६ आश्विन २०७७ मंगलबार
कला

रिभर वाकको दर्पणमा दुखेको देश

नियात्रा

खेमराज पोखरेल  

अचेल अमेरिकाको टेक्सस राज्यको सान एन्टोनियोमा बसेको छु । जीवनले जता डोर्याउँछ, उतै जानू नसिवीय विधान हो । भनिन्छ मान्छे दुई प्रकारका हुन्छन् । पहिलो खेमाका मान्छेहरू युगले पोलेको पीडामा दुःखेर त्यसका कहरभित्र पिल्सिँदापिल्सिँदा युगले डोरयाएको बाटोमा तमशरणम हुन पुग्छन् । र दोस्रो खेमाका मान्छेहरू युगलाई वशीभूत गर्छन् । डोरयाउँछन् । र युगपुरुष बन्छन् । यहाँले बुझिसक्नु भयो म पहिलो खेमाको मान्छे हुँ । त्यसैले युगले दिएको सहज वा जटिल मार्ग अनुशरण गर्दै अमेरिका आइपुगेको छु । यसमा अधिक क्षोभ वा पश्चाताप पनि छैन, अतिरञ्जना पनि छैन । नियति मान्ने हो, परिवेश ठान्ने हो र जुन अवस्था छ त्यसैमा सुखद जीवनको अनुभूति गर्नु श्रेयस्कर हुने सिद्धान्तको अनुयायी भएको छु ।

जाहेर कुरो के छ भने म अमेरिकाको सान एन्टोनियोमा छु र त्यसैले मौका परे घुम्छु पनि । आफैं बसेको ठाउँको घुमाइ ‘कौन पुछे खेसडीका दाल’झैँ भए पनि कहिलेकाहीं त घुमिहालिने रहेछ । छोरी–ज्वाइँका सँगमा मैले सान एन्टोनियो घुमेको छु । अन्तरकुन्तर पुगेको छु भन्दिनँ । डाउन टाउनचाहिँ पक्का पुगेको छु । सायद दुईचारचोटि नै पुगेँ होला । तर, पहिलो पल्टको पुगाइका यादहरू रोमाञ्चक भएर बसेका छन् । खासगरी सान एन्टोनियो मुख्य शहर डाउन टाउनको बीच हुँदै बग्ने सान एन्टोनियो नदीमा मान्छेले बनाएको रिभर वाक नै यति अचम्मको छ कि त्यसलाई युनेस्कोले विश्व सम्पदामा सूचीकृत गरेको छ ।

यहाँनेर एउटा कुरा भन्न मन लागेको छ कि कोही मान्छे घुम्न अमेरिकाको टेक्सस पुगेको छ भने उसले पक्कै पनि सान एन्टोनियो घुमेकै हुनु पर्दछ । डाउनटाउनको गर्भमा बगिरहेको सान एन्टोनियो नदीमा गण्डोला डुङ्गामा सयर गरेकै हुनुपर्दछ । कागजका बुट्टे कपमा कफी, आइसक्रिम वा ल्यात्ते बोकेर साइड वाकमा बरालिएकै हुनुपर्दछ ।  पेटीका पटाङ्गिनीमा बसेर बियरको चुस्की लिएकै हुनु पर्दछ । आफूले चुस्की नलिए पनि पेटीका पटाङ्गिनीमा बसेर बियरको चुस्की लिइरहेका नवयौवना–नवयुवकको शौन्दर्य पान गरेको हुनुपर्दछ । पेटीका छेवैबाट बनेका गगनभेदी विल्डिङ्को दृश्यावलोकन गरेर  टोपी खसाएकै हुनुपर्दछ । यदि छैन भने उसको जीवनबाट मौका मिलेर पनि गुमाएको एउटा क्षण बन्न जान्छ । पक्का ।  

अब मेरो कुरो । म भर्खर नेपालबाट सान एन्टोनियो पुगेको थिएँ बुढी च्यापेर । बुझिसक्नु भयो होला, यहाँ मेरा छोरी–ज्वाइँ सेटल्ड भएका छन् । र तपाईँ भनिदिनु हुन्छ मजाले ‘तेल भिसा’ । आफ्ना सन्तानलाई आडभरोस दिन र हेरचाह गर्न त नेपाली खप्पीस हुन्छ नि । तपाईँ नेपाली हो भने यो कुरा बुझ्नु हुन्छ । के गर्ने यार, आफ्ना सन्तान पृथ्वीको जुन गोलार्धमा भए पनि जानु त पर्यो नि, कमसेकम नेपाली परम्परा र मायालु संस्कृतिलाई त मान्नै पर्यो नि ।  

अब यता सुन्नुस् । मलाई त के थाहा र ! छोरी–ज्वाइँले नै मलाई पहिलोपल्ट सान एन्टोनियोको रिभर वाक पुर्याए । डाउनटाउनका व्यस्त सडकको गर्भमा एउटा नदी बगिरहेछ । नदीको नाम पनि सान एन्टोनियो नै हो रहेछ । सहरको नाम पनि नदीकै नामबाट राखिएको रहेछ । नदीका वारिपारि मान्छे हिँड्ने साइड वाक छ । याने पेटी छ । पेटीका छेउबाट गगनचुम्बी महलहरू छन् । मान्छे आइरहेछन् । गइरहेछन् । हिँडिरहेछन् । खाइरहेछन् । गाइरहेछन् । उन्मादिलो भएका छन् । यहाँनेर मैले यथार्थ भावपरक ढङ्गले वर्णन गर्न सकिनँ । तर मेरो मन हलुका भएर उफ्रिरहेथ्यो । मन रमाएको थियो । तन फुर्तिलो भएथ्यो । यो बूढो तन किन यस्तो हुन्छ कुन्नि कहिलेकाहिँ । तर भित्रैदेखि खुसी भने थिइनँ । किनकि त्यो मेरो थिएन । अर्काको थियो । ठ्याक्कै आफू गरिबीमा बाँचेको बेला बैँकमा देखेको पैसाको रासजस्तो । आँखाको झिल्काबाहेक अरू मेरो कुनै गौरव थिएन । यस्तो फुरुङ्ग मलाई नेपालमा पनि भएको छ । पत्याउनुस् है । म पहिलोपल्ट पोखरा जाँदा वर्षा याम थियो सायद । सिमसिमे झरीले मलाई पोखरा मन परेको थिएन । तर दोस्रोपल्ट पोखरा जाँदा छ्याङ्ङ थियो । तिहीँ पहाड परतिर हिमालको पहरा देखेर म तीन छक्क परेको थिएँ । मेरो कल्पनाभन्दा बाहिरको मनोरम थियो त्यो क्षण । म यति रमाएको थिएँ त्यो बेला कि उफ्रिउफ्री कविता लेखूँझैँ भएथ्यो । किनकि त्यो मेरो थियो । त्यो मेरो प्रकृति थियो । मेरो प्रकृतिको चर्तिकला थियो । 

अहिले यो रिभर वाकले मेरो मन त्यसैत्यसै तानेको त छ । आँखाहरू रमिते भएका छन् । मान्छेको चर्तिकला थियो त्यो । पेटीको पेटीमा बसेर मान्छेहरू रमाइरहेछन् । खुडकिलामा बसेका षोडषीहरू आफ्ना मनमौजीका पोसाकमा लोभलाग्दा त देखिने नै भए । नदीमा डुङ्गा चलेको छ । हुलका हुल मान्छेहरूले टिकट काटेका छन् । डलर तिरेका छन् । पेटीमै जोडेर बनाइएका रेष्टुरेण्टहरूले सबै खाले रसको सेवा गरि नै रहेका छन् । नदी, गण्डोला, पुल, झिलिक–मिलिकका एकीकृत ईन्द्रेणीलेवातावरण सुरम्य थियो । मेरा परिवार निकै रोमाञ्चित भइरहेका छन् । म पनि रमाएको त छु । दृश्यहरू फोटाहरूमा कैद हुँदै थिए । तर म भने एकाएक हराएँछु कतै । तत्क्षण म नेपाल पो पुगेँछु । कल्पनामा । तर्कनामा । बाग्मती र विष्णमतीका किनारमा यो रिभर वाक चलेको तर्कनामा हराएको रहेछु । र मन दुःखेको रहेछ । देश दुःखेको रहेछ । र त म उदाश देखिएको रहेँछु ।  

अनि मैले आफ्नो दुःखेसो पोखेको थिएँ परिवारसँग ः “नेपालमा पनि यस्तै रिभर वाक बनाउन सके त हुन्थ्यो होला नि । तर के गर्नु ?”

सबै हाँसेका थिए । किनकि उनीहरूलाई पनि थाहा छ यो ‘तर’को जवाफ छैन । ‘तर’ एउटा दिवास्वप्न हो । बाँदरको हातमा नरिवल हो ।  

अनि हामी त्यो सान एन्टोनियो नदीमा गण्डोला डुङ्गा चढ्यौँ । डुङ्गा चालक गाइड पनि रहेछ । ऊ अङ्ग्र्ेजीमा भन्दै थियो । म नेपालीमा बुझ्दै थिएँ । र तपाईँहरूलाई नेपालीमै सुनाउँदै छु । ऊ भन्दै थियो ः

– वेलकम टु सान एन्टोनियो । वेलकम टु रिभर क्रुज । वेलकम टु एभ्रिबडी ।  

– थाहा पाइराख्नुस् यो सान एन्टोनियो नदी हो । यसको नामाकारण जुन १३, १६९१ मा स्प्यानिस एक्सीपिडिसनमा आएकाले गरेका हुन् । तर सान एन्टोनियो सहरको नामाकरण यसै नदीको नामबाट १७१८ मा भएको हो ।

– सन १९२१को सेप्टेम्बर महिनासान एन्टोनियोको दुर्भाग्य रहेछ । यो नदीमा ठूलो बाढी आएको थियो । बाढीले सयौँ घर बगाएथ्यो । ५१ जनाको ज्यान लियो । २३ बेपत्ता भए । यो गफ दिएको होइन । साँच्ची गफ होइन । सान एन्टोनियोमा यो बेला हाहाकार भएको थियो रे । यो बाढीको स्थायी समाधान गर्न सरकार लागि पर्यो ।

म भने नेपालमा आएको बाढीमा पुगेको थिएँ । कटान, बाढी आदिको चपेटामा नेपाल सयौँपल्ट परेको छ । मान्छे हजारौँको सङ्ख्यामा मरेका छन् । तर सरकार यस्तो निस्फिक्री भएको हुन्छ कि मानौ ऊ भरखर तत्वज्ञानको प्रवचन सुनेर आएको हो । उसले सुनेको छ कि ‘संसार नासवान छ । मान्छेको नश्वर चोला जन्मेपछि मर्छ’ । त्यसैले त बाढीको पीडा बोकेको ठाउँमा जस्ताको त्यस्तै झार पलाइरहेको हुन्छ ।

ऊ भने सानो माइकबाट अथ्र्याइरहेको थियो ः  

–यता सुन्नुस् । सरकारले पहिले एउटा बाँध बनायो जसको नाम अल्मोस ड्याम थियो । यो बेला पानीको बाइपास पनि बनाए । तर ‘सान एन्टोनियो कन्ज्युमर सोसाइटी’ले बिरोध गर्यो । फलस्वरूप सन १९२९ सम्म काम रोकियो ।  

म यो बेला चाहिँ निकै खुसी भएको थिएँ । किनकि म पनि नेपाली हो नि त ।  विकासको काम गर्न नदिने भनेको संसारमा नेपाली हुन् भन्ने बुझेको परिवेशमा यो कुरा सुन्दा त्यो बेलाको सान एन्टोनियोका मान्छेको चेत पनि अहिलेका नेपालीको जस्तै रहेछ भन्ने लाग्यो ।

ऊ भने लगातार रिभर वाक कसरी बन्यो भन्ने कुरा उर्लिउर्ली बताइरहेको थियो ः  

– फेरि सन १९२९ मा आर्किटेक्चर रोबर्ट हगम्यानले नक्सा बनाए । यो कामको नेतृत्व पूर्व मेयर ज्याक ह्वाइटले लिए । फलस्वरूप ४ किमी लामो रिभरवाक एकदम चाँडो बनाए । अनि बुझ्नु भयो नि,सन १९४६ मा झन ठूलो बाढी आयो। तर रिभर ड्यामले गर्दा क्षति भएन । बाढी आयो गयो । अहिले ५२०० मिटर वाकवे छ । रिभरमाथि २० वटा पुलहरू छन् । ती पुलमा डाउन टाउनका सडकहरू छन् ।

मैले यसो माथितिर मुन्टो फर्काएर हेरेको थिएँ । अकाशे पुलजस्ता देखिने भुइँ पुलमा गाडीहरू कुदिरहेथे । नदीमा अनेकौँ गण्डोलाहरू आइरहेथे । गइरहेथे । बाजा बजिरहेथे । गीत घन्किरहेथे । कोही तालमा कोही बेतालमा नाचिरहेथे । मान्छे यति कुँडुँलो परेर रिभर वाकमा आइरहेथे कि मानौ सिनेमा हल भर्खर छुटेको छ र म सिनेमा हलकै गेटमा उभिएको छु । पानी चाहिँ त्यति सफा होइन । जमुवा जस्तो देखिन्थ्यो पानी । पानीमा लेउ तर् लागेझैँ पनि थियो । तर नेपालको बाग्मती विष्णुमतीका जस्तो त छुन नसकिने चाहिँ होइन । किनकि मान्छे गण्डोलामा बसेका बेला हत्केला पसारेर कोरिरहेथे पानीमा । त्यो कोराइले अल्पायुका रेखाहरू बनाइरहेथ्यो । यो बेला म नेपालको रारा तालमा पुगेँछु । रारा तालको निक्खर सफा इन्द्रेणी पानीमा गएर मन अडियो । अनि मनमनमा सोचेँ ः “खोई त अमेरिकाले पनि यो नदी सफा गर्न सकेन त ।” यसो भनेर म आफ्नो कुण्ठालाई मल्हमपट्टि लगाउँदै थिएँ सायद । ऊ भने अझै बोलिरहेथ्यो ः

– धेर्रै हल्ला नगर्नुस् । यता सुन्नुस् । रिभरवाक लाई “प्यासियो दे रियो” पनि भनिन्छ । किनभने यो स्प्यानिस भाषाको देन हो । यो सहरलाई स्प्यानिसहरूले ठूलो गुण लगाएका छन् । देखिरहनु भएको छ नि यो भवन, यो भिक्टोरियन सभ्यताको चिनो हो । त्यसमा लगाइएका झ्याल र ढोकाहरू त्यही जमानाका हुन् । नदी किनारका यी चौडा पेटीहरू, अहिले भर्खर तपाईँ हिँडेर आउनु भएको क्या त । त्यस्ता पेटीहरू नदीका दुवै किनारमा बनेका छन् । रिभर वाक घुमाउरो गोलो आकार बनाउँदै  मान्छे हिँड्ने पेटीसँगै घुम्छ । नदीका किनारबाट नै अण्डर ग्राउन्ड ठूला ठूला रेस्टुरेण्ट छन् । नदीबाट हेर्नु भयो भने ओभर ग्राउण्ड देखिन्छ । तर भुइँ सडकबाट हेर्नु भयो भने अण्डर ग्राउन्ड देखिन्छ । टु इन वान । यस्तो रेस्टुरेन्टको मजा लिन नबिर्सनोस् । गिफ्टका दोकान छन् । गिफ्ट किन्न नबिर्सनु होला । माथि थिएटर छ । बैँक छ । म्यारिज आइल्याण्ड छ । हेमिस फेयर पार्क छ । टावर बिल्डिङ छ । म्युजियम अफ आर्टस छ । कन्भेन्सन हल छ । हयात होटल छ । ती सबै ठाउँमा जान नबिर्सनु होला । यो रिभर वाकले सान एन्टोनियोको पर्यटन र आर्थिक अवस्थामा ठूलो टेवा पुर्याएको छ । यहाँ प्रतिवर्ष ११.५ मिलियन मान्छेहरूभन्दा बढीले भ्रमण गर्छन् । ती मध्ये ९.३ मिलियन त सान एन्टोनियोभन्दा बाहिरका हन्छन् । यो रिभर वाकले २१००० भन्दा बढी मान्छेलाई जागिर दिएको छ । ठट्टा हो र !

– सान एन्टोनियोमा पाँचवटा स्प्यानिस एक्सिपिडिसन आए । उनीहरूको चिनोको रूपमा पर्ल बनाइएको छ । यसले इतिहास बुझाइरहेछ । इतिहास मार्न हुन्न नि । इतिहासको पन्ना अहिले लेखेर लेखिन्न नि ।

– सान एन्टोनियोको रिभर वाकको यात्रा गरेर गण्डोला चढ्नुभएकोमा हार्दिक धन्यवाद । फेरिफेरि पनि आउनु होला ।  

ऊ उसको पर्यटनलाई प्रवर्धन गर्दै थियो । म भने नेपालमा फोडिएका शालिक सम्झँदै थिएँ । दिमाग दुल्लु पुगेथ्यो र दुल्लुका राजाका शिलालेखहरू स्थानीय मान्छेहरूका घरको खाँबो भएको सम्झेथ्यो । 

यसरीहाम्रो यात्रा सकिएको थियो । कारमा बसेका थियौँ । कार घुइँकिएको थियो । तर मेरो मन भने बाग्मती र विष्णुमतीमा रिभर वाकको उडानमा थियो । कर्म आ–आफ्नै थिए । धर्म आ–आफ्नै थिए । बेहोरा आ–आफ्नै थिए । मति र हुति आ–आफ्नै थिए । तर मेरो मनभित्र भने सान एन्टोनियोको रिभर वाकको दर्पणमा आफ्नो दुःखेको देश थियो ।  

प्रकाशित: २४ श्रावण २०७७ १७:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App