९ वैशाख २०७८ बिहीबार
कला

‘नेपा’ गाउँमा एक घण्टा

नियात्रा

विनोद नेपाल

नेपालगञ्जको कार्यक्रम पछि सुदूरपश्चिमका पहाडी जिल्लातर्फ लाग्ने योजना थियो हाम्रो। सोहीअनुसार त्यस क्षेत्रमा कार्यरत मित्रसँग सल्लाह पनि भइरहेको थियो। तर काठमाडौबाट सँगै गएका साथीहरूले सुर्खेत–दैलेखतर्फ ताकेपछि एक्लै उता जानु भन्दा सहयात्रालाई नै प्राथमिकतामा राख्ने निधो गरियो।  

त्यहीअनुसार २०७४ कात्र्तिक २० गतेका दिन कोहलपुर हुँदै मध्यान्ह सुर्खेत पुगियो। त्यहाँबाट दिउँसो २ बजे दैलेख तर्फ लागियो। नौ जनाको हाम्रो टोली सुर्खेत उपत्यकाको सुन्दरता नियाल्दै गुराँसे डाँडा, गुराँसेबजार हुँदै हुँंदै अगाडी बढेको थियो। साँगुरो सडकमा ओह्रालोमा यात्रा गर्दा मनभित्र कताकता एकप्रकारको भय पनि थियो। तर नयाँ गन्तव्यको यात्रा भएकाले कौतुहल र रोमाञ्चकता नै बढी थियो।  

परपरसम्म देखिने पहाड, वस्ती र खनिंदै गरेका सडकका धर्सा हेर्दै र त्यस क्षेत्रका जानकार मित्र विष्णुजीले औंलाको इशाराले देखाएका स्थानलाई नचिने, नदेखे वा पहिल्याउनै नसके पनि चिने र देखेझैं गर्दै अगाडी बढियो। सियाकोटबाट पश्चिम तर्फ, लोहरे खोलामा कर्णाली राजमार्ग भेट्ने सडक छाडी उत्तरपूर्व लागेपछि दैलेख सदरमुकाम तर्फको यात्रा एकोहोरिएको थियो । लोहोरे खोलाको किनारैकिनार अघि बढ्दा पराजुल खोला, चुप्राबजार र त्यहाँदेखि प्रारम्भ भएको उकालो हुँदै झमक्क साँझमा दैलेखबजार पुगियो।

दैलेख बजारमा हामीले घुमफिरको योजना बनायौं। झिसमिसेमै भैरवको दर्शन गर्ने, द्वन्द्वकालमा अन्यायपूर्वक मारिएका पत्रकार डेकेन्द्र थापाको सालिकमा पुगी सम्मान व्यक्त गर्ने, महाकवि देवकोटाको सालिकमा पुगि उनीप्रति श्रद्धाभाव व्यक्त गर्ने तथा नारायणस्थान दर्शन र ऐतिहासिक गढीको अवलोकन गर्ने। त्यसपछि ज्वालाजीको दर्शन गरेर दुल्लु लाग्ने योजना पारित भयो।  

दैलेख बजारमा पत्रकार डेकेन्द्र थापाको प्रतिमा। 

अन्य पहाडी बजार जस्तै सांगुरो र एकोहोरो बजार रहेछ दैलेख सदरमुकाम पनि। बजार बाक्लिंदो छ। अग्ला घर बन्नेक्रम जारी छ। यही बजार हुँदै वासस्थलसम्म पुगियो। त्यसपछि भोलिको योजना बनाई विश्राम गर्नुको विकल्प थिएन। किनकि नयाँ ठाउँ, पहाडी बजार, रातिको समयमा घुमफिरको सम्भावना थिएन। त्यसै मेलोमा भोलिको योजना बनाइयो।  

विहान झिसमिसेमै माथि डांडामा रहेका भैरवको दर्शन गर्ने, त्यसपछि बजारको अवलोकन गर्ने, सशश्त्र द्वन्द्वकालमा अन्यायपूर्वक मारिएका पत्रकार डेकेन्द्र थापाको सालिकमा पुगी उनीप्रति श्रद्धाञ्जली र सम्मान व्यक्त गर्ने, मध्य बजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिकमा पुगि उनीप्रति श्रद्धाभाव व्यक्त गर्ने तथा नारायणस्थानको दर्शन र ऐतिहासिक गढीको अवलोकन गर्ने। त्यसपछि ओरालो झरी ज्वालाजीको दर्शन गर्ने र दुल्लुतर्फ लाग्ने। योजना पारित भयो।

भोली बिहान मित्र शशी आचार्य, जो उमेरमा टोलीका सदस्यमध्ये सबैभन्दा ज्येष्ठ हुनुहुन्थ्यो, चार नबज्दै उठी नुहाई धुवाई गरी नित्य पाठ गर्न लाग्नुभयो। यसले हामीमाथि पनि दबाब सिर्जना भयो। त्यसपछि अघिल्लो रातको रसरंगले ढिलो निदाएका समेत सबै मित्रहरुलाई ब्युँझाइयो। नित्यकर्म सकी पूर्व योजना अनुसारका सबै स्थानको अवलोकन गरियो। त्यसपछि दैलेख सदरमुकाम छाडी तल फेदीमा अवस्थित प्रशिद्ध श्रीस्थान ज्वालाजी तर्फको यात्रा प्रारम्भ गरियो।  

यो स्थान प्रायः सबैका लागि नौलो थियो, चर्चा परिचर्चा सुने पनि हामीमध्ये यसअघि त्यहाँ पुग्ने कोही थिएन। यस स्थानमा पद्मावती र मालती गंगा समेत भनिने छामघाट खोलाको किनारमा ठाँंठाउँमा प्राकृतिक ग्यास निस्कीरहेको र बलिरहेको दृष्य देख्दा एकातिर अत्यन्तै रमाइलो महसुस भइरहेको थियो भने अर्कोतिर खेर गइरहेको ऊर्जा देखेर चिन्ता पनि लाग्यो। यसको व्यावसायिक उपयोगका लागि पूर्वाधारहरूको विकास गर्न सके कस्तो हुँदो हो ? भन्ने लाग्यो। अझ त्यहाँका योगीबाट बेलाबेलामा नेता र मन्त्रीहरु पुग्ने र आश्वासन दिने गरेपनि फर्केपछि त्यसप्रति कुनै चासो नदिने गरेको सुन्दा अत्यन्त दुःख लाग्यो।  

त्यस स्थानका एक पुजारी लक्ष्मणनाथ योगीसँग सो स्थानका सम्बन्धमा केही जानकारी लिएपछि हाम्रो टोली ठाडो उकालो चढदै दैलेखको डांडाबाट हेर्दा पश्चिमतर्फ लमतन्न फैलिएको देखिने अर्को डाँडामा रहेको ऐतिहासिक स्थल दुल्लु भेट्न अगाडि बढ्यो।

दुल्लुमा नेपाली भाषाको पहिलो शिलालेख छ। ‘कीर्तिखम्ब’ वा ‘कीर्तिखम्म’ भनिने राजा पृथ्वी मल्लको पालामा निर्मित स्तम्भको संरक्षण गरिएको भएपनि अन्य स्तम्भ सडकको छेउमा यत्तिकै असुरक्षित अवस्थामा रहेछन्।

पञ्चकोशी तीर्थको ज्वालादेवी। 

विहान साढे सात बजे दैलेखबाट ओरालो लागेका हामी दुल्लु पुग्दा झन्डै साढे नौ बजेको थियो। दुल्लुतर्फ उकालो लाग्दा ठाउँठाउँमा रिठा, टिमुर, खल्लुक आदि देखिए। दुल्लु बजार छेउमै रहेको रातो भित्ता भएको एउटा घरमा हाते फोन र ससाना रेडियोमा एफएम सुन्ने यो जमानामा बाहिर किलामा पुरानो मोडलको रेडियो झुण्ड्याएको देख्दा झण्डै चार दशक अघि आफ्नो घरको अवस्थाको सम्झना भयो, जतिखेर छरछिमेकीहरू समाचार र गीत सुन्न हाम्रो आंगनमा जम्मा हुने गर्थे।  

काखमा रेडियो लिएर गाउँ डुल्नुलाई प्रतिष्ठाको विषय मानिने त्यस समयमा हाम्रा हजूरवुवा पनि यदाकदा रेडियो बोकेर खान्दुलाको चौपारीमा बसी माडीफाँट तर्फको गतिविधि नियाल्ने गरेको सम्झना आयो।

दुल्लुमा थुप्रै शिलालेख सहितका स्तम्भ रहेछन्। नेपाली भाषाको पहिलो शिलालेख पनि यहीं नै छ। ‘कीर्तिखम्ब’ वा ‘कीर्तिखम्म’ भनिने राजा पृथ्वी मल्लको पालामा निर्मित प्रमुख स्तम्भको संरक्षण गरिएको भएपनि अन्य स्तम्भ सडकको छेउमा यत्तिकै असुरक्षित अवस्थामा रहेछन्। शिलालेख समेत रहेका इतिहास बोलिरहेका यी प्राचीन सम्पदा उपेक्षित थिए। यस्ता गहकिला सम्पदा जोखिममा रहेको महसुस भयो। यस्तो अवस्थाले मन कुंडियो। यी स्तम्भमा नेपाल र नेपालीको इतिहास तथा गौरवगाथा अंकीत भए पनि त्यसै हराएर जाने जोखिम देख्दा अत्यन्त दुःख लाग्यो।

दुल्लुबाट झन्डै तीन किलोमिटर दूरीमा अवस्थित नेपाल वंशको उद्गम थलोमा पुग्दा मन यसैयसै रोमाञ्चित र पुलकित मात्र भएन खुशीले गदगद पनि भयो। त्यहाँ पुग्दा पाल्पाको आफ्नै गाउँमा पुगेको महसुस भयो। कूल सम्झी, त्यहाँको माटोलाई नमन गरें मैले।  

पङ्तिकारले लगभग तय भईसकेको डोटी–डडेलधुरा तर्फको यात्रा स्थगित गरी सुर्खेत–दैलेख हानिने निर्णय लिनु पछाडिको प्रमुख कारण थियो आफ्नो वंशको मूल थलो ‘नेपा’ गाउँ पुग्ने लालसा। त्यसो त ‘नेपा गाउँ’ पुग्नुपर्छ भन्ने मनभित्र निकै अघिदेखि थियो तर यस्तो संयोग जुर्ला र यतिखेरै पुगिएला भन्ने लागेको थिएन। यस दृष्टिले यो भ्रमण आकस्मिक थियो र दुल्लु पुगिसकेपछि नेपा पुग्न यो अत्यन्त आतुर थियो।

‘नेपा गाउँ’ हेर्ने हतार भएकाले खाना अघि नै त्यसतर्फको दृष्यावलोकन गर्ने प्रयत्न भयो। स्थानीय एक भद्र महिला, सम्भवतः शिक्षिका हुनुहुन्थ्यो, संग सोधपुछ गर्दा उहाँले ‘यताको पादुका, उतापट्टी देखिने चाहिं नेपा हो’ भनि औंलाको इशाराले चिनाईदिनुहुँदा त्यस सुन्दर गाउँलाई देखेर मन गदगद भयो। आफ्नो वंशको उद्गमस्थल अर्थात मूल थलोलाई टाढैबाट नमन गर्न मन लाग्यो। ती भद्र महिलालाई धन्यवादसहित विदा गरेपछि नेपा गाउँको तस्वीर खिच्न थालेको त त्यस ऐतिहासिक र सुन्दर गाउँको तस्वीर जतिधेरै खिचेपनि मन अघाएन। तर समयको घचेडाई र पेटको भोकले तस्वीर खिच्न छाडेर खानातर्फ लाग्न बाध्य बनायो।  

दुल्लुका मित्र ताराजीले नेपा गाउँका एक नेपाल बन्धुसँगै भेट गराउने चांजोपांजो मिलाउनुभएको जानकारी पाएपछि त झन् तस्वीर खिच्ने अलमल गर्नु भन्दा खाना खाई नेपा गाउँ पुग्न मन हतारियो। खाना खाने चाँजोपँंजो टिका कार्कीले सञ्चालन गरेको भोजनालयमा भएको रहेछ। कार्की पनि गोतियार सुतार कार्की रहेछन्। यो थाहा पाउनासाथ सगोत्री मित्र उद्धव खनालजी, उनी र मैले संयुक्त तस्वीर लियौं। खाना पछि कच्ची सडक हुंदै दुल्लुबाट पश्चिमतर्फ अवस्थित ‘नेपा गाउँ’ पुग्दा मध्यान्ह १२ बजेको थियो।  

दैलेखको दुल्लुबाट खिचिएको नेपा गाउँ। 

दुल्लुबाट शान्ति बजार हुँदै झन्डै तीन किलोमिटर दूरीमा अवस्थित नेपाल वंशको उद्गम अर्थात् पुख्यौली मूल थलोमा पुग्दा मन यसैयसै रोमाञ्चित र पुलकित मात्र भएन खुशीले गदगद पनि भयो। त्यहाँ पुग्दा पाल्पाको आफ्नै गाउँमा पुगेको महसुस भयो। कूल सम्झी, त्यहाँको माटोलाई नमन गरी स्थानीय बन्धु लक्ष्मीप्रसाद नेपालसहित सगोत्री एवं सहकर्मी मित्र उद्धव खनालसंगै मूल थलोमा उभिई तस्वीर लिइयो। सामान्य अवलोकन गर्दा उत्तरपश्चिम फर्केको ‘नेपा’ गाउँ अत्यन्त उर्वर भूमि रहेको महसुस भयो। फराकिलो र खुला उक्त भूखण्ड पुर्खाले सांच्चिकै विचार पु¥याएर रोजेका रहेछन् भन्ने लाग्यो। र, पुर्खाप्रति श्रद्धाभाव मात्र होइन गर्व समेत गर्न मनलाग्यो।  

नेपाल वंशको वंशावली अनुसार ‘नेपा’ गाउँ ‘नेपाल’ वंशको उद्गमस्थल हो। इतिहासतर्फ जाँदा नवौं र दशौं शताब्दीको सन्धितिर पश्चिम नेपालमा खस साम्राज्यको उदय भएको र खस साम्राज्यको राजधानी सिंजा कायम भएको पाइन्छ। ऐतिहासिक प्रमाण एवं अन्य विभिन्न आधारबाट यो मान्यता अकाट्य नै भएको छ। ‘कुशदीप’ अर्थात् ‘कश्यप गिरी’ वा ‘हिन्दूकुश पर्वत’ देखि पूर्वतर्फ बढेर कर्णाली प्रदेशको भूभाग ढाकी त्रिशुली नदिसम्म फैलिएको खस साम्राज्यको निर्माणमा घृतकौशिक गोत्रीय पूर्वजको उल्लेखनीय योगदान रहेको अनुमान छ। यसैगरी मध्यकालमा नेपाल वंशका पूर्वजको मूल थलो कर्णाली प्रदेश थियो भन्ने लगभग प्रष्ट छ। प्रमाणले यस वंशका ऐतिहासिक पुरुषमा पूर्वज भाष्कर पण्डितलाई देखाएको पनि नेपाल वंशको वंशावलीमा उल्लेख छ। उनका जयगुणाकर र जयविद्याधर नामका दुई छोरा थिए।  

जेठा जयगुणाकरको सम्बन्धमा जानकारी गराउने प्रमाण उपलब्ध नभएको तर उनी सिंजा राजप्रासादमा सम्मानित थिए भन्ने अनुमान गर्न सकिन्छ। किनकि बाबु भास्कर पण्डित अत्यन्त प्रतिष्ठित र सम्मानित थिए भने कान्छा छोरा जयविद्याधरका सम्बन्धमा धेरै कुरा भेटिएकाले तिनलाई नै प्रमाणका रुपमा लिंदा जयगुणाकर पनि अवश्य कम थिएनन्।  

नेपाल वंशजहरुको ‘नेपाल’ रहेका सम्बन्धमा योगी नरहरीनाथले लेखेका छ्न, ‘दैलेख जिल्लामा नेपा गाउं बिर्ताको रुपमा शाके ११९२ अर्थात् सम्बत् १३२७ सालमा खस राजा अक्षयमल्लद्वारा जयविद्याधर पण्डितले पाएका र सो बिर्तामा रहने अर्थात् त्यहां ‘आलय’ बनाई बस्ने सबैलाई नेपाल भनियो।’

स्मरणीय छ, जय विद्याधरले शाके ११९२ मा खस राजा अक्षयमल्ल देवबाट नेपा बिर्ता पाएका थिए र यही नै ‘नेपाल’ थरको उत्पत्तिसँग जोडिएको अर्थात मूल स्थान हो  ।  

नेपाल वंशजहरुको ‘नेपाल’ थर कसरी रह्यो भन्ने सम्बन्धमा योगी नरहरीनाथले ‘दैलेख जिल्लामा नेपा गाउं बिर्ताको रुपमा शाके ११९२ अर्थात् सम्बत् १३२७ सालमा खस राजा अक्षयमल्लद्वारा जयविद्याधर पण्डितले पाएका र सो बिर्तामा रहने अर्थात् त्यहां ‘आलय’ बनाई बस्ने सबै सन्ततिलाई नेपाल भनिएको’ भनी ऐतिहासिक तथ्यसहितको जानकारी ग्रन्थ मार्फत गराएका थिए।

पण्डित जयविद्याधर दुल्लु राजप्रासादका प्रतिष्ठित विद्वान थिए। राजा हिउँदमा दुल्लू र वर्षाकालमा सिंजामा रहने गर्दथे भन्ने इतिहासमा उल्लेख छ। यसैले शीतकालीन राजधानी दुल्लू र ग्रीष्मकालीन राजधानी सिंजा दुई अलग राजधानी भएकाले दुई

राजधानीमा दुई पण्डितले सम्मान र प्रतिष्ठा प्राप्त गर्दै आफ्नो भूमिका निर्वाह गरेका थिए भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

यिनै जयविद्याधरका सर्वज्ञधर, यशोधर, जयधर र गुणरत्नाकार समेत चार छोरा भए। जेठा सर्वज्ञधरले ‘नेपा’ बिर्ता पाए भने माहिला यशोधर सुतारकोटका कार्कीमा नियुक्त भए,जसका आधारमा एउटा थर नै बन्यो। साहिंला जयधरले अछाम जिल्लाको बारला गाउं विर्ता पाए, कान्छा गुणरत्नाकरले हालको अर्घांखांचीको ‘खन’ बिर्ता पाए। यसरी नेपाल, सुतारकार्की, बराल र खनाल थर बन्यो। नेपालहरू यहींबाट अन्यत्र छरिए भन्ने नेपाल वंशज परिषदद्वारा प्रकाशित ‘नेपाल वंशको वंशावली’मा उल्लेख छ।  

स्थलगत भ्रमणका अवसरमा जानकारी प्राप्त भयो नेपा गाउँका नेपालले आफ्नो थर ‘खनाल’ पनि लेख्दा रहेछन्। नेपाल नै भए पनि कसैले ‘खनाल’ र कसैले ‘नेपाल’ थर लेख्ने गरेको, कसैको बाबु खनाल र छोरो नेपाल तथा कसैको बाबु नेपाल र छोरो खनाल भएको जस्ता रमाइला प्रसंगबारे स्थानीय बन्धु लक्ष्मीप्रसाद नेपालबाट जानकारी भयो। नेपा गाउँकै तलपट्टी सुतार कार्की वस्ती रहेछ, हेरियो। तल फेदीमा नेपागाढ र पादुका खोला रहेछन्। पारिपट्टी धामीगाउँ, जम्मुकांध, सानागाउँ, दहथान आदि स्थान रहेछन्। त्यसपछि मध्य गाउँमा रहेको नेपाल वंशले पूजाआजा गर्ने ‘तियाडी मन्दिर’ अर्थात ‘तियाडी थान’को दर्शन गरी हाम्रो टोली झन्डै एक घण्टाको अलमलपछि नेपा गाउँबाट बिदा भयो।  

आफ्नो वंशको नै उत्पत्ति गर्ने उदगमस्थल अर्थात पवित्र भूमीमा अझै केही समय रहने, रम्ने र अझ धेरै जानकारी बटुल्ने चाहना थियो। तर बाध्यता थियो कर्मभूमिमा फर्कने। यसैले त्यस ऐतिहासिक भूमिलाई सम्झंदै त्यसको चित्र मनभित्र राख्दै र सम्मानभाव राख्दै टाढिनुको विकल्प थिएन। पुग्न नपाई विछोडिनु परेकामा नमिठो मान्दै त्यस स्थानलाई पिठ्यू फर्काएर र केही समय बस्न पाए हुन्थ्यो भन्ने बन्धु लक्ष्मीप्रसाद नेपालको अनुरोधसमेत ‘अर्को पटक आउने’ आश्वासनसहित कूटनीतिक शैलीमा अस्वीकार गर्दै गन्तव्यतर्फ लम्केको स्मरण मानसपटलमा ताजै छ। फेरि त्यहाँ पुग्ने अवसर मिल्ला नमिल्ला? भविष्यकै गर्भमा छ। पुग्न पाएमा त्यस्तो ‘आगो लिन गएझैं’ हतार हतार होइन एक दुई दिन आनन्दले स्थानीय बन्धुहरुकहाँं आश्रय लिई धेरै कुरा बुझ्ने चाहना छ। मन अघाएको छैन, हेरौं समयले साथ दिन्छ दिंदैन।

(नेपालको विसं २०७६ चैतमा प्रकाशित कृति ‘देश र विदेश’ नियात्रा संग्रहबाट। कोभिड–१९ का कारण सार्बजनिक भैनसकको पुस्तकमा २५ वटा नियात्रा संग्रहित छन्।)

प्रकाशित: ६ भाद्र २०७७ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?