१९ पुस २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

अखबार मरे पनि पत्रकारिता बाँचिरहन्छ

विगत आगत

चर्चित म्यागेजिन ‘दी इकोनमिस्ट’ले अगस्ट २६­–सेप्टेम्बर १, २००६ अंकमा आफ्नो अग्रपृष्ठमा लेखेको थियो– ‘हु किल्ड दी न्युजपेपर?’ अर्थात् ‘कसले गर्‍यो पत्रिकाको हत्या?’ उक्त शीर्षकले अखबार उद्योगको अधोगतिबारे लेखेपछि यससम्बन्धी बहस सुरु भएको थियो। बढ्दो इन्टरनेट प्रभाव र घट्दो वितरण सङ्ख्याले अखबार उद्योगमा असर पारेको चर्चा लेखमा गरिएको थियो।

त्यसयता करिब २० वर्ष बितेका छन्। नेपालको सन्दर्भमा अखबार उद्योग यतिबेला अन्तिम सास फेर्दैछ। तैपनि अखबार निस्किन छाडेका छैनन्। हामी आफैंले पनि डिजिटल माध्यमलाई प्राथमिकता दिँदादिँदै पनि यो लेख अखबारमा पनि छापिनेछ। यस हिसाबले कुनै न कुनै रूपमा अखबारको औचित्य अरू केही वर्ष रहन सक्ने आँकलन गरिँदैछ।

 विशेष गरी छिमेकी मुलुक भारतमा अखबार उद्योगले अझै आफूलाई सान्दर्भिक तुल्याइरहेको छ। भारतमा अखबार अझै फस्टाउनुमा ठुलो जनसंख्या, औद्योगिकीकरण र कर्पोरेट क्षेत्रको विज्ञानले गरिरहेको योगदानलाई उल्लेख्य मान्न सकिन्छ। सिंगापुर, मलेसियाजस्ता मुलुकमा अझै पनि अखबार छापिँदैछन्। भलै तिनीहरूले डिजिटल माध्यमलाई प्राथमिकतामा राखेको निकै भइसकेको छ। अखबारमा आउने सामग्रीलाई पनि तिनले ग्राहक बनाएर बेचिरहेका छन्।

अलिकति नेपालको सन्दर्भमा पत्रकारिताको कुरा गर्नै पर्छ। चार दशकअघि काठमाडौं आएपछि मैले पहिलो पटक छापा मेसिन देखेको हुँ। छापा मेसिनले प्रत्येक साता निकाल्ने साप्ताहिक पत्रिका ‘युगसंवाद’ मा लेखरचना बुझाउन जाँदा ठुलो आवाज निकालेर अखबार र किताब छापेको देखेको हुँ। एकातिर मेसिनको आवाज आइरहेको छापाखानाको एउटा कोठामा सम्पादक र पत्रकारहरू लेखिरहेका हुन्थे, अर्कातिर कम्पोजिटरहरूले सिसाका अक्षर मिलाएर पृष्ठ तयार पारिरहेका हुन्थे।

२०४५ सालतिर सिसाका अक्षर टिपेर गरिएको कम्पोजको ठाउँ केही वर्षलगत्तै आएको म्याकिन्टोस कम्प्युटरमा हुने टाइपले लिन थाल्यो। अफसेट प्रेसले राम्रा र चिल्ला पानाहरू छापेर बजारमा पुर्‍याउन थाल्यो। कुनै बेला जुत्ता फुकालेर कम्प्युटर कोठामा पस्ने व्यक्तिहरू अहिले हातहातमा यसलाई लिएर हिँड्न थालेका छन्।

त्यसो त, अहिले हामीले बोक्ने गरेको स्मार्ट फोन नै एक हिसाबले कम्प्युटर पनि हो। तर, अखबारमा रंगीन तस्बिर छापिन थालेका दिन हामी सबैभन्दा बढी रोमाञ्चक भएको पनि हो। आज अनलाइन माध्यम भनेको रेडियो, टेलिभिजन, अक्षर र रंगीन दुनियाँ पनि हो।

गोरखापत्र निस्किन थालेकै एक सय २५ वर्ष पुगेको छ। अचेल यसले आफ्नो ‘मास्टहेड’ मा सगर्व एक सय २५ वर्ष राख्न थालेको छ। तर, संसारमा चार सय ६० वर्षको इतिहासमा पत्रकारिता जसरी गरियो, त्यो तरिकाको लगभग अन्त्य भइसकेको छ। हेर्दाहेर्दै  कृत्रिम बौद्धिकता (एआई) ले समेत हाम्रो समाचारकक्षमा कुनै न कुनै तरिकाले हस्तक्षेप गर्न थालिसकेको छ। हामी सबैले सूचना प्रविधि क्षेत्रमा आएको राप र तापलाई महसुस गरिरहेका छौं।

पत्रकारिता र लोकतन्त्र

संसारका धेरै मुलुकमा जस्तै पत्रकारिता हाम्रो मुलुकमा निरन्तर परिवर्तनको उच्छवास पनि हो। यो निरन्तर क्रान्ति हो। समाज परिवर्तनका निम्ति यसले आम नागरिकलाई उद्वेलित गरिरहेको छ। त्यही भएर २००७ सालमा उदाएको प्रजातन्त्रसँगै पत्रकारिताले पनि आफूलाई सँगै हिँडाएको छ। २०१७ सालमा फेरि प्रजातन्त्र समाप्त भई मुलुक पञ्चायती युगमा प्रवेश गरेपछि देशमा दुई धारको पत्रकारिता देखियो– एउटा तत्कालीन शासन सत्तालाई सहयोग गर्ने र अर्को मुलुकमा प्रजातन्त्रका निम्ति जागरण ल्याउने।

नेपालको पत्रकारिताको इतिहास गौरवपूर्ण छ। अहिलेजस्तो हरेक व्यक्तिले आफूलाई लागेका कुरा प्रसारण र प्रकाशन गर्न नसकिने त्यो बेलामा हाम्रा अग्रजहरूले पत्रकारिताको धिपधिपे बत्तीलाई जोगाएर ल्याएका हुन्। कुन बेला प्रेस जफत हुने हो, कुन बेला पत्रिकाको दर्ता खारेजी हुने हो, त्यसको कुनै सुनिश्चितता थिएन। एउटा पत्रिका बन्द हुँदा अर्को नाममा छाप्ने गरी तयारी गरेर हाम्रा अग्रजहरूले यसलाई जोगाइदिएका हुन्।

२०४६ सालको जनआन्दोलन सफल भयो। मुलुकमा प्रजातन्त्र आयो। तीन दशक लामो असजिलो समयको अन्त्य भयो। उन्मुक्त अवस्थामा समाजलाई पुर्‍यायो। ठुला आकारका अखबार निस्किने थाले। २०४९ फागुन ७ गते ‘कान्तिपुर’ र ‘दी काठमाडौं पोस्ट’ दुई दैनिक पत्रिका क्रमशः नेपाली र अंग्रेजीमा निस्किन थालेपछि अखबार प्रकाशनको क्षेत्रमा बाढी नै आयो।

यसबिच कैयन् दैनिक पत्रिका निस्कए, स्पेस टाइम्स, श्रीसगरमाथा, एभरेस्ट हेराल्ड, लोकपत्र, समाचारपत्र, राजधानी, दी हिमालयन टाइम्स, हिमालय टाइम्स, अन्नपूर्ण पोस्ट, नयाँ पत्रिका, नागरिक, रिपब्लिका आदि। यसमा पनि धेरै पत्रिका पहिल्यै बन्द भइसकेका छन्। अरू पत्रिका येनकेन प्रकारेण चलिरहेका छन्।

नेपालको संविधान, २०४७ ले राखेको प्रावधानले ठुलो आकारका पत्रिका निस्किन मद्दत पुगेको थियो। पत्रिकाको दर्ता खारेजी नहुने र प्रेस जफत नहुने व्यवस्था संविधानमा रह्यो। त्यति मात्र होइन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित भयो। यसैले हाम्रो मुलुकलाई यस क्षेत्रमा अग्रणी बनाउँदै लगेको हो। राजधानी काठमाडौंबाट निस्किने ठुला आकारका अखबार मात्र होइनन्, प्रदेश र जिल्ला स्तरमा निस्किने अखबारको संख्या पनि ठुलो छ। आजको चुनौतीपूर्ण अवस्थामा पनि ती सफलतापूर्वक निस्किरहेका छन्।

रेडियो र टेलिभिजन क्षेत्रमा यो संख्या व्यापक रह्यो। पछिल्ला वर्षहरूमा सूचनाप्रविधिको विकाससँगै अनलाइन माध्यमको व्यापकता देखिएको छ। कैयन् अनलाइन समाचार पोर्टलहरूले आफूलाई सफल व्यावसायिक मोडलका रूपमा प्रस्तुत समेत गरेका छन्।

२०६१ माघ १९ फेरि नेपाली पत्रकारिता क्षेत्रका निम्ति चुनौती र अवसर दुवै बनेर आयो। तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकमा ‘कु’ गरेपछि सञ्चार माध्यममा नेपाली सेनालाई पठाए। टेलिफोन बन्द गरियो। इन्टरनेट कैयन् दिन आएन। त्यो संघर्षको क्षणमा पत्रकारिता क्षेत्रले गरेको योगदानका कारण यसको महत्ता फेरि एक पटक समाजमा देखियो। २०६२/६३ को जनआन्दोलनका बेला यसको महत्तालाई बुझेरै ‘आठौं दल’ भनेर आलोचना पनि गरिएको हो।

लोकतन्त्रमा खतरा

पत्रकारिता क्षेत्र लोकतन्त्रबिना बाँच्दैन। स्वतन्त्र पत्रकारिताबेगर पनि लोकतन्त्र सुरक्षित रहँदैन। तर, केही वर्षयता हामी यस्तो ठाउँमा उभिएका छौं, जहाँबाट पत्रकारिता क्षेत्रका खतरा राम्ररी महसुस गर्न सकिन्छ। परम्परागत पत्रकारिताको अभ्यास अब बिस्तारै पुरानो ठानिन थालेको छ। यसप्रतिको विश्वास गुम्दै गएको छ।

एकातिर प्रत्येक व्यक्तिका हातमा स्मार्ट फोन र सूचना प्रविधिका अत्याधुनिक विधि छन्, अर्कातिर सर्वसाधारणले परम्परागत माध्यमले खोज, अनुसन्धान, परीक्षण गरेका सामग्रीमा भन्दा बिना ‘सेन्सर’ आफूखुसी सार्वजनिक गर्ने सामग्रीमा रुचि राखेको देखिँदै छ। परम्परागत माध्यमले तिनलाई मन नपरेका मानिसलाई नै बोक्छन् भन्ने परिरहेको छ।

त्यसैले यो समयमा सामाजिक सञ्जालले लोकतन्त्रलाई खान्छ भन्ने धारणा पनि सार्वजनिक भइरहेका छन्। कुनै बेला ‘भिडको मानसिकता’लाई डरलाग्दो मानिथ्यो। भिडमा गएपछि मानिसले आफ्नो होस् गुमाउँछ भन्ने थियो। सामाजिक सञ्जालको सक्रियतापछि धेरैले यसलाई ‘विज्डम अफ क्राउड’ भन्ने थाले। भिडले दिने समाचार र जानकारीलाई ‘नागरिक पत्रकारिता’को नाम दिएर थप बढावा दिन थालियो।

सामाजिक सञ्जालको विस्तारित प्रयोगले बिस्तारै समाजलाई एकोहोर्‍याउँदै लगेको छ। विशेष गरी ‘अल्गोरिदम’ले व्यक्तिले उपभोग गर्ने सामग्रीका आधारमा त्यस्तै विषयवस्तु दिइरहन्छ। त्यसैले व्यक्तिमा ‘टनेल भिजन’ (एकांगी दृष्टिकोण) को खतरा रहन्छ।

स्वतन्त्र सञ्चार माध्यम भनेको बहुविचारको प्रतिस्पर्धा पनि हो। त्यहाँ खेलदेखि राजनीतिसम्म, अन्वेषणदेखि आहारविहारसम्मका विषयलाई पस्किने हुँदा व्यक्तिमा बहुजानकारी हुन्छ। विविध विचारको प्रस्तुतिले पाठकलाई आलोचनात्मक दृष्टिकोण बनाउन मद्दत गर्छ।

आज हामी यस्तो ठाउँमा उभिएका छौं, जहाँ ‘जिरो ट्रस्ट वल्र्ड’ भन्न थालिएको छ। तपाईंलाई कम्प्युटरले सोध्न थालिसकेको छ– आर यु ह्युमन? त्यस्तो बेलामा तपाईंले आफूलाई मान्छे भएको प्रमाणित गर्नुपर्छ। आजको ‘शून्य विश्वासको संसार’ निर्माणमा कैयन् पक्षले काम गरेका छन्। साइबर चुनौती, क्लाउड कम्प्युटिङ, दूरक्षेत्र कार्य र परम्परागत पेरिमिटरमा आधारित सुरक्षा मोडलका सीमा थपिएका छन्। तपाईंले आफूलाई कुनै पनि नयाँ क्षेत्र र नयाँ नेटवर्कमा प्रवेश गराउन खोज्दा भेरिफिकेसन र अथोराइजेसनका लागि तयार पार्नुपर्छ। तपाईंको प्रत्येक पटकको इमेल साइनइनमै यो अवस्था आइसकेको छ।

अबको पत्रकारिता

कुनै बेला हामीले समाचार नलेखुन्जेल कसैलाई थाहा हुँदैनथ्यो। आज हामी यस्तो अवस्थामा छौं, जहाँ अरू सबैले थाहा पाइसक्दा पनि हामी त्यसबाट टाढै हुन सक्छौं। सामाजिक सञ्जालमा निरन्तर सार्वजनिक भइरहने व्यक्तिगत विवरणदेखि अन्य चाहिने/नचाहिने विषयले हामीलाई सूचनाको जंगलभित्र पुर्‍याएको छ। यस्तै सूचना, जानकारी र भिडियो सेयर गरेर एकथरी मानिसले पत्रकारले भन्दा धेरै कमाइ पनि गरिरहेका छन्।

पत्रकारिता यस्तो बिन्दुमा उभिएको छ, जहाँ सूचना र जानकारीको प्याकेजिङदेखि प्रस्तुतिसम्ममा समस्या छन्। एकातिर विज्ञापन बजार घटेको छ र त्यसलाई सामाजिक सञ्जालले एकलौटी बनाएको छ, अर्कातिर पत्रकारले लेखेका सामग्रीजति सित्तैमा इन्टरनेटमा उपलब्ध छन्। यसले तिनलाई कुनै आम्दानी गर्न नसक्ने अवस्थामा पुर्‍याएको छ।

त्यसैले पत्रकारिता क्षेत्रले अबको व्यवसाय मोडलदेखि कामसम्ममा आफूलाई परिवर्तन गर्नुपर्ने बेला आएको छ। कृत्रिम बौद्धिकता (एआई) का कारण अब धेरै पत्रकारले आफ्नो रोजीरोटी गुम्ने ठानिरहेका छन्। तर, त्यसको प्रयोगबाट आफूलाई कसरी काममा सक्रिय बनाउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको छ। त्यसैले पत्रकारिता क्षेत्रले अबको सफल मोडल के हुन्छ भनी सोच्ने बेला भएको छ।

पत्रकारिता क्षेत्रका निम्ति प्रविधि समस्या होइन, बरु अवसर हो। यसले पत्रकारिताको लोकतन्त्रीकरण गरिरहेको छ। प्रविधि सस्तिँदै जाँदा त्यसले अवसर सिर्जना गरेको छ। आज उपलब्ध विभिन्न प्लाटफर्महरूलाई उपयोग गरेर आफ्ना सामग्री वितरण गर्न सकिन्छ। हामीले पाठक कम भए भनिरहेका बेला हेर्ने अनलाइन सामग्रीमा देखिएको ‘भिउज’ आजको अवसर हो। त्यसैगरी अनलाइन सामग्रीको गुणस्तर वृद्धि गरी त्यसबाट कमाइ गर्ने पनि हो।

एआईले पत्रकारितालाई कसरी सहयोग गर्छ ? धेरै समय लाग्ने र नियमित गरिरहनुपर्ने कैयन् काम अब यसलाई प्रयोग गरी चाँडै सम्पन्न गर्न सकिन्छ। कसैको अन्तर्वार्ता लिएको छ भने ‘भ्वाइस डिक्टेक्सन’ प्रयोग गरी सिधै अक्षरमा ढाल्न सकिन्छ। एउटा भाषामा लेखेको सामग्री अर्कोमा सजिलै अनुवाद हुन्छ, जसका लागि पहिले निकै समय खर्च हुन्थ्यो। कतिपय सामग्री खोज्न सहज भएको छ।

त्यसैगरी आफूले लेखेका सामग्रीलाई एआईका माध्यमबाट छोटकरी क्याप्सुल बनाएर पाठकमा पठाउन सकिन्छ। यति मात्र होइन, सम्भावित विषयको खोजी र यसअघि अरूले यसमा चलाइसकेको कलमबारे थाहा पाउन सकिन्छ। यसकारण एआईलाई पत्रकारिताको शत्रु र प्रतिस्पर्धीभन्दा साथी सम्झनु उचित हुन्छ।

पत्रकारिता क्षेत्रलाई सामाजिक सञ्जालको सहयोग प्राप्त हुने हो भने यसलाई पुनर्जागृत गर्न सजिलो हुन्छ। पछिल्लो समय पत्रकारिताको नियामक निकाय प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमा आधारित भएर गरिने पत्रकारितालाई समेत आफ्नो दायरामा ल्याएर आचारसंहिता पालना गराउन कोसिस गरिरहेको छ।

फेसबुक, गुगल, टिकटकजस्ता माध्यमलाई मनिटाइज गर्न सरकारले नीतिगत निर्णय गराउन सक्छ। नेपाली समाचार अन्तर्वस्तु प्रयोग गरेबापत तिनले यहाँका सञ्चार माध्यमलाई पैसा तिर्न सक्छन्। राम्रा समाचार सामग्री प्रस्तुत गरेर युट्युब आदिबाटै अतिरिक्त आम्दानी गर्न सक्छन्। सबैभन्दा महत्त्वपूर्ण, पत्रकारको कामलाई गुणस्तरीय बनाउँदै त्यसलाई ग्राहक विशेषमा पस्किएर आम्दानी बढाउन सक्छन्।

न्युयोर्क टाइम्सले यो वर्ष २०२५ को पछिल्लो चार महिनामा मात्रै दुई लाख ५० हजार डिजिटल ग्राहक प्राप्त गरेको समाचार ७ मे २०२५ मा प्रकाशित गरेको थियो। यसो गर्दा उसको आयमा मात्र १४ प्रतिशत वृद्धि भएको उल्लेख छ। उक्त समाचारमा जनाएअनुसार न्युयोर्क टाइम्सको कुल ग्राहक संख्या एक करोड १६ लाख ६० हजार पुगेको उल्लेख छ।  

यसको अर्थ राम्रो अन्तर्वस्तुसहितको पत्रकारिताले कमाइ गर्न सक्छ। आजकै दिनमा पनि कैयन् नयाँ सञ्चार माध्यमले सफलता हासिल गरिसकेका छन्। गत सेप्टेम्बर १३, २०२४ मा प्रकाशित एक समाचार अनुसार रूपोर्ड मुर्डोकले अबको १५ वर्षभित्र छापा अखबारको मृत्यु हुने घोषणा गरेका छन्। फिलिप मेयरले आफ्नो पुस्तक ‘दी भ्यानिसिङ न्युजपेपर’ मा सन् २०४३ को पहिलो तीन महिनाभित्र अमेरिकामा पत्रिकाको मृत्यु भइसक्छ भन्ने घोषणा पनि पहिल्यै गरेकै हुन्।

छापा पत्रकारिताको मृत्यु घोषणा गरे वा नगरे पनि पत्रकारिता यहाँ रहन्छ। पत्रकारिताका प्लाटफर्म परिवर्तन हुन्छन् तर पत्रकारिताका तत्त्व भने यथावत् रहन्छन्।

–प्रेस काउन्सिल नेपालले २०८२ जेठ १६ मा आयोजना गरेको ‘सम्पादक संवाद कार्यक्रम’मा नागरिक दैनिकका प्रधानसम्पादकबाट दिइएको प्रस्तुतिको सम्पादित अंश।

प्रकाशित: १७ जेष्ठ २०८२ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App