्रामा चर्चामा आउने गरेका छन्। भारतमा पालशैलीका मूर्तिकला, वास्तुकलाका बारेमा धेरै अनुसन्धान भएका छन्। यसबारे थुप्रै अभिलेख छन्। संग्रहालयमा यथेष्ट मात्रमा यस्ता मूर्ति छन्। यसैले पनि नेपालका वा बाह्य विद्वान्ले यसैका आधारमा कलाको विश्लेषण गर्ने प्रचलन बस्यो। यसरी जोकसैलाई छिमेकी मुलुकको कलासँग तुलनात्मक रूपमा व्याख्या विश्लेषण गर्न सजिलो भएको हुन सक्छ। किनकि राम्रै कलाको एक अलग्ग अनुसन्धान गहिरो रूपमा हामीले गर्न भ्याएका छैनौँ, वा गरेका छैनौँ। यसैले विशेष गरेर अहिले चरम उत्कर्षमा पुगेका मैथिली लोककला वा नेवारी लोककला, थारु, अवधि, भोजपुरी वा किराती लोककला आदिलाई आधिकारिक रूपमा परम्परासँग जोड्न सकिएको छैन। न सम्बन्धित निकायलाई नेपाली लोककला, परम्परागत कला वा धार्मिक कला, लौकिक कला, आधुनिक, उत्तरआधुनिक वा समग्रमा समसामयिक कलाको परिभाषामा लेखिएका ऐतिहासिक आलेखको चिन्ता देखिन्छ।  

ग्रन्थचित्रको उदय  

लिच्छविकालका अन्तिम राजा भनिएका जयकामदेवपछि थोरै समयका लागि नुवाकोटे भास्करदेवले राज्य गरे भनी इतिहासकार बालचन्द्र शर्माले भनेका छन्। जेजस्तो भए पनि यो काल नेपालको कला इतिहासमा विशेष गरेर चित्रकलाको सन्दर्भमा महत्वपूर्ण रूपमा देखापर्छ। किनकि यसअघि चित्रकलाको आधिकारिक कला नभेटिरहेको अवस्थामा यसैबेला ग्रन्थचित्र पाइनुले पनि चित्रकलाको महत्व बढ्न गएको हो। मध्यकालमा कलाको सम्बन्धमा एउटा महत्वपूर्ण सन्दर्भ भनेको ग्रन्थ–लेखनको शुभारम्भ भएको देखिएको छ। पछि यही ग्रन्थमा चित्र लेख्न थालिएपछि यसैलाई ग्रन्थचित्र भन्न थालियो। ग्रन्थको लेखन सँगसँगै चित्र पनि सोही बखतमा लेखिन्थ्यो, वा धेरैपछि चित्र लेखिन थालिएको हो भन्ने स्पष्ट हुन सकेको छैन। किनकि विशेष गरेर मेकडोनाल्ड जस्ता विद्वान्ले कुनै कुनै ग्रन्थमा ‘धेरै पछि मात्र चित्र लेख्न थालिएको देखिन्छ, चित्र पनि टेस्टसँग मिलेको देखिँदैन’ भनेर उल्लेख गरेका छन्। यति मात्र होइन, मेकडोनाल्डले धार्मिक वा धर्ममा आधारित भएर बनेको सुरु कालका ग्रन्थचित्रमा पनि लौकिक कलाको सुगन्ध भरपूर रूपमा रहेकोतर्फ पनि इंगित गरेका छन्। यसलाई गहिरिएर हेर्नैपर्ने देखिन्छ।  

भारतमा नालन्दा र तक्षशिलाजस्ता बौद्ध विद्यापीठ चरम उत्कर्षमा पुगेको अवस्था थियो। त्यसबखत नेपालका धेरै बौद्ध पण्डित त्यहाँ शिक्षा ग्रहण गर्न जान्थे। स्वभावतः त्यहाँ ग्रन्थ लेखिने प्रचलन रहेको थियो। शिक्षा लिएर यता फर्केपछि सोही अनुरूप यहाँ पनि ग्रन्थ लेख्ने परम्परा सुरु भयो। चित्र लेखिन थालेको ठ्याक्कै यही मितिमा हो भनी भन्न सकिने अवस्था छैन। कलाविद् मनवज्र बज्राचार्यका अनुसार सन् ९२० मा प्रज्ञापरमिताको ग्रन्थचित्र प्राप्त भएको थियो। अझ विशेष गरेर सन् १०१५ मा प्राप्त भएको प्रज्ञापरमिताको ग्रन्थचित्रलाई बाह्य संसारमा पनि मान्न सकिने अवस्थामा अभिलेखन भएको छ। यसपछि बग्रेल्ती यस्ता ग्रन्थचित्र प्राप्त भएका छन्। ११औँ शताब्दीमा त सयौँको मात्रामा यस्ता ग्रन्थचित्र पाइएका छन्। बौद्ध ग्रन्थचित्रबाट सुरु भएको यो परम्परापछि हिन्दू ग्रन्थचित्र पनि बन्न थालेको हो। सम्भवतः यतिवेला काठमाडौं उपत्यका एक प्रकारले कलाको केन्द्रजस्तो थियो। किनकि यस वेला भारतमा मुसलमानहरूको अतिक्रमणले त्यहाँका बौद्ध पण्डित भागेर नेपाल पसेकाले यहाँ यस्ता ग्रन्थचित्र अत्यधिक बनेको आकलन गरिन्छ।  

पौभा, थााङ्का चित्रकलाको विकास  

नेपालमा सम्भवतः निजी विशेषताका साथ १३औँ शताब्दीमा पौभा चित्रकलाको विकास भयो। मिनियचर ग्रन्थचित्रका आधारमा निर्माण भएको भए पनि पूर्णतः नेपालीपनका साथ, नेपाली परिवेश, यहीँकै संस्कार वा दिनचर्याका आधारमा यो चित्रकलाको विकास भएको छ।  

ग्रन्थचित्र (मिनियचर चित्रका रूपमा) बिहार, बंगाल र नेपालमा एकैजसो ग्रन्थचित्र विकास भएकाले भारतीय तथा विदेशी धेरै कलाविद्ले यसलाई भारत र नेपालमा चित्रकलाको प्रारम्भ र विकासको सन्दर्भसँग जोडेका छन्। भारतमा विकसित पालशैलीमा आधारित यो चित्रको शैलीले चारैतिर फैलने मौका पायो भन्ने भारतीय विद्वान्को कथन छ। यसैलाई सही थाप्ने नेपाली कलाविद्को लर्को पनि लामै छ। किनकि यसलार्ई हामीले हाम्रो कलाबारे विस्तारमा अनुसन्धान गरेका छैनौँ। यसो हुँदा यही ग्रन्थचित्रलाई नेपाली मात्रको एक अलग्ग स्वरूपमा व्याख्या विश्लेषण गर्न थप अध्ययन गर्न आवश्यक छ। अधिकांश विदेशी र नेपाली कलाविद्ले यसरी नै व्याख्या विश्लेषण गरे पनि एक ठाउँमा लैनसिंह वाङ्देलले ‘नेपाली यस्ता ग्रन्थचित्र भारतीय ग्रन्थचित्रभन्दा थोरै शैलीगत फरक रहेको’ उल्लेख गरेका छन्। यसबाहेक खासै अलग्ग रूपमा नेपाली मौलिकता रहेको ग्रन्थचित्रको व्याख्या भएको कतै पाइँदैन। यसर्थ यो क्षेत्र कलाविद्का लागि खोजी पस्ने एउटा अलग्ग क्षेत्र बनेको छ।  

ग्रन्थचित्रकै आधारमा पौभाचित्रको विकास नेपालमा भयो। यसर्थ पौभाचित्रलाई पूर्णतः नेपाली कला भन्न सकिन्छ। कति विद्वान्ले यसलाई नेवा–कला भन्ने गर्छन्। यसरी ग्रन्थचित्र विकसित भएर अन्य चित्र बनेको भारतमा छैन। भारतमा ग्रन्थचित्रलाई यसअघि देखापरेका अजन्ता कलाको शैलीसँग जोड्न खोजेको पाइन्छ, तर त्यहाँ ग्रन्थचित्रभन्दा मुस्लिम चित्रकलाले ठाउँ पाएको देखिन्छ। किनकि यसै वेला मुस्लिमको अतिक्रमण तीव्र रूपमा भएको देखिएको छ। पारसी र मुस्लिम कलाले ज्यादै प्रभाव पार्दै जाँदा भारतीय चित्र कलामा अजन्ता र पालशैलीको ग्रन्थचित्रको निरन्तरताभन्दा मुगल शैलीका नाममा एक अलग्ग शैली विकास भएको देखिन्छ। पछि भारतमा मुस्लिम कला र अलिपछि मुगल चित्रकलाको विकास भयो। यो मुगल चित्रकला ग्रन्थ चित्रकलाको विकसित रूप नभएर पर्सियन कलाको भारतीय रूप थियो। पछि मुगल चित्रकलाले यस्तो विशाल रूप लियो, भारतमा मात्र होइन दक्षिण एसियाका सबैजसो मुलुकमा यसले प्रभाव पारेको देखिन्छ। नेपालमा पनि यसले १८औँ शताब्दीतिर गहिरो असर पार्‍यो। तर, नेपालमा एकातिर यसले प्रभाव पारे पनि नितान्त आफ्नो निजी शैलीमा विकास भएको पौभा चित्रकला आजको दिनसम्म अनवरत कायम छ।  

नयाँ सम्वत्को स्थापना  

यसैकालमा नयाँ सम्वत् नेपाल सम्वत् सुरु भएका कारण पनि यो कालको महत्व अझ व्यापक भएको छ। यो नयाँ सम्वत् कसले कहिलेबाट चलाएको हो भन्ने सन्दर्भमा धेरै विद्वान्का अनेक तर्क छन्। तथापि अन्ततः वि.सं. ९३६ मा राजा राघवदेवले यो नयाँ सम्वत् चलाएका हुन् भन्ने यथार्थमा धेरै विद्वान् सहमत देखिन्छन्। थप प्रसंग यहाँनेर के हो भने विद्वान्हरू राघवदेवलाई मानदेव चतुर्र्थका छोरा मान्छन्। यसले स्वभावतः लिच्छविकालको निरन्तरता जस्तो पनि देखिन्छ। उनीपछि शंकरदेव राजा भएको प्रसंग आउँछ। यसैवेला सम्भवतः पहिलोपल्ट प्रसिद्ध ग्रन्थ प्रज्ञापरमिता लेखियो भनेर किटान गरिएको छ। एकातिर लिच्छविका अन्तिम राजा जयकामदेव भन्ने र पछिबाट मानदेवको प्रसंग आउने हुँदा यी मानदेव चतुर्थको बारेमा स्पष्ट हुन सकेको छैन। पछि लिच्छवि राजा अंशुवर्माका सन्तान वामदेवले पुनः राज्य स्थापना गरे भन्ने उल्लेख पाइन्छ। यिनलाई लिच्छविको निरन्तरता नभनी सूर्यवंशी ठकुरी वंशका रूपमा अगाढि बढेको भनिन्छ। यसैबीच कर्णाटक वंश पनि देखिन्छ। यसैले केहीपछि अरिमल्लको शासनकाल र यसैको निरन्तरतामा मल्ल वंशको सन्दर्भ पनि देखिन्छ। यसरी ऐतिहासिक आधार स्पष्ट हुन नसकेकाले यसलाई नेपालको अन्धकार युग भनिएको होला।  

मल्लकालमा मूर्तिकला, चित्रकला र वास्तुकलाको बृहत विकास भएको छ। अहिले पनि यही मध्यकालमा बनेका सयौँ कलाका धरोहर हामीसँग छन्। भनिन्छ, काठमाडौं उपत्यकामा यति मठ–मन्दिर, स्तूप, विहार, मूर्ति बने कि यहाँका बासिन्दाभन्दा कला बढी बन्न पुगे। काठमाडौं उपत्यकाका तीन राज्यबीच लडाइँ झगडा भइरहँदा पनि प्रतिस्पर्धाका रूपमा कसले बढी र स्तरीय मठ–मन्दिर बनाउने भन्ने होडबाजी चलेको देखिन्छ। यो सकारात्मक होडबाजीले काठमाडौं उपत्यकामा यस्ता कला यथेष्ट मात्रामा बनेका छन्।  

मध्यकालमा काठमाडौं उपत्यकाबाहिर पनि यहाँका राजाहरूको शासित क्षेत्र थियो। यसैले त्यति बेलाको नेपाल अधिराज्यलाई तीन खण्डमा विभाजित गरी व्याख्या विश्लेषण गर्ने चलन छ। जसमा काठमाडौं उपत्यकासँगै तराईको सिम्रौनगढ र सुदूर–पश्चिमको खस देश पर्छन्। कहिले काठमाडौं उपत्यकाको शासित राज्यका रूपमा देखापर्नु, कहिले स्वतन्त्र हुने विशेषता बोकेका यी उपत्यकाबाहिरका स–साना राज्यमा एक अलग्ग विशेषता बोकेका कलाको विकास भएको पनि देखिन्छ। अहिले आएर मात्र नेपालको कलामा बाह्य कलालाई जोड्न थालिएको छ। सम्भवतः यसबारे धेरै कुरा खोज्न र भन्न अझै बाँकी छ।  

तन्त्रकलाको उदय  

मध्यकालको कलामा तन्त्रकलाको प्रवेश ठूलो परिवर्तनका साथ देखापरेको छ। आठौँ शताब्दीमा बौद्ध धर्ममा प्रवेश गरेको वज्रयानले विशेषगरी मूर्तिकला र चित्रकलाको स्वरूपमा धेरै ठूलो परिवर्तन ल्याएको थियो। पछि यसको प्रवेश हिन्दूधर्ममा पनि हुन्छ र हिन्दू धर्मका देवीदेवताका कलामा अलग्गै स्वरूपमा विकास भएको देखिन्छ। विशेषगरी आ–आफ्ना आराध्यदेवलाई शक्तिशाली बनाउने क्रममा कलामा धेरै हात, धेरै टाउका अनि धेरै आयुध, विविध रसको प्रयोगदेखि विविध आसनका साथै अनेक बुट्टाको प्रयोग हुन थालेको देखिन्छ। यसबाहेक आवेग, उत्तेजना, डरलाग्दा स्वरूप लगायत भयावह हुने स्वरूपमा कलाको विकास भएको देखिन्छ। तन्त्रमन्त्र, यन्त्रको अनेक प्रयोग हुँदा यसले कलालाई एक अलग्ग प्रकारको विशेषतामा प्रवेश गराएको पाइन्छ। धेरै गरगहनाले झपक्कै छोपेका मूर्ति बढी देखिनु, शान्तभन्दा क्रोधयुक्त, डरलाग्दा गतिशील देवीदेवताका मूर्ति र चित्रहरू देखिनु यसवेलाको मुख्य विशेषता हो।  

भित्तीचित्रको उदय  

नेपालको कला इतिहासमा यसै वेला भित्तीचित्रको पनि उदय भएको देखिन्छ। विशेष गरेर मठमन्दिर विहारमा यस्ता अनेकौँ भित्तीचित्र बनेको पाइएका छन्। हुन त किंवदन्तीमा यसअघि यस्ता भित्तीचित्रको उल्लेख नभएको होइन, तथापि सबुतसहितका यस्ता चित्र यसवेला अत्यधिक पाइएकाले यसलाई मध्यकालको मुख्य विशेषताका रूपमा हेर्ने गरिन्छ।  

(लेखक कलाकार तथा कला समीक्षक हुन्।) 

प्रकाशित: २५ वैशाख २०७८ १०:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App