८ वैशाख २०८१ शनिबार
कला

एकैसाथ प्रकाशित भए प्रेक्षितका चार कृति

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवम् समालोचक प्राध्यापक जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशित भएका छन् । स्रष्टा ‘प्रेक्षित’को ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन् ।

‘आरम्भ’ नामक हाइकु सङ्ग्रहमा दुई सय ११ ओटा हाइकु समाविष्ट छन् । समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित हाइकु स्रष्टा ‘प्रेक्षित’ले वि.संं २०४९ देखि २०७५ को अवधिमा रचना गरेका करिब १ हजार २ सय हाइकुमध्येबाट उत्कृष्ट २ सय ११ ओटा छनोट गरी सङ्ग्रहमा समावेश गरेको बताए ।

उनको ‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० ओटा कविता समावेश गरिएका छन् ।

यसै गरी समालोचना कृति ‘काव्य परिशीलन’मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२ ओटा समालोचनाहरू समावेश छन् । उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको समालोचना गरिएको छ । दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’मा समेटिएका छन् । 

त्यस्तै उनको चौथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका भूमिका एवम् समीक्षाहरूको सङ्ग्रह हो । भैरव रिसालको पुस्तकदेखि अन्य स्रष्टाका पुस्तकबारे उनले विभिन्न समयमा लेखेका २१ ओटा भूमिका एवम् समीक्षाहरू यस कृतिमा समावेश गरिएका छन् ।

उनका यी कृतिहरू गत वर्षको अन्त्यतिर प्रकाशित भएका भए पनि हालै सार्वजनिक गरिएको हो । गत चैत्र २८ गते विमोचन गर्ने कार्यक्रम रहेको भए तापनि कोरोना भाइरसका कारण लकडाउन भएपछि उक्त कृतिहरू विमोचन हुन सकेका थिएनन् ।  

स्रष्टा ‘प्रेक्षित’का उक्त कृतिहरू नेपाली साहित्यमा रुचि राख्नेहरूका लागि उपयोगी साबित हुने देखिन्छ । सबै कृति मकालु प्रकाशन गृहद्वारा प्रकाशित भएका हुन् ।

प्रकाशित: २२ जेष्ठ २०७७ १८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App