७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

महादेवको प्रिय साउन

महादेवलाई मान्ने बार सोमबार। महादेवलाई अत्यन्तै मनपर्ने महिना साउन। साउनका सोमबारका दिन महादेवलाई अत्यन्तै श्रद्धाभाव राखी भक्तजनले मान्ने गर्छन् र साउनभरि नै महादेवको मन्दिरमा भक्तजनको ठूलै भीड लागिरहन्छ। त्यसमा पनि सोमबारका दिन त अझ धेरै भीड लाग्ने गर्छ। यस समयमा पशुपति, गोकर्णेश्वर, पिण्डेश्वर, डोलेश्वर, सन्तानेश्वर महादेव लगायत जहाँजहाँ महादेवको मन्दिर वा शिवलिंग छन्, त्यहाँ–त्यहाँ विवाहित र अविवाहित महिलाले महादेवको पूजा–आराधना गरेर आफ्ना पति, छोराछोरी र परिवारजनको सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत बस्छन्। पार्वतीले पनि यही समय अर्थात् साउनमा महादेव पति पाऊँ भनी व्रत बसेर महादेवकोे पूजा गरेकी थिइन् भनिन्छ।  

रातो सारी र हरियो चुरा लगाई समूह–समूह बनाई महिलाहरू महादेवको मन्दिरमा जाने गर्छन्। एक किसिमले वातावरण नै रमाइलो पार्दै महिलाको भीड लागिरहेको हुन्छ, महादेवको मन्दिर र बाटोमा। महादेवको प्रिय साउनमा महादेवको व्रत बस्ने चलन छ, नसक्नेहरूले सोमबार मात्र व्रत बस्ने गर्छन्। जसले विधिपूर्वक महादेवको व्रत बस्छ, ऊ अपुत्र भए पुत्र प्राप्त गर्र्न सक्षम हुन्छ, निर्धन भए धनवान् हुन्छ, अविद्या भएकी भए विद्या प्राप्त गर्न सक्षम हुन्छ, अनि समाजमा बुद्धिमती भई प्रसिद्ध हुन्छे भन्ने जनविश्वास छ। साउन सोमबारे व्रत बस्नाले धर्म पनि प्राप्त हुने धर्मशास्त्रमा बताइएको छ– ‘सोमबारे व्रतं कार्य श्रावण चै यथाविधि। शक्ते नो पोषणं कार्यमथवा निशि भोजनम्।। अपुत्रो लभते पुत्रान्निर्धनो धनवान भवेत्। अविद्यो लभते विद्यामिति धर्मविदो विदुः।।’

हरेक वर्ष साउन १ गते साउने संक्रान्ति मनाउने नाममा लुतो फाल्ने चलन पनि छ। ‘वारि गाउँले पारि गाउँले लुतो लैजाओ’ भन्दै घरका परिवारलाई लुतो खटिरा नआओस् भनी अगुल्टो बाली चारै दिशामा अगुल्टो फालेमा लुतो खटिरा आउँदैन भन्ने परम्परागत मान्यता छ। पहिला–पहिला साँझको समय लुतो फाल्ने भनी नांलो उठाएर, शंख बजाउँदै, घण्ट बजाउने र घरको मूल ढोका एकै छिनका लागि बन्द गरेर राख्ने चलन थियो। अहिले लुतो फाल्ने चलन हराउँदै गएको छ। कतै कतै, कुनै कुनै स्थान र गाउँहरूमा सामाजिक रूपमा लुतो फाल्ने संस्कृति बाँकी रहेको पनि देखिन्छ। असारमा खेती गर्ने, रोपाइँ गर्ने किसानले साउन संक्रान्तिका दिन आफन्त चेलिबेटी बोलार्ई रमाइलो गरी चाड मनाउँछन्।

परम्परागत रूपमा कुकुरडाइनो, लुतेझार, काग भलायो, पानीअमला, कागती, अम्बा, नास्पाति आदि औषधिका रूपमा प्रयोग गरिने वनस्पति राखेर कण्डारक नामक राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ। यसो गर्दा असारमा रोपाइँ गर्दा हिलोका कारण हुने लुतो–खटिराजस्ता छालाको रोगबाट बचिन्छ भन्ने विश्वास छ।  

महादेवको मन्दिरमा साउनमा नेपाली महिलाको मात्र होइन, भारतीय महिलाको पनि त्यत्तिकै भीड लागिरहेको हुन्छ। रातो सारी, हरियो चुरा, हत्केलामा हरिया मेहन्दी लगाएर  महिलाहरू महादेवको मन्दिरमा जाने गर्छन्। हाम्रो देशमा पशुपतिनाथको दर्शन गर्न भारतको उत्तर प्रदेश, बिहार, दक्षिण भारतदेखि मलेसिया र इन्डोनेसियाको बालीबाट पनि धेरै भक्तजन आउने गर्छन्।

खेती गर्नुपर्ने नेवारहरूले गठेमंगलअघि नै काम सकाउनुपर्छ भन्दै दिनरात अहोरात्र मेहनत गरेर रोपाइँ सक्छन् र गठेमंगल मनाउँछन्। भूत, प्रेत, पिशाच, डाकिनी, बोक्सी, चण्डाल, चण्डाल्नीबाट बच्न उनीहरूलाई पन्छाई सबैको मंगल होस्, शुभ होस् भनी मनाइने चाड हो, गथांमुगः अर्थात् गठेमंगल। उपत्यकाका काठमाडौं, ललितपुुर र भक्तपुरका विभिन्न स्थानका टोलटोलमा साउन कृष्ण चतुर्दशीका दिन गठेमंगल ठड्याएर यो चाड मनाइन्छ। गठेमंगल चतुर्दशीलाई प्रेत चतुर्दशी पनि भनिन्छ। गठेमंगल पनि महादेवकै रूप हो। किनभने भूतप्रेत, पिसाचका नाइके महादेवकै प्रतीकका रूपमा नेवारहरूले गठेमंगल बनाएर दोबाटो र चौबाटोमा ठडाएर राख्ने गरिएको हो। गठेमंगलको आकृतिलाई शिवलिंगको रूपमा पनि लिइन्छ।  

त्यस्तै, उन्मत्त भैरवजस्तै देखिने भएर पनि गठेमंगललाई महादेव भैरवको रूपमा पनि मान्दै आइरहेको देखिन्छ। गठेमंगलका दिन ‘आजु जय हा’ भन्दै जगात माग्दा पनि ‘आजु जय’ भनी भैरवको नाम लिएको हो भनिन्छ। नेवारहरूले भैरवलाई आजु (बाजे) मान्दै आएका छन्।  

बौद्ध धर्मावलम्बी नेवारले हरेक वर्ष यही साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिना गुंला पर्व मान्ने गर्छन्। स्वयम्भू महाचैत्यमा यो समयमा ज्यादै भीड लागिरहेको हुन्छ। यो समयमा स्वयम्भू वरिपरि परिसरमा परिक्रमा गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ।

एक ख्यातीप्राप्त विद्वान् एवं प्राध्यापकका भनाइ अनुसार, महादेवले नै बुद्धका रूपमा जन्म लिएका हुन्। पालि ग्रन्थमा वर्णन गरिएका २७ बुद्धको उल्लेख गर्दै उनले भनेका छन् कि ब्ुद्धको अति प्राचीन तीन नाम तणंकर, शणंकर र मेधंकर हुन्। देवता र असुर दुवै पक्षका प्रिय महादेवलाई देवताका साथै दैत्य, राक्षस, दानव, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्छन्। महादेवले रावण र राम दुवैलाई वरदान दिएका छन्। महादेव सम्पूर्ण आदिवासी, वनवासी जाति, वर्ण, धर्म र समाजको नै सर्वोच्च देवता हुन्।  

यसरी अत्यन्तै शक्तिशाली महादेवलाई प्रिय साउनमा विभिन्न आदिवासी जनजातिले विभिन्न किसिमले पूजा गर्छन्। जनकपुरको मिथिलाञ्चलमा आफ्नैपनको संस्कृतिअनुरूप मैथिली विवाहित महिलाले मधु श्रावणीलाई ठूलो पर्व भनी साउनको पहिलो सोमबारदेखि १३ दिनसम्म महादेव र विषहर अर्थात् नागदेवताको पूजा गर्छन्। यो विशेष अनुष्ठानमा नवविवाहिता महिलाले भगवान्सँग आफ्नो भावी सुखी जीवनको कामना गर्दै प्रार्थना गरिने हो। आफ्ना पतिको दीर्घायु होस् भनी मनाइने यो पर्व मिथिलामा मात्र छ।  

मधु श्रावणी व्रत पर्व कहिलेदेखि सुरु भएको भन्ने कुनै तथ्य नभए पनि शिवपुराणमा उल्लिखित एउटा प्रसंग अनुसार, मधु श्रावणी नामक एउटी नवविवाहिता महिलाले आफ्ना पति कुष्ठरोगी भएकाले महादेवसँग दुःखकष्ट सुनाउँछिन्। कष्टबाट मुक्तिका लागि महादेवले यो व्रत गर्न भन्छन्। महादेवले भनेजस्तै ती महिलाले व्रत बसिन्। व्रतका प्रभावले उनका पतिको रोग निको हुन्छ। अनि, त्यही बेलादेखि नवविवाहिता महिलाले यो व्रतलाई परम्परागत रूपमा मान्दै आइरहेको भनिन्छ।  

मधु श्रावणी पर्वका विषयमा एउटा रमाइलो कथा छ। एकपटक महादेव र पार्वती जलक्रीडा गरिरहेका बेला महादेवको वीर्य स्खलन भएछ। महादेवले उक्त वीर्यलाई रूखको पातमा राखिदिए र उक्त वीर्यबाटै पाँचवटी कन्याको जन्म भएछ। यी कन्याको जन्म भइसकेपछि महादेव त्यहाँ बेलाबेला आफ्ना पुत्रीलाई भेटन् जान थाले। एकदिन पार्वतीलाई शंका लागेर महादेवको पछि लागेर गइन्। महादेव पोखरीमा सर्परूपी छोरीहरूसँग खेलिरहेका थिए। यो देखेर पार्वती रिसाउँछिन्। पार्वतीले ती सर्पलाई मार्ने प्रयास गर्छिन्। महादेवले पार्वतीलाई सर्पहरूका बारे कथा सुनाउँछन्। कथा सुनेपछि पार्वती हाँस्न थाल्छिन्, सर्परूपी छोरीहरूलाई मार्दिनन्। अनि, महादेवले भन्छन्– साउनमा जसले सर्पको पूजा गर्छ, उसलाई सर्पको भय हुँदैन। यही कारण मधु श्रावणी पर्वमा सर्पको पनि पूजा गरिन्छ।  

कर्कट संक्रान्ति पनि भनिने साउनमा विभिन्न पर्व पर्ने भएकाले पनि यो महिनाको अत्यन्तै विशेषता छ। यस महिनामा देवपाटनमा गंगा माईको खत जात्रा, हरिशयनी एकादशी, चतुर्मास्य व्रतारम्भ, तुलसी रोप्ने, गुरुपूर्णे, सिद्धार्थ गर्भ प्रवेश, महामिनिष्क्रमण, धर्मचक्र प्रवर्तन दिवस, भिक्षुहरूको वर्षा वासारम्मभ, गठेमंगल, गुंला धर्म आरम्भ, नागपञ्चमी जस्ता विभिन्न किसिमका मेला पर्व पर्छ। त्यसैले पनि साउनलाई अत्यन्तै धेरै महŒवले भरिएको महिनाको रूपमा मानिएको हो।

साउनभरि महादेवको अभिषेक गर्ने क्रममा ‘बोल बम’ भन्दै गर्ने यात्रा पनि श्रावणी मेलाका नामले चर्चित छ। पाँच ज्ञानेन्द्रीय, पाँच कर्मेन्द्रीय र अन्तष्करणदेखि नै शुद्ध पवित्र भएर गरिने बोलबम यात्रा भारतको वैद्यनाथ धामबाट सुरु भएको हो। नेपालका तराईवासीले बोलबम उपत्यकामा भि¥याएका हुन्। आजभन्दा २७ वर्षअघि काठमाडौंमा कांवरिया संघले सुरु गरेको बोलबम यात्रामा जम्मा १३ जना भक्तजनले भाग लिएका थिए। उनीहरुले सुन्दरीजल नदीबाट घडामा जल बोकेर ल्याई पशुपतिनाथलाई अभिषेक गरेका थिए। अहिले हजारौँ भक्तजनले यसमा भाग लिन थालेका छन्।  

उपत्यकाका नेवारका साथै विभिन्न जातिका भक्तजनले बोलबम यात्रामा भाग लिन थालेका छन्। गेरु वस्त्र लगाएर काँधमा खर्पनको जस्तै बाँसको कोंबर बोकेर माटोका दुईवटा कलशसहित नांगो गोडाले बोलबमको नारा लगाउँदै सुन्दरीजलमा गई जल ल्याएर पशुपतिनाथलाई चढाइन्छ। यसरी जल चढाएमा बोलबम भक्तजनहरूको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।

प्रकाशित: ३ श्रावण २०७७ ०३:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App