७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

एउटा नाता

कथा

‘बहिनी ! अर्को ट्याक्सीमा बस्नू, १२ बजिसक्यो। मलाई उति टाढाबाट फर्कन गाह्रो हुन्छ। त्यो ट्याक्सी मैले चिनेको भाइको हो। हजुरले भनेकै ठाउँमा पुर्‍याइदिन्छ। मैले पनि भनिदिएको छु। राम्रोेसँग जानू है।’  

म बसेको घरको माथिल्लो तलामा बस्ने ट्याक्सी चालकदाइको आवाज हो यो। म मन्दमन्द सुन्दै थिएँ। अर्धचेत अवस्थामा भए पनि मेरा कानमा ती दाजुको आवाज गुन्जिरहेको थियो। मेरो शरीरको लुगा भिजेको थियो, असीमको लातले हुत्तिएर बाटो छेउको कुलोमा जाक्किएकी थिएँ। त्यहीबेला ढुंगामा ठोक्किएर टाउकोमा काटेको रहेछ। ऊबेला हतार हतार उठ्ने चटारोमा टाउकोमा लागेको चोटको पत्तै पाइनँ। ट्याक्सीमा बस्दा बल्ल भेउ पाएँ। टाउको सिरिंग भएपछि रगतको गन्ध नाकले पनि थाहा पायो। कतिसम्म पीडा बोकेकी रहेछु यो मुटुभित्र, बाहिरी चोट महसुस गर्न सकिनँ।  

एउटा हातमा मोबाइल छुटेको रहेनछ, अर्को हातले टाउकोबाट बगेको रगत सलको सहाराले थाम्दै मोबाइल हेरेँ, रातको १२ः५५ भइसकेको रहेछ। मान्छे अनि गाडीले भरिभराउ हुने चक्रपथ सुनसान थियो। ट्याक्सी रोकिएको सटरछेउ केही कुकुर स्वर मिलाएर जोरजोरले भुकिरहेका थिए।

‘बहिनी बेहोस त हुनुभएको छैन नि ?’ ट्याक्सी चालक दाइले ढोका खोल्दै बोलाए। म केही बोल्न सकिनँ, वश ट्याक्सीबाट बाहिर निस्कन खोजेँ। ट्याक्सीबाट निस्कँदै गर्दा मेरा खुट्टा कामिरहेका थिए। मुटु बेजोडले धड्किरहेको थियो। ओठ, मुख सुकेर श्वास लिनसमेत गाह्रो भइरहेको महसुस गरेँ। बिस्तारै, उनै दाइको सहारामा अर्को ट्याक्सीमा बसेँ।  

‘समय’ शब्द सुन्दा जति सहज लाग्छ, बिताउन उति नै सकस हुन्छ। आजभन्दा ठीक १८ वर्षअघि पनि म यसरी नै डराएकी थिएँ, जतिबेला म १६ वर्षकी थिएँ, घरपरिवारको आँखा छलेर असीमको हात समातेर यस्तै ट्याक्सीमा भागेकी थिएँ। त्यतिबेला परिवार छाडेर उसको पछि लाग्दा डरसँगै भरोसा पनि थियो। त्यो भरोसा यति छिटै तोडिएला भन्ने सोचेकी थिइनँ।

मोबाइलको घन्टी बज्यो, साथीको कल रहेछ। ‘म १५ मिनेटमा पुग्छु’ भनेर फोन राखेँ। मध्यरातमा यसअघि यसरी हिँडेकी थिइनँ। टाउकोबाट बगेको रगत देखेर ट्याक्सी चालकले सोधे, ‘दिदी घरझगडा भएर हिँड्नु भको हो ?’

म केही बोलिनँ, बोल्न मन भएन। ‘लोग्नेस्वास्नी भएपछि ठाकठुक परिहाल्छ नि। झोँक चलाई भने मै पनि मेरी स्वास्नीलाई दुई–चार झापड लगाइदिन्छु,’ ट्याक्सी चालक बोलिरह्यो, ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो हो, घरै छाडेर हिँड्न चाहिँ हुन्न है।’  

उसको कुराले मलाई मेरो विगत सम्झायो। पहिला पनि ऊसँग झगडा परेर साथीकहाँ गएका बेला यही कुरा सुनेकी थिएँ। सबैले दिने अर्ती भनेको यही हो– ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो... सहनुपर्छ। यत्तिका वर्ष त सहिस्, अब जिन्दगी के नै बाँकी छ र ?’  

सहन सक्ने अवस्था रहे आफूले जन्माएका लालाबाला छाडेर हिँड्न रहर कसलाई हुन्छ र ? निर्णय पनि मान्छेले नसोचेको मोडमा लिने त हो।  

झ्यालबाट बाहिर टाउको ढल्काएँ, हावाले टाउकोको घाउ चहरायो। केहीबेरमा कपन पुगियो, जहाँ मेरी सखी अनु बस्थी। उसलाई फोन गरेँ, ऊ बाटोसम्म लिन आई। मेरो हालत देखेर उसले मलाई हेर्न समेत सकिनँ। उसले ट्याक्सी चालकलाई भाडा सोधेर पैसा दिई। त्यसपछि मेरो हात समातेर अघि लागी।  

अनु मेरो हित्तचित्त मिल्ने सखी, मेरा प्रायः दुःखको समयमा साथ दिने ऊ नै हुन्थी। अविवाहित ऊ कपनमा एक्लै डेरा गरी बस्थी। कोठामा पुगेपछि उसले मेरो टाउको र शरीरमा लागेको रगत पुछिदिई। र, आफूसँग भएको औषधि पनि लगाइदिई। उसले यति गर्दासम्म म चुपचाप नै थिएँ। उसले पनि केही सोधिन।  

‘नराम्रोसँग ठोक्किएको रहेछ, भोलि अस्पताल जाउँला,’ अनु बोली। अझै ऊ मसँग नजर जुधाउन सकेकी थिइनँ। उसले आफ्ना लुगा मलाई दिँदै भनी, ‘मेरा लुगा लगा, सबै धोएका हुन्।’

म खिस्स हाँसेँ। त्यसपछि ऊ खाना तताउन लागी। उसले दुवैजनालाई खाना पस्की। ‘यति बेलासम्म नखाएकी,’ म बोलेँ, ‘मलाई थोरै राख है।’  

‘दुईपटक खाइसकेँ,’ हाँस्दै उसले भनी।  

मैले दुई गाँस पनि खान सकिनँ,  

त्यसै छाडेँ।  

रात ढल्किसकेकाले हामी धेरै गफ नगरी सुत्यौँ। गैरसरकारी संस्थामा काम गर्ने उसको फाट्टफुट्ट पत्रिकामा लेख छापिन थालेको छ। वास्तवमा ऊ लेखक बन्न चाहन्छे।  

बिस्तारामा ढल्केर यसो मोबाइल के हेरेकी थिएँ, वालमा राखिएको छोराछोरीको फोटोमा आँखा अडिए र आँसु बग्न थाले।  

असीमसँग प्रेममा पर्दा म ९ कक्षामा पढ्दै थिएँ। १० कक्षामा आउँदा हाम्रो माया झांगिइसकेको थियो, दिदी–दाइ हुँदै हाम्रो प्रेमको कुरा बाआमालाई थाहा भयो। मलाई घरबाट निस्कन बन्देज गर्न खोजियो। तर, एसएलसी परीक्षाको तयारी चलिरहेकाले त्यो सम्भव भएन। दिनमा स्कुल, बिहान–बेलुकी कोचिङ र ट्युसन, मेरो व्यस्तता बढ्यो, तर सँगै पढ्ने भएकाले असीमसँग मेरो भेट दिनहुँजसो भइरहन्थ्यो। परीक्षा सकेर भागी विवाह गर्ने हाम्रो योजना थियो। तर, दुवै काठमाडौंमै बस्ने भएकाले धेरै टाढा भाग्ने योजना थिएन, उसले नयाँ कोठाको व्यवस्था गरेको थियो, त्यहीँ हामीले नयाँ जीवन सुरु गर्नुपथ्र्यो।  

परीक्षा सकिएको दिन ऊ मेरो घरअअघि सेतो ट्याक्सी लिएर आयो। म घरबाट खुसुक्क निस्किएर ट्याक्सी चढेँ। उसको अँगालोमा परेपछि मलाई बुबा–आमा, दिदीहरू र दाजुभाइको सम्झना भयो। म रुन थालेँ। उसले सम्झाउँदै भनेको थियो, ‘एक दुई दिन हो नरमाइलो लाग्ने, पछि त घर बोलाइहाल्नुहुन्छ नि।’  

त्यो बेला असीमको जति भर मलाई कसैको लागेको थिएन। आफूले फेर्ने हरेक सासमा असीमलाई पाउँथेँ। उसको लागि म पनि उत्तिकै प्यारी थिएँ। उतिबेला उसको मायाले जितेको थियो। त्यही मायाका लागि मैले घरपरिवार छाडेर हिँडेकी थिएँ। उमेरै त्यस्तै थियो, म उसको लागि जे गर्न पनि तयार थिएँ। मैले सोच्थेँ, असीम कहिल्यै बदलिँदैन। १८ वर्षको यात्रामा ऊ यसरी बदलियो र हामी यसरी मोडियौँ अब मिलन सम्भव छैन।  

ऊ स्कुल पढ्दादेखि नै कविता लेख्थ्यो। वास्तवमा मलाई उसको लेखनले पनि तानेको थियो। बिस्तारै उसले लेखनमा महिला विभेद र न्याय घुसाउन थाल्यो। मलाई झन्झन् मन पर्दै गइरहेको थियो। उसको विचार र बुझाइ अरूको भन्दा फरक लाग्थ्यो।  

म उसको दुःखसुखकी साथी बन्दै गएँ। ऊ पनि राम्रो कलेजमा अध्यापन गर्ने भयो। मैले स्कुलमा पढाउँथेँ। मेरो घर, उसको घरले हाम्रो विवाहलाई स्वीकार गरिसकेको थियो। सबै कुरा राम्रै चलिरहेको थियो।  

हाम्रा दुई सन्तान भए। बालबच्चाको हेरचाह, घरधन्दा– मलाई काम बढ्न थाल्यो। मलाई महसुस हुन थाल्यो, ऊ असहयोगी रहेछ। उसले मलाई कुनै पनि काममा सघाउँदैनथ्यो। बाहिर ऊ महिला स्वतन्त्रता, महिलामाथि हुने हिंसाका गफ लगाउँथ्यो तर घरमा श्रीमती पनि महिला हो भन्ने बिर्सन्थ्यो।  

सुरुदेखि नै उसले मलाई लुगा लगाउन सिकाउँथ्यो। अन्य पुरुषसँग सकेसम्म नबोल्ने, बोलिहाले कामविशेषले मात्रै बोल्ने भनेर सम्झाउँथ्यो। उसका कुरा उतिबेला ठीकै लागेको थियो। जब उसको बोली, उसको कविता र घरमा मप्रति गर्ने व्यवहारमा फरक पाएँ, मैले बुझ्न थालेँ, उसमा ढोंग बढी रहेछ।  

घरका काममा म एक्लै घोटिन्थेँ, ऊ चुपचाप कम्प्युटरमा बस्थ्यो। म पहिलोपटक गर्भवती हुँदा उसको व्यवहारमा परिवर्तन आइसकेको थियो। साँझमा अबेर घर फर्कने, प्रायः बाहिरै खाएर आउने गर्न थाल्यो। मैले कष्टकर नौ महिना बिताएँ। जब मैले छोरीलाई जन्म दिएँ, उसको परिवारले नाक खुम्चायो। अस्पतालमा म असीमको हात समाएर बसेकी थिएँ। ऊ एक मात्र थियो, जसलाई म भरोसा गर्थें। तर, उसलाई पनि मैले छोरी जन्माएको चित्त बुझेको रहेनछ। छोरी जन्मेको खबरपछि उसको अनुहारको चमक हराएको थियो।  

ऊ यस्तो कसरी हुन सक्छ ? छोराछोरीमा भेदभावजस्तो संकुचित दिमाग कसरी बनाउन सक्छ ? ऊ त प्रगतिशील मान्छे। तर, उसको व्यवहार बदलियो। मलाई केही सोधपुछ गर्दैनथ्यो, कुनै काममा सघाउँदैनथ्यो। नानी पेटमा आएको ६–७ महिनादेखि मैले जागिर छाडेकी थिएँ। चिसो मौसममा नानीका थाङ्ना धुन, भान्छाको काम गर्न, मलाई भ्याइनभ्याई हुन्थ्यो। एक्लो महसुस भएपछि आमालाई फोन गरेँ। आमा र भाइ मलाई लिन आए। नानीलाई च्यापेर म माइत गएँ। केही समय बसेपछि असीम मलाई लिन आयो र म ऊसँगै फर्कें। सुरुका दिन उसले फेरि माया गरेजस्तो गर्न थाल्यो। म खुसी थिएँ, किनभने पुनः उसको माया पाएको अनुभव भएको थियो।  

नानी हुर्कंदै थिई। एक साँझ ढिला फर्केर उसले भन्यो, ‘भोलि पोखरा जानुछ, एउटा कार्यक्रम छ।’ मैले उसका लागि लुगा प्याक गरिदिएँ। ऊ निदाइसकेको थियो, उसको मोबाइलमा म्यासेजको घन्टी बज्यो, हेर्न खोजेँ, तर उसले लक फेरिसकेको रहेछ।  

ऊ ब्युँझेर मोबाइलतिर हात लम्कायो। मैले उसलाई मोबाइल दिएँ। ऊ बोल्यो, ‘मेरो ब्याग  

प्याक भयो ?’

मैले भनेँ, ‘भयो। अनि, लक चेन्ज  

गरेछौ त !’  

‘अब लक चेन्ज गर्न नि तिमीलाई सोध्नुपर्ने !’ झर्कियो ऊ।

फेरि म्यासेजको घन्टी बज्यो। पछाडिबाट मैले उसलाई हेरिरहेकी थिएँ। कुनै केटीको म्यासेज थियो, ‘छिटो आउनू, म तिमीलाई भेट्न आतुर छु।’  

ती अक्षर देखेपछि मेरो मन भारी भयो। मेरो हातबाट उसको कपडा खस्यो, उसले फर्केर मलाई हेर्‍यो। म केही नबोली सुत्न लागेँ। मैले म्यासेज पढेको उसले बुझेछ।

‘साथीभाइको म्यासेज आउँछ। मेरा कविता मन पराउनेको पनि आउँछ। यसमा नकारात्मक सोच्नुहुन्न,’ उसले मलाई सम्झायो र चुम्न थाल्यो। मैले चित्त बुझाएँ, कोही जिस्केको हुन सक्छ। धेरै दिन भएको थियो, उसको मायालु स्पर्श नपाएको, म उसको मायामा पग्लिएँ।  

भोलिपल्ट ऊ नौ बजे जाने कुरा थियो। ऊ बिस्तारामै चिया पिउन मन पराउँथ्यो। अलैंची राखेको चिनी र रंग कडा चिया उसको बिस्तारामा टक्राएँ। ऊ मुस्कुराउँदै उठ्यो र चिया पियो। बिहानको खाजा खाएर ऊ पोखराका लागि निस्कियो। उसलाई बिदाइको हात हल्लाउँदा मन अमिलो भएको थियो।  

हप्ता दिनपछि साँझ अबेर गरेर ऊ पोखराबाट फर्कियो। फर्केको दिन उसले रक्सी पिएको थियो। ऊ सीधै बिस्तारामा गयो। मैले उसको मोजादेखि सर्ट–पाइन्ट फुकालिदिएँ। खाना बनाएर उसलाई उठाएँ। ‘केही खान मन छैन’ भनेर उसले बेडमै छाद्यो। उसको बान्ता सफा गरेर म बेग्लै ओछ्यान लगाएर सुतेँ।

त्यसपछिका दिनहरूमा ऊ प्रायः रक्सी पिएर घरमा आउन थाल्यो। कहिलेकाहीँ दुई–तीन दिन बाहिर बसेर आउँथ्यो। केही सोधेँ भने मलाई कुट्थ्यो। दिनहरू बितिरहेका थिए। छोरी आठ वर्ष पुगी, मैले उसको जन्मदिन मनाउने तयारी गरेँ। ‘आज छोरीको जन्मदिन हो। अरू दिन अबेर गरे पनि आज छिटो फर्कनु होला’ बिहान ऊ निस्कन लाग्दा मैले भनेकी थिएँ।  

त्यस दिन ऊ समयमै घर आयो। छोरी खुसी थिई, उसलाई बाआमाबीचको सम्बन्ध थाहा थिएन। असीम र म छुट्टै रुममा सुत्न थालेको धेरै भइसकेको थियो। त्यो दिन घरमा पाहुना थिए र हामी सँगै सुत्नुपर्ने भयो। मैले असीमलाई सोधेँ, ‘आखिर किन टाढिएका छौ, मबाट के गल्ती भयो ?’  

त्यस रात भने चर्को स्वर नगरी मलाई अँगाल्दै ऊ बोल्यो, ‘कामको प्रेसर बढी छ, त्यसैले हो। अचेल मलाई केही कुरामा रुचि लाग्दैन।’  

उसको मायालु बोली र स्पर्शले मेरा आँखा बर्सिए। ‘मलाई पहिलाजस्तै माया गर, हेरचाह गर। यो सब नभए पनि हुन्छ। धेरै नै समस्या भएको हो भने डाक्टरलाई भेटेर उपचार गरौँला,’ मैले भनेँ। ऊ मौन थियो। मलाई विश्वास लाग्न थाल्यो, साँच्चिकै उसमा समस्या आएको हो कि !

एकपटक बिदाको दिन थियो, ऊ छतमा गएर फोनमा बोलिरहेको थियो। पछिल्ला केही वर्ष ऊ फोनमा कुरा गर्नुपरे छतमा जान्थ्यो। मैले चासो राखे, ऊ झर्कन्थ्यो।  

त्यस दिन मैले हिम्मत गरेर सोधेँ, ‘मसँग लुकेर कोसँग गफिँदै छौ ?’  

‘तिमीलाई के चासो पर्‍यो फेरि !’ ऊ झर्कियो। म चुपचाप झरेँ, उसको लुगा धुनु थियो। उसको पाइन्टको खल्तीमा एउटा अनौठो ट्याबलेट भेटेँ।  

केको औषधि भनी मलाई शंका भयो। कतै यो डिप्रेसनको औषधि त होइन ? मैले नै धेरै कचकच गरेर ऊ डिप्रेसनमा त गएन ? आत्तिँदै मैले गुगल सर्च गरेँ। यौन क्षमता बढाउने औषधि रहेछ। पछिल्ला केही वर्ष घरमा त उसले कुनै त्यस्तो क्षमता देखाएको छैन, किन प्रयोग गरिरहेको छ, मेरो शंका अन्तैतिर मोडियो।

त्यस साँझ ल्यापटप चलाउँदाचलाउँदै ऊ निदायो। मैले उसको बेडबाट ल्यापटप झिकेँ, उसको फेसबुक खुलै रहेछ। मेरा आँखा एउटा म्यासेजमा गयो। ऊ पछिल्ला तीन वर्षदेखि एक युवतीको प्रेममा रहेछ। पोखरामा सँगै खिचेका थुप्रै तस्बिर पनि म्यासेजमा थिए। त्यस युवतीसँगको च्याट उसले डिलिट नगरी राखेको रहेछ, सायद सम्झनाका लागि होला। मैले रातभरि त्यस युवतीसँग भएको असीमको च्याट हेरेँ।  

भोलिपल्ट ऊ खाना खाएर अफिस गयो, मैले केही भनिनँ। साँझ ऊ फर्केपछि मैले त्यस युवतीको कुरा झिकेँ। ऊ अलिकति झस्केजस्तो त भयो, तर तत्कालै यसरी स्वाभाविक भयो, मानौँ उसले सबै कुरा मलाई बताउन खोजेको थियो, अवसर पाएको थिएन।  

त्यस दिन म अलि आवेशमा आएँ र बढी नै केरकार गरेँ, ऊ झर्केर घरबाट निस्कियो र तीन दिनपछि मात्र फर्कियो। मैले शान्त ढंगले कुरा राखेँ। सम्बन्ध के हो ? अब तिमी के चहान्छौ, भन म के गरुँ ? मेरो प्रश्न सामान्य थिए। ऊ उल्टै मेरो चरित्रमा औँला ठड्याउँदै मनलागी बोल्यो।  

मैले मात्र उसको जवाफ चाहेकी थिएँ, उसको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्न भने होइन। साँच्चै ऊ मेरो श्रीमान् हो भने उसले श्रीमती र परिवारलाई दिने प्रेम र जिम्मेवारी खोजेकी थिएँ। तर, ऊ दोहोरो खेल खेलिरहेको थियो चारवटा जिन्दगीसँग, जुन मलाई सह्य थिएन। र, म आवेगमा आएँ। ऊ मसँग छलफल गर्दैनथ्यो, जवाफ दिन्नथ्यो, त्यही नै मेरो पीडाको कारण थियो। मौनताले कतिसम्म मार्छ भन्ने महसुस थियो।

त्यसपछिका दिन सहज भएनन्। हाम्रो झगडा मेरो माइतीमा पनि थाहा भयो। उसले मलाई दिनहुँजसो कुटपिट गथ्र्यो। एकपटक त प्रहरीमा उजुरी गरेर उसलाई केही दिन थुनाएँ, अहँ ऊ सुध्रेन। बरु हाम्रो सम्बन्ध चिसिँदै गयो। अन्ततः मैले ऊसँग छुट्टिने निर्णय लिएँ।  

पछिल्लो रात उसले मलाई नराम्रोसँग कुटेको थियो, झगडाको विषय उही उसको बाहिरी सम्बन्ध थियो। त्यस रात मैले बाबु र नानीलाई असीमसँगै छाडेर हिँडेकी थिएँ। ऊ मलाई माया गर्ने पहिलाको असिम थिएन, ऊ परिवर्तन भइसकेको थियो। उसलाई म मन पर्न छोडिसकेको थियो। जीवनको १८ वर्ष मैले असीमका लागि समर्पित गरे, त्यसमा खास कारण थियो। अहिले महसुस गर्दै छु। पछिल्ला दिन असीमले गरेको व्यवहारलाई मैले चाहेर पनि माफ गर्न सकिनँ, कोसिस त धेरैै गरेँ।  

‘ओइ उठ ! ल कफी खा त, खै  

घाउ हेरौँ ?’  

अनुले उठाएपछि झस्किएँ।  

छोराछोरीको फोटो हेर्दाहेर्दै कतिबेला निदाएँछु, पत्तै पाइनँ,’ कफी दिएर अनु पत्रिका लिन बाहिर गई। मैले आमालाई फोन गरेँ, ‘आमा, म सम्बन्धविच्छेद गर्दैछु। म असीमसँग बस्नै सक्दिनँ, बाँकी जीवन आफ्नै तरिकाले स्वतन्त्र भएर बाँच्न चाहन्छु। भाइलाई भनेर बाबुनानीलाई घरमा ल्याएर राख्नु न है।’  

यति भनिसक्दा पनि आमा केही बोल्नु भएन, आमालाई हाम्रो सम्बन्धबारे सबै कुरा थाहा थियो। मैले फोन राखेँ।

प्रकाशित: १८ पुस २०७७ ०३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App