सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक काम गरिरहेको बताएका छन् । त्यस क्रममा बागमती, विष्णुमती, धोबीखोला, टुकुचा र गुह्येश्वरीलगायत काठमाडौं उपत्यकाका नदीहरुलाई सफा गर्न फोहर पानी प्रशोधन प्लान्ट बनाउने काम भइरहेको उनले बताए ।
आज थापाथलिस्थित बागमती करिडोरमा निर्माणाधीन फोहर पानी प्रशोधन ‘प्लान्ट’को निरीक्षण गर्दै मन्त्री घिसिङले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा काम सुरु भए पनि नदी वरिपरिका रुख कटानी र त्यस क्षेत्रको ठाउँ तयार गर्न समय लागेको बताए । बागमती नदी सफा गर्न गुह्येश्वरीमा ‘प्लान्ट’ बनेको र अन्य केही ठाउँमा पनि बन्ने क्रममा रहेको मन्त्री घिसिङको भनाइ छ।
काठमाडौं उपत्यकाभित्रका केही नदी ललितपुर महानगरपालिकाभित्र भएको र त्यस ठाउँमा ‘प्लान्ट’ बनाउने क्रममा स्थानीयको विरोधका कारण पनि ढिलाइ भएको मन्त्री घिसिङको भनाइ थियो ।
उनका अनुसार ‘वाटर ट्रिटमेण्ट प्लान्ट’ले टुकुचाको सम्पूर्ण ढल प्रक्रियालाई सफा गर्दै पानीलाई बागमती नदीमा पुर्याउने योजना सुनाए ।
मन्त्री घिसिङले भने, ‘यता काठमाडौँपट्टि बनिरहेको संरचना अब छिट्टै सम्पन्न हुने देखिन्छ, तर उता ललितपुरतिरको भागमा काम रोकिँदा समग्र परियोजनामा केही ढिलाइ हुने भएको छ । यसलाई जसरी पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ ।’
काठमाडौं उपत्यकाका सबै नदी सफा गर्नका लागि प्रतिदिन छ सय ‘एमएलडीको प्लान्ट’ आवश्यक पर्ने भए पनि हाल उपत्यकामा निर्माणधीन ‘प्लान्ट’ त्यसको २० प्रतिशत मात्रै भएको उनले बताए । अहिले एडिबीको तीन अर्ब १८ करोड लगानीमा ‘प्लान्ट’ निर्माणको काम भइरहेको पनि मन्त्री घिसिङले जानकारी दिए।
प्रकाशित: २० मंसिर २०८२ २०:३९ शनिबार





