१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

भ्रमण व्ययमा नेपाललाई आधा खर्ब घाटा

विदेशी पर्यटकबाट प्राप्त हुने रकमभन्दा नेपालीले अध्ययन, भ्रमणका लागि विदेशी लैजाने रकम ठूलो देखिएको छ। भ्रमण व्ययमा नेपालले करिब आधा खर्ब घाटा व्यहोरिरहेको छ।

चालु आर्थिक वर्षको चार महिनामा नेपालले विदेश जाँदा करिब पौने ७६ अर्ब रुपैयाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्म सेवा खाताअन्तर्गत भ्रमण व्यय ११.८ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७४ करोड पुगेको छ।

यो अवधिमा विदेशी पर्यटक नेपाल आएर भ्रमण आय ०.९ प्रतिशतले वृद्धि भई २७ अर्ब १५ करोड रुपैयाँ मात्र रहेको छ। यसरी हेर्दा भ्रमण आय र व्ययको अन्तर ४८ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। यसको भ्रमण व्ययमा नेपालले घाटा व्यहोरिरहेको छ।

नेपालमा पर्यटनको प्रचुर सम्भावना भएर पनि विदेशबाट नेपाल घुम्न आउने पर्यटकले भन्दा नेपाली विदेश जाँदा ठुलो धनराशि खर्च गर्ने गरेका छन्। विदेशी पर्यटकको आगमनबाट हुने भ्रमण आयभन्दा नेपालीले विदेश जाँदा धेरै रकम खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। भ्रमण व्यय भन्नाले नेपालबाट विदेश घुम्न जाने, अध्ययनका लागि जाने र रोजगारीका लागि जाने खर्चलाई जनाउँछ।

कोभिड १९ ले थला परेको पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार भए पनि पर्यटन व्यापारमा भने नेपालले ठुलो घाटा बेहोरिरहेको छ। नेपालीहरू विदेश घुम्न जाने संख्यामा वृद्धि भएको छ। पर्यटक नेपाल आउँदा गर्ने खर्चभन्दा नेपालीले विदेश जाँदा खर्च गर्ने रकम ठुलो हुनु चिन्ताको विषय हो।

विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा भित्रिन्छ। यसको सकारात्मक प्रभाव सेवा क्षेत्रको आयमा पर्छ। नेपाली विदेश घुम्न जाने प्रचलन पनि बढेको छ। उच्च आम्दानी हुनेदेखि कर्पोरेट हाउसहरूले विदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर भ्रमणमा जाने गरेका छन्।

केही व्यक्तिको आयमा ठुलो परिवर्तन भएको र घुम्न जाने प्रचलन बढेकाले भ्रमण व्यय बढेको नेपाल राष्ट्र बैंका अधिकारी बताउँछन्। कर्पोरेट हाउस, बैंक, बिमा कम्पनीहरूले पनि प्याकेज बनाएर विदेश भ्रमणमा लैजाने गरेका छन्। विदेश पढ्न जाँदा पनि खर्च हुने गरेको छ। नेपाली विमान कम्पनी नभएको कारण पनि भ्रमण व्ययमा धेरै खर्च देखिएको छ।

नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाँदा पनि ठुलो रकम विदेसिएको छ। शिक्षातर्फको व्यय ४८ अर्ब २६ करोड रहेको छ। नेपालबाट अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, क्यानाडा, भारतलगायत युरोपेली मुलुकमा विद्यार्थी जाने गरेका छन्।

विदेश अध्ययन गर्न जाने विद्यार्थीले डलरमा रकम लैजाने गरेका छन्। सँगै उनीहरू जाँदा जहाजको टिकटमा पनि खर्च हुन्छ। यद्यपि विदेशमा अध्ययन तथा रोजगारीमा जानेले पछि रेमिटेन्सका रूपमा रकम पठाउँछन्।

यो वर्षको चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको थियो।

२०८२ कात्तिक महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रहेको थियो।

प्रकाशित: १६ पुस २०८२ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App