वरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराई, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगले तेजेश्वरबाबु ग्वंगको विशेष अङ्क लाेकार्पण गरेका छन्।
अक्षरमार्गले एक दशकदेखि भाषा, साहित्य, कला, संस्कृतिको विकास र विस्तारका लागि योगदान दिंदै आएका साहित्यकारहरूको विशेष अङ्क एवम् पुस्तक प्रकाशित गर्दै आएको छ। यो पटक साहित्य, कला र संस्कृतिका कर्मयोगी साधक तेजेश्वरबाबु ग्वंगको विशेष अङ्क प्रकाशन गरेको हो।
तेजेश्वरबाबु ग्वंग आफ्नो क्षेत्रका विख्यात व्यक्ति हुन्। उनले शिक्षा, साहित्य र संस्कृतिको उत्थानका लागि उल्लेखनीय भूमिका खेलेका छन्। त्यसो त उनको योगदान कलामा पनि कम छैन। माता शारदादेवी मल्ल ग्वंग र पिता निरञ्जनलाल ग्वंगका सुपुत्रको रूपमा विसं १९९२ कार्तिक कृष्ण द्वादशीका दिन खौमा, भक्तपुरमा जन्मेका उनले नेपाली भाषा, नेपाल भाषा र अंग्रेजी भाषामा साहित्य सिर्जना गर्दै समाजलाई चेतना प्रवाह गर्दै आएका छन्।
आफ्नो मातृभाषा नेपाल भाषाका अतिरिक्त नेपाली र अंग्रेजीमा समेत राम्रो लेखन कला भएका उनले तीनै भाषामा साहित्य सिर्जना गर्दै आएका छन्। प्रारम्भमा नेपाल भाषामा कलम चलाएका ग्वंगले आफ्ना गुरु महाकवि लक्ष्मीप्रसाद देवकाेटाबाट नेपाली निबन्ध लेखनमा विशेष प्रोत्साहन पाएको सम्झना उनमा अझै ताजा छ।
उनले संस्कृतिया पलं (निबन्धसंग्रह, ने.सं १११०) प्रकाशन गरे। नेपालीमा उनका संस्कृतिका आयाम (निबन्धसंग्रह, २०५२), अवकाशपछिको आकाश (निबन्धसंग्रह, २०६७), चराको गुँडझैँ जन्मस्थल-मेरो भक्तपुर (कवितासंग्रह, २०७३), औकातभरिको सौगात (निबन्धसंग्रह, २०७३), मै एक मै अनेक ( २०८१) जस्ता उनका कृति प्रकाशित छन्।
प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ, रामसुन्दर देउजा, तुलसीहरि कोइराला, अगिब बनेपाली, डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, अभय श्रेष्ठ, प्राडा कुमार कोइराला, डा. हरिप्रसाद सिलवाल, तिलक प्रकाश, गोपीकृष्ण ढुंगाना, जितेन्द्र रसिक, मोहन दुवाल, लक्ष्मणप्रसाद गौतम, जयदेव भट्टराई, श्रीबाबु कार्की, डा. सुमनराज ताम्राकार, सूर्यप्रसाद लाकोजू लगायतका रचना छन्।
प्रकाशित: १९ जेष्ठ २०८२ ११:०८ सोमबार





