नेपालगन्जमा आज केही बुँद खस्याे। होइन, ‘खसेझैं भनेको खालि आकाशबाट झरेनन्, सिधै जनताको मुटुमा झरे! कारण थियो, केही दिनदेखिको घामसँगको आँखामेलो प्रतियोगिता। अर्थात् पानी पर्छकी भनी आकाश हेरेको।
केही दिनयता सामाजिक सञ्जालमा नेपालगन्जवासीले आफूलाई ‘सुक्खा जिल्लावासी’ घोषणा गरिरहेका थिए।
एउटाले त लेखे, ‘नेपालगन्जको गर्मी र अफ्रिकाको सहारा उस्तै हो। फरक त्यहाँ ऊँट छन्, यहाँ टेम्पो।’
कोहलपुरमा छिटाछिटा पानी पर्दा नेपालगन्जवासीको मनमा कत्रो डाहा पलाएको थियो! ‘हाम्रो आकाश कहाँ हरायो? ‘बादलले जीपीएस हरायो कि क्या हो!’ भन्न थालेका थिए।
आज बिहान मौसममा केही हलचल देखिएपछि फेसबुक, ट्विटर र टिकटक सबै एकैपटक तयार भए। मानौं वर्षा हेर्न होइन, स्वागत गर्न तयार थिए, ‘पानीको स्वागत २०८२’ क्याम्पेन जस्तै।
जब ३ थोपा खसिन्, कोही त छाता लिएर निस्के फोटो खिच्न! कोही ट्विट गर्दै थिए, ‘नेपालगन्जमा पानी पर्यो! अब धर्ती पनि रोइन्!’
अर्काले कमेन्ट हान्यो, ‘लास्ट मुमेन्ट प्लट ट्विस्ट! यो त बलिउड फिल्मजस्तै भयो!’
धम्बोझी चोकमा एकजना त भिजिरहेछन्। आँखा चिम्लिएर भन्थे, ‘हात्तीको नुहाउने तातो पानी जस्तो गर्मीपछि यो पानी त स्वर्गको चिसो जस्तो लाग्यो।’
बजारतिर गइयो भने पसलेहरू पनि खुशी, ‘अब त मकै भुट्न रमाइलो हुन्छ है!’
दूध बेच्ने दाइ भन्नुहुन्छ, ‘अब चिया पनि बेस्सरी चल्छ होला नत्र त ग्राहकभन्दा झिँगा धेरै आउँथे।’
र घरभित्र?
बुढीले भनिन्, ‘अब त बाहिर हेर्नुपर्यो, डुबान कति भयो!’
पल्लाघरे किसानी दाइले भन्यो, ‘यो पानीले बारी बचायो, होइन भने यो गर्मीले खेतलाई चाउरिएको अनुहार बनाइसकेको थियो!’
सामाजिक सञ्जाल अब ‘नागरिक मौसम अनुमान’भन्दा चाँडो अपडेट हुन थाल्यो, ‘नेपालगन्जमा पानी पर्यो।’
साँच्चै भन्नुपर्दा मौसम विज्ञान विभाग अलि पछि पर्यो किनभने नेपालगन्जवासीहरूका स्टाटस, टिकटक र रीलहरूले पहिले नै बताइसकेका थिए, ‘पानी पर्यो! राम्रोसँग पर्यो! धर्ती पनि भिज्यो, मन पनि!’
पानी पर्यो भन्दैमा समाचार होइन, नेपालगन्जमा पानी पर्यो भने त्यो चाड हो! चाड पनि त्यस्तो, जसमा बाजा घामले बजाउँछ, नाच बादलले गर्छ र खुशी पानीकाे छिट्टाले लेखिन्छ।
झल्झली घाम, तात्तातो हावा र शरीरभरिको पसिना जस्ताको त्यस्तै थन्किएर बसेका थिए, जब बिहानको आकाश कालोधमिलो भयो।
बालकदेखि वृद्धसम्म, पसलेदेखि पैदलयात्रुसम्म, सबैको अनुहारमा एउटै भाव थियो, ‘आज त पानी पर्छ जस्तो छ है!’
अनि पर्ला कि नपर्ला भन्ने शंका हटाएर जब साँच्चै पानी पर्यो, तब ‘घामले पोलेको छालाले राहत पायो, धुलाले थिचिएको बोटबिरुवाले श्वास फेर्यो र मान्छेले मनदेखि मुस्कुराउन थाले।वर्षा मात्र होइन, वरदान! ‘हे भगवान्, कति मिठो पानी पर्यो! हाम्रा दिन सम्झाइदियो।’
यसअघि अटोभित्रका यात्रुहरू पानीझैं चुहिन्थे पसिनाले। आज अटोभित्र पनि गीत गुञ्जिए, ‘पानी पर्यो, मन रमायो।’
- शीतलताको पल,
- नेपालगन्ज भिज्यो,
- पानीसँग खुसी!
प्रकाशित: १६ असार २०८२ ०९:४६ सोमबार





